• लालबाबु पण्डितको प्रक्षेपणः मधेसमा एमालेले जितेको देखेर अरु बेहोस हुनेछन्

    Reporter: Becoming Kishor
    Published: Thursday, June 8, 2017
    A- A+
    एमालेका नेता पण्डितसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानी

    लालबाबु पण्डित मन्त्री हुँदा जनताबाट निकै प्रशंसा पाएका एमाले नेता हुन् । मधेसी मुलका सादगी यी नेता अहिले एमालेको चुनाव अभियान अन्तर्गत तराईका जिल्लामा सक्रिय छन् । तराई मधेसमा एमाले विरुद्ध सबै एक ठाउँमा उभिए पनि त्यहाँका मतदाताले एमालेलाई पहिलो शक्तिका रुपमा चुनेर पठाउने उनको मुल्यांकन रहेछ । एमालेका नेता पण्डितसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः



    स्थानीय तहको पहिलो चरणको चुनाव सकिएर दोस्रो चरणको चुनावको तयारीमा छौं हामी । तपाई तराई मधेसमै हुनुहुन्छ यतिबेला कस्तो छ तराईमा चुनावको माहौल ?

    हिजो पहिलो चरणको चुनावमा जस्तो थियो त्यो भन्दा पनि धेरै उत्साह छ तराईमा । चुनाव आयो भनेर जनताहरु त्यो समयमा पर्ने काम सकाउने र त्यो बेला भोट खसाल्न जाने योजना बनाएर काम गर्दैछन् । उम्मेदवारहरु मतदाताको घर घर पुगेका छन् । धेरै पछि आएको चुनावको रौनक होली पर्वजस्तै भएको छ । चोक चोक, टोल टोलमा, वडामा उम्मेदवार र भोट हाल्ने कुराको छलफल चलिरहेको छ । धेरै लामो समयमा चुनाव भएकोले हुनपर्छ साँच्चै हेर्न र सुन्न लायक छ तराईमा अहिले राजनीतिक बहस ।

    चुनाव हुन्छ भन्नेमा कत्तिको आशाबादी छन् त्यहाँका जनता ?

    बर्खाको मौसमले असर गर्ने बाहेक अब कुनै हालतमा चुनावमा ढिलाई हुनु हुँदैन । कुनै पनि हालतमा चुनाव हुनुपर्छ । चुनावकै दिन कुरेर बसेका छन् तराईका जनता । तराईमा अहिले गर्मी बढे जसरी नै चुनावको तयारीमा तराई तातेको छ । त्यहाँ खुसियाली छाएको छ । चुनाव प्रतिको उत्साह कतिसम्म छ भने नारेको हलगोरु विसाएर पनि जनता मिटिङमा आउँछन् । तोकेको चुनाव हुँदैन भन्यो भने तराईका जनताले प्रतिकार गर्ने अवस्था छ अहिले तराईमा । हामीले देखे जस्तो होइन यो सूचनाको पहुचले उनीहरु देशको राजनीतिक अवस्थाप्रति सुझबुझ राख्छन् ।

    तपाईं त्यसो भन्नुहुन्छ , तराईमा अहिले पनि कति दल त चुनाव नै हुन दिन्नौं भनिरहेका छन् नि ?

    तपाईंले देखिहाल्नु भो हिजो मात्र सप्तरीमा कायक्रम गरेर राजपाकै केन्द्रीय स्तरका तीन जना नेता एमालेमा प्रवेश गर्नुभयो । त्यहाँ मात्र होइन तराई भरिनै यहि माहौल छ । केही नेताहरु जो चुनाव लड्दैनन् र चुनाव लडे पनि जित्दैनन् उनीहरु केही आयातित मागलाई आफ्नो माग भन्दै बसेका छन् । तर उनीहरुका पार्टीकै केन्द्रीय,  जिल्ला र गाँउ तहका नेताहरु नै अन्य दलमा गएर मेयर उपमेयर, वडाअध्यक्षमा उठेर भोट माग्दैछन् । कि त उनीहरु स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनाबी मैदानमा आएका छन् । अहिले बहिस्कारको चाहिँ कहिँ कतै केही पनि सुनिंदैन । काठमाडौंमा सुनेजस्तो तराईमा चुनाव नहुने भन्ने कुरा यहाँ सत्य होइन । यहीँ आएर हेरुन् न सबैले यहाँ चुनावप्रति जनता कति उत्साहित छन् ।

    तपाईं तराईका जनता चुनावमा भोट हाल्न अतुर छन् भन्नुहुन्छ केही दलका केही नेता एक्लै परे पनि चुनावमा जाँदैनौ भनेर अझै भन्दैछन् त ? 

    जनतामै जाँदैनौं भन्नेलाई त म के भनौं र ? जो जाँदैनन् उनीहरु नै जानुस् । उनीहरुको सिद्धान्त नीति, योजना यहाँका जनताका लागि होइन भने उनीहरुले नै भनुन् । हामीले उनीहरुलाई केही भन्नु आवश्यक छैन, जे जे भन्नु जनताले भन्छन् । तराई मधेसका जनताका लागि उनीहरुका एजेण्डा के हुन् ? जनतालाई विश्वास लाग्नेगरी भन्न सक्नु परेन ? जनतालाई त्यति भन्न नसक्ने, जनताको होइन अर्कैको कुरा बोकेर हिंड्नेहरुलाई आपत पर्नु स्वाभाविकै हो ।  यो चुनावमा जनताले को मधेसको पक्षमा छ को मधेसको पक्षमा छैन राम्रोसँग छान्छन् । चुनावपछि हेर्नुहोला यिनीहरु चौलानीमा भुस छानिएर तैरिएजसरी तैरिन्छन् ।

    तराई मधेसमा तपाईंको पार्टी एमालेको चाहीँ कस्तो छ त अवस्था ? 

    तपाईंले पनि सुन्नु भयो होला, हिजो मात्र सप्तरीमा त्यही आन्दोलनकारी दलका केन्द्रीय तहका तीन जना सहित सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्नुभयो । अनि उहाँहरु नै एमालेको उम्मेदवार बनेर चुनाव लड्दै हुनुहुन्छ । नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र एउटै वडामा चारचार जनासम्म वडाअध्यक्षका दावेदार भएर मिलाउन हामीलाई हम्मे परेको छ । एमालेको लहर नभएको भए यस्तो हुन्थ्यो ?  त्यसमाथि जित्ने पार्टी एमाले नै हो भन्ने भएपछि क्षेत्रीय दलका नेता कार्यकर्ता पनि धमाधम एमालेमा प्रवेश गरिरहनु भएको छ । पहिलो चरणको चुनावमा दोस्रो र तेस्रो स्थानमा आउन पनि कांग्रेस र माओवादी मिल्नु पर्यो । एमालेले घना जनसंख्या भएका अर्वान क्षेत्रहरुमा गठबन्धन गरेर आएका माओवादी कांग्रेसलाई भारी मतान्तरले पराजित गर्यो । जनमतको हिसावले उनीहरु भन्दा भएमाले निधै माथि देखियो । सिटको हिसावले पनि एमाले पहिलो देखियो । अव दोस्रो चरणको चुनावमा त एमालेको जीतको रफ्ता यसको दोब्बर हुन्छ । एमाले विरुद्ध सबै एकै ठाउँमा जम्मा हुनुको कारण पनि यही हो । एमाले कमजोर भएको भए बाँकी सबैलाई गठबन्धन बनाइरहनु जरुरी थियो र ?

    एमालेलाई मधेस विरोधी भन्ने गरिन्छ, तराई मधेसमा एमालेले जित्ने आधार चाहिँ के छन् त ?

    तराई मधेसका जनताले एमालेलाई मधेस विरोधी भनेका हुन् र ? तराई मधेसमा एमालेले गरेका कामले अव हामी टिक्न नसक्ने भयौं भनेर आत्तिएकाहरुले एमाले मधेस विरोधी भनेका हुन् । यहाँ एमाले विरुद्ध एक्लाएक्लै चुनावमा आउने हैसियत नभएकाहरुले एमालेलाई मधेस विरोधी भनेर हल्ला चलाएका हुन् । तर, यहाँका जनताले काम गर्ने एमाले, भ्रम बाँडेर हिंसाको खेती गर्ने अरु हुन् भन्ने बुझेका छन् ।

    मधेसमा एमालेले मात्र राम्रो काम गर्यो भन्ने पुष्टि गर्न तपाईंसँग आधारहरु के के छन् ? 

    लौ सुन्नुस् राम्रोसँग– एमाले मधेस विरोधी भनेर हल्ला चलाउँदै जसले आफूलाई मधेसको मसिहा भनिरहेका छन् उनीहरु अहिले पनि सरकारमा सँगै छन् । उनीहरु दुई पक्षजस्तो देखाउँछन् तर, एउटै पक्ष हो । एउटा पक्ष यहाँका जनतालाई आन्दोलनका नाममा हिंसामा होम्छ, अर्काेपक्षले गोली चलाएर जनतालाई मार्छ । अनि उनीहरुका नाममा राज्यबाट रकम लिएर आफैं खान्छ । अनि एमाले मधेस विरोधी भनेर हल्ला चलाउँछ ।

    एमालेले चाहिँ के गर्छ त भन्दा यहाँका गरिव जनतालाई बिपन्न आवासको नाममा २० हजार घर बनाउने बजेट दिन्छ । यहाँको हुलाकी राजमार्ग बनाउन पैसा दिन्छ । यहाँका सदरमुकामका सहरलाई आधुनिकीकरण गर्न दश दश करोडका दरले पैसा दिन्छ । सिंचाईंका लागि बजेट छुट्याउँछ । सडक फराकिलो पार्न पैसा छुट्याउँछ । यो त सबैले देखेकै कुरा हो नि । मधेसी जनताको हितमा उनीहरुले राम्रो काम गरे कि एमालेले ल तपाईं नै छुट्याउनुस् । हामी समृद्ध मधेस बनाउन चाहन्छौं, उनीहरु एउटा एउटा निहुँमा मधेसलाई हिंसामा ईन्गेज गरेर आफ्नो दुनो सोझ्याउने र मधेसी जनतालाई सधैं हिंसाको शिकार र गरिव बनाउन चाहन्छन् ।

    होइन, मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न एमालेले मानेन पो भन्छन् त ?

    तपाईं पत्रकारहरु पनि अहिलेसम्म यस्तै भ्रमपूर्ण कुरा गरिरहनु भएको छ, मलाई आश्चर्य लाग्छ । मधेसको आन्दोलनका नाममा एमालेले आजसम्म कहिले के सम्झौता गरेको थियो भन्नुस् त ? सबै सम्झौता गर्ने कांग्रेसको सरकार हो र सबै सम्झौता पूरा नगर्ने पनि कांग्रेसकै सरकार हो । त्यही कांग्रेससँग सत्ता गठबन्धन गरेर बसेका क्षेत्रीय दलहरुले सम्झौता पूरा नगर्ने कांग्रेससँग मिलेर सत्तामा बस्ने र सम्झौता कार्यान्वयन नगरेको दोष एमालेमाथि लगाउने गरेका छन् । ल आजसम्म एमालेले के सम्झौता गरेर उल्लंघन गर्यो एउटा उदाहरण तपाईं ल्याउनुस् । सम्झौता गरेर सम्झौतामा धोका दिने त्यही कांग्रेससँग मिलेर सत्तामा बस्नेहरुले लाजै नमानी एमाले मधेस विरोधी भन्ने हल्ला चलाएका मात्रै हुन् ।

    तराईमा प्रमुख तीन दलको चुनावी माहोल चाहिँ कस्तो छ ?

    तराईमा एमालेसँग एक्लै सामना गर्न न कांग्रेस, न माओबादी, न मधेसकेन्द्रित दल कसैले पनि सक्दैन । त्यसैले अब दोस्रो चरणको चुनावमा कांग्रेस र माओबादीसँग अर्को मधेसकेन्द्रित दल जोडिएर आए पनि एमालेलाई जित्न सक्दैनन् । कतिपय ठाउँमा त तीनवटा मात्र हैन एमाले बाहेकका सबै दल एक ठाउँमा भए पनि एमालेको जीत सुनिश्चित छ । मैले त्यसै बोलेको होइन । हेर्दै जानुस् तराई मधेसमा एमाले सबैभन्दा ठूलो दल बन्नेछ ।

    मधेस मधेस भन्ने अरुको नाराले एमालेलाई असर पर्ला कि जस्तो लाग्दैन ? 

    उनीहरुले भनेका मात्रै मधेस हुन्, सबै काम आफ्नो स्वार्थ अनुकुल गर्छन् । उनीहरुको नारा यहाँका बस्तीमा होइन काठमाडौंबाट निस्कने अखवारका पानामा मात्रै छ । केहीले विदेशीका भान्सामा भोज खाएर गाएको गानालाई यहाँका जनताको ठान्ने भूल उनीहरुले गरेका छन्, जुन कुरा यहाँका जनताले बुझेका छन् ।

    तपाईं पनि विराटनगरको मेयरमा उठ्ने कुरा आएको थियो के साँचो हो ? 

    होइन । मेरो त्यस्तो कुनै योजना छैन । पार्टीका साथीहरुले मेरो अपेक्षा गर्नु राम्रो कुरा हो । तर यहाँ एकसेएक पार्टीका युवा साथीहरु हुनुहुन्छ । उहाँहरुले नै त्यो बागडोर सम्हाल्नु हुनेछ । पार्टीलाई जिताउन म मेरो ठाउँबाट लागि पर्नेछु । अहिले पनि हामी यहिँ खटिरहेका छौं ।

    Subjects:

  • No Comment to " लालबाबु पण्डितको प्रक्षेपणः मधेसमा एमालेले जितेको देखेर अरु बेहोस हुनेछन् "