• दलभित्र चर्किंदै पदीय विवाद

    Reporter: EduDainik
    Published: Monday, July 31, 2017
    A- A+

    काठमाण्डौ । नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच 'पदीयु विवाद छ । पार्टी शीर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने अधिकांश दलमा हानथाप छ । मुख्य नेतापछि को भन्नेमा नेताबीच देखिएको 'टसलु का कारण कतिपय अवस्थामा दलका बैठक प्रभावित हुने गरेको छ । आन्तरिक रूपमा नेताहरूको वरीयता निर्धारण गर्न नसक्दा कांग्रेस, माओवादीदेखि राष्ट्रिय जनता पार्टी (राजपा) र नयाँ शक्तिसम्ममा विवाद देखिएको छ । एमालेले भने यो विषय पदीय हैसियतअनुसार नै टुंगो लगाएका कारण विवाद त्यति सुन्नमा आएको छैन ।



    गत शुक्रबार माओवादी केन्द्रको कार्यालय बैठकमा यो विषयले औपचारिक प्रवेश पायो । माओवादीका एक उच्च नेताका अनुसार कार्यालय सदस्य मणि थापाले माओवादी बैठकमा यो विषयलाई प्रवेश गराएका हुन् । मुख्य तीन नेता अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापापछि उनीहरूसँगै बस्ने नेताको पनि टुंगो लगाउन थापाले माग गरेका थिए ।

    कांग्रेसमा नेताहरूको वरीयता निर्धारण गरिएको छ । तर, वरीयतामै नेताहरूको असन्तुष्टि छ । गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङसहित पाँच नेताले असन्तुष्टि जनाउँदै अझैसम्म पार्टी बैठकका 'माइन्युटु मा हस्ताक्षर गरेका छैनन् । वरीयता विवाद निरुपण गर्न ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति नै बनेको छ । तर, उक्त समितिले नौ महिनादेखि प्रतिवेदन बुझाउन सकेको छैन ।

    माओवादीमा दाहालसँगै एकातिर थापा र अर्कोतिर श्रेष्ठ बस्दै आए पनि त्यसपछि को बस्ने भन्नेमा अस्वस्थ दौड चल्न थालेकाले थापाले त्यस्तो माग गरेका हुन् । यद्यपि, उनको त्यस्तो मागका विषयमा दाहालले कुनै प्रतिक्रिया भने दिएका छैनन् । खासगरी नेता कृष्णबहादुर महरा, देव गुरुङ, टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटालगायत मात्रै होइन, पार्टी हेडक्वार्टरका ३५ जना नेता तीन शीर्ष नेताको छेवैमा बस्न दौडने गर्छन् ।

    माओवादी केन्द्रले हेटौंडा महाधिवेशनबाटै पदीय मर्यादा निर्धारण गर्न सकेको छैन । अझ ०७३ जेठमा विभाजित माओवादी पार्टीबीच एकतापछि त झन् उसले यस विषयलाई पन्छाउँदै आएको छ । पछिल्लो चरणमा नेताहरूको कार्यविभाजनलगायत विषय टुंगो लगाउन सचिवालय बैठकपछि लगातार तीनपटक हेडक्वार्टर बैठक बसे पनि निर्णय भएको छैन । बैठक १८ गतेसम्म स्थगन भएको छ । एकतापछि बहुपदीय संरचनामा जाने वा एकपदीय भन्ने विषयमा देखिएको विवादपछि उसले ुहेडक्वार्टरु बनाएर चलाउँदै आएको छ ।

    माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालपछि पदीय हैसियतमा कुन नेता रहने भन्ने टुंगो लागेको छैन । सामान्यतया दाहालपछि नारायणकाजी श्रेष्ठ र उनीपछि रामबहादुर थापा भनेजस्तो देखिन्छ । यद्यपि, यो माओवादीको आधिकारिक निर्णय होइन । यी तीन शीर्ष नेता 'कुम जोडेरु पार्टी बैठकदेखि अन्य कार्यक्रममा बसे पनि उनीहरूको छेउमा को बस्ने भन्ने हानथाप छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी कांग्रेसमा पनि पदीय विवाद यथावत छ । नेताहरू गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, डा। रामशरण महत, अर्जुननरसिंह केसी र रमेश लेखकले वरीयतामा असन्तुष्टि जनाउँदै पार्टी बैठकको माइन्युटमा हस्ताक्षर नै गरेका छैनन् । बैठकमा उपस्थित भए पनि उपस्थिति पुस्तिकामा यी नेताले हस्ताक्षर गरेका छैनन् । अहिले उपप्रधान तथा शिक्षामन्त्रीसमेत रहेका गोपालमान श्रेष्ठ वरीयतामा विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई आफूभन्दा अगाडि राखिएकोमा असन्तुष्ट छन् ।

    कुलबहादुर गुरुङले पनि निधि र सिटौलाभन्दा आफू वरिष्ठ भएको भन्दै असन्तुष्टि जनाएका छन् । केसी र महतले कुन नेतालाई आफ्नो वरीयताभन्दा अगाडि राखिएको नखुलाए पनि असन्तुष्टि भने पोखेका छन् । नेता लेखकको पनि त्यस्तै छ । नेताहरूले मर्यादाक्रममा विवाद उठाएपछि कांग्रेसले विवाद छिनोफानोका लागि ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा आनन्दप्रसाद ढुंगाना र फरमुल्लाह मन्सुर सदस्य थिए । गत वर्ष कात्तिकमा गठन भएको समितिको यो बीचमा तीन-चारपटक बैठक बसे पनि प्रतिवेदन तयार हुन सकेको छैन ।

    नयाँ शक्तिमा डा. बाबुराम भट्टराईपछिको नेता को हुने भन्नेमा विवाद छ । जसकारण उसले पनि एक वर्षको यो अवधिमा कुनै नेताको पनि वरीयता निर्धारण गरेन । अहिले स्थानीय तहको निर्वाचनपछि त झन् उसले केन्द्रीय समिति नै विघटन गरेर भट्टराईको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ । रामचन्द्र झा, दुर्गा सोव, देवेन्द्र पौडेल, केशव दाहाल, गंगानारायण श्रेष्ठलगायत नेताले भट्टराईपछिको वरीयताका लागि आफूलाई प्रस्तुत गरिरहेका छन् ।

    मधेसकेन्द्रित ६ पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टीमा पनि यो रोग कायमै छ । ६ वटै पार्टीका अध्यक्षले आलोपालो नेतृत्व गर्ने गरी अध्यक्षमण्डल बने पनि हृदयेश त्रिपाठीलगायत केही नेताले अध्यक्षमण्डलकै नेतालाई पनि स्वीकार्न सकिरहेका छैनन् । आफूभन्दा कनिष्ठ नेतालाई फरक पार्टीबाट एकतामा आएकै नाममा नेता मानेर जान नसकिने उनीहरूले सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन् । त्रिपाठीको आक्रोश राजेन्द्र महतोतिर देखिन्छ । एक समय एकै पार्टीमा रहँदा महतो आफूभन्दा कनिष्ठ रहेकाले अहिले वरिष्ठ मानेर जान त्रिपाठी तयार देखिएका छैनन् ।

    किन निम्तन्छ विवाद ?
    विचार, राजनीति र कार्यदिशा समान भए पनि दलभित्रै नेताबीच द्वन्द्व, प्रतिस्पर्धा र सहकार्य भइरहेका हुन्छन् । खास सन्दर्भमा अन्य पार्टीसँग प्रतिस्पर्धाका बेला आन्तरिक पार्टी एकढिक्का भएको देखिए पनि अन्य बेला भने द्वन्द्व बढ्ने राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन् । नेपालका सन्दर्भमा राजनीतिक दलभित्र मुख्य नेतापछि को बन्ने भन्नेमा अलिक बढी नै आन्तरिक विवाद रहेको पोखरेलको बुझाइ छ । त्यस्तो अवस्था आउनुमा भने पार्टी अध्यक्षलाई चुनौती दिन सक्ने गरी अन्य नेताको 'पावरु नहुनु प्रमुख कारण भएको उनले बताए ।

    ुएकै पार्टीका नेतामा पनि द्वन्द्व हुन्छ, यो जहाँ पनि देखिन्छ । पार्टीभित्रै नेताबीच प्रतिस्पर्धा हुने, जति माथिल्लो तहमा पुग्छन्, त्यति नै अवसर साँघुरिँदै जाने र त्यस्तो साँघुरिने अवसरमा आफ्नो पावर कायम राखिरहन दलभित्रै नेताबीच विवाद, प्रतिस्पर्धा हुन्छन्,' पोखरेलले अन्नपूर्णसँग भने, 'अहिले पनि दलमा यही अवस्था देखिन्छ ।' अन्नपूर्ण पोष्टबाट

    Subjects:

  • No Comment to " दलभित्र चर्किंदै पदीय विवाद "