• मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै आफ्नै श्राद्ध

    Reporter: Becoming Kishor
    Published: Tuesday, July 4, 2017
    A- A+
    २० असार २०७४ हेटौंडा: हेटौंडाका राकेश कुमार शर्माले स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै आफ्नै श्राद्ध गरेका छन्।

    २०७२ असोज ३ गते जारी संविधान मरिसकेको भनेर उनले पटकपटक विभिन्न ठाउँमा संविधानको श्राद्ध गरेका थिए। तर उक्त संविधान कार्यान्वयनको लागि भएको स्थानीय तह निर्वाचनमा उनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।



    हेटौंडा–२ का शर्माले आफुले आफैलाई हालेको मत समेत मतगणनाको बेला हराएपछि चर्चाको विषय बनेको थियो । निर्वाचनमा ६२ हजार २ सय ५ मत खसेको थियो। ‘संविधान मरिसकेको भनेर घोषणा गर्नेले नै स्थानीय तह निर्वाचन लडेर ठूलो भुल गरेको छु’, उहाँले भन्नुभयो, ‘ भुलसुधारका लागि आफ्नै श्राद्ध गरेको हुँ।’ शुद्ध वस्त्र र शुद्धभोजन गरी अघिल्लो दिन एक छाकमात्र खाएर उनले मंगलबार आफ्नै श्राद्ध गरेका हुन्।

    प्रधानमन्त्री, ६०१ सभासद् (सांसद्), नेताहरु र संविधानको श्राद्ध गरेर उनी परिचित बनेका छन्। आफु जिवित छँदै आफ्नो श्राद्ध गर्ने प्रचलन तथा किम्बदन्तीहरु गरुड पुराण, भविष्य पुराण, अन्त्य पद्दति र जीवच्छ्रद्ध पद्दति पुस्तकमा पनि उल्लेख भएको भन्दै शर्माले आफ्नो श्राद्ध आफैले गरेका हुन्न्। पुष्पकमल दाहाल र सुभासचन्द्र नेम्वाङजस्ता पहाडिया नेताले डलर र पाउण्ड खाएर हिन्दुराष्ट्र फालेको उहाँको दाबी छ ।

    राजा सच्चा राष्ट्रवादी भएकाले ठूला नेताहरुले राजसंस्था फालेको आरोप लगाउँदै उहाँले राष्ट्रघाती र बिकाउ नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको दाबी गर्नुभयो। आफ्नै श्राद्धपछि उहाँले जारी गर्नुभएको विज्ञेप्तीमा भनिएको छ,’मुलुकको स्वाधिनता र रक्षाका लागि पृथ्वीनारायण शाह, महेन्द्र र जंगबहादुर राणा जस्ता राष्ट्रवादी र सैनिक शासनको आवश्यकता रहेको छ ।’ संविधान र नेताहरुको श्राद्ध गर्दै गर्दा उनलाई पटक पटक प्रहरीले पक्राउ गरिसकेको छ ।
    साभार : अन्नपुर्ण पोष्ट

    Subjects:

  • No Comment to " मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै आफ्नै श्राद्ध "