• संसदमा केपी ओलीका ११ प्रश्नमाथि देउवा–दाहालका जवाफ (भिडियोसहित)

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 6, 2017
    A- A+
    काठमाडौं, २३ जेठ– मंगलवारको संसदको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संम्बोधन गरेका थिए । सत्ता गठबन्धनका दाहाल र देउवामाथि ओलीले प्रश्न उठाएका थिए । दाहाल देउवाले मिलेर त्यसको जवाफ दिने कोसिस गरेका थिए । ओलीका केही प्रश्नमाथि दाहाल देउवाका जवाफ यहाँ प्रस्तुत गरिएको छ ।

    १. ओलीः एक महिनापछि विदा हुनै लागेका प्रधानन्यायाधीशलाई आफूले भने अनुसार फैसला नगरेको भनेर किन महाभियोग लगाउनु भयो ?
    देउवाः अव महाभियोग फिर्ता भइसक्यो त । अव त्यो कुरा किन गर्नु पर्यो ?
    दाहालः अगाडि नै महाभियोग फिर्ता हुन्थ्यो, तपाईंहरुले सदन नखोलेर ढिलो भयो । 
    २. ओलीः प्रधानन्यायाधीश अवकास पाउने बेला आफ्नो पेन्सनपट्टा बनाउन जाँदा महाभियोग लागेको भनेर अर्थमन्त्रालयले महाभियोग लागेको भनेर रोक्यो ? अर्थमन्त्रालयलाई कसरी थाहा भयो महाभियोग लागेको ? प्रस्ताव फिर्ता भएको किन थाहा भएन ? संवैधानिक अंगको प्रमुखलाई यस्तो अमानवीय अपमान गर्न पाइन्छ ?
    देउवा दाहाल दुवैले यसको जवाफ दिएनन् । 
    ३. ओलीः चुनावमा हार जीत हुन्छ । भरतपुरमा सत्तापक्षका उम्मेदवारलाई जिताउन उम्मेदवारका प्रतिनिधिले उफ्रेर मतपत्र च्याते, प्रहरीले पक्राऊ गर्यो, निर्वाचन अधिकृतले ट्वाइलेटबाटै मतगणनास्थल कब्जा भयो भन्ने पूर्वनियोजित प्रतिवेदन लेखेर दिए । को को उम्मेदवार भएका ठाएँमा हारजीत गर्न पाईंदैन ? त्यस्तो विवरण अगाडि नै दिए प्रतिपक्षलाई माइण्ड मेकअप गर्न सजिलो हुन्थ्यो कि ?
    देउवाः मतपत्र च्यात्नु गलत भयो भनेर मैले भनिसकेँ ।
    दाहालः त्यहाँ हाम्रो उम्मेदवार मेरै छोरी रेणु दाहाल हो, मैले उनलाई बोलाएर भनेको थिएँ, तिमी जिते पनि जित्यौ, हारे पनि जित्यौ । तर, मतपत्र च्यात्ने काम गल्ती भयो । 
    ४. ओलीः एमालेलाई मधेस विरोधी भन्ने प्रचार गर्नुहुन्छ, एमालेले हुलाकी राजमार्ग, द्रूतमार्ग, विपन्नलाई आवास, सडक चौडा, तराईका सहरलाई सुन्दर बनाउन बजेट दियो । तर, तपाईंहरु मधेसकै पक्षमा रहेकाले ५५४ जनालाई राष्ट्रिय विभुषण दिंदा आधा जनसंख्या रहेको मधेसका ५४ जनालाई मात्रै दिनु भयो नि, किन ?
    देउवाः गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा हुलाकीमार्ग सुरु गर्ने योजना बनेको हो । केपी ओलीजीले बजेट दिनु भयो, यसका लागि धन्यवाद ।
    यसको दाहालले जवाफ दिएनन् । 
    ५. ओलीः फास्टट्र्याक बनाउन मेरो नेतृत्वको सरकारले बजेट छुट्यायो, तपाईं त पहिले नै शिलान्यास गरिसकेको फास्ट ट्र्याक शिलान्यास गर्न जानु भएछ नि किन ?
    देउवाः यस विषयमा केही बोलेनन् ।
    दाहालः सेनालाई निर्माणको जिम्मा दिएपछि शिलान्यास गर्न बोलायो । पहिले नै शिलान्यास भइसकेको रहेछ मलाई थाहा थिएन । 
    ६. ओलीः मलाई सरकारबाट हटाउँदा भूकम्पपीडित त्रिपालमुनी छन् सरकारले केही गरेन भन्नुहुन्थ्यो । नाकाबन्दीकै बेला हुँदा पनि कानुन ल्याएर प्राधिकरण बनाएर पहिलो किस्ता मेरो नेतृत्वको सरकारले दिएको थियो । तपाईंहरुको सरकारले प्राधिकरणको कार्यकारी परिवर्तन गर्ने बाहेक पीडितका लागि के गर्नु भयो ? १० महिना वितिसक्दा पनि दोस्रो किस्ता पाएका छैनन्, जनता पालमुनी छन् किन ?
    दाहाल र देउवा दुवैले यसको जवाफ दिएनन् । 
    ७. ओलीः प्रधानमन्त्री बनेपछि तपाईंले ११२ वटा गरिनेछ भन्ने भाषण संसदमा गर्नु भएको थियो । कतिवटा गरिनेछ पूरा भयो ?
    दाहालः मैले प्रधानमन्त्री भएपछि राम्रै काम गरेँ जस्तो लाग्छ । त्यसै भएर सत्तापक्ष र प्रतिपक्ष दुवैले ‘किन राजीनामा दिनु’ भनेका छन् । 
    ८. ओलीः शान्ति प्रक्रिया पूरा गरेन भनेर मेरो सरकारलाई आरोप लगाउनु भएको थियो । शान्ति प्रक्रियासँग गाँसिएको कुनै कानुन ऐन बनाउनु भयो कि ? बेपत्ता छानविन तथा मेलमिलाप आयोगका पदाधिकारीबीच बोलचाल छैन । बोलचाल त गराउनुस् अरु केही काम नगरे पनि ?
    देउवा दाहालले यसको जवाफ दिएनन् । 
    ९. ओलीः मैले भारतमा गएर बिजुली किन्ने सम्झौता गर्दा ओलीले महंगोमा विजुली किन्यो भनेर उडाउनु भएको थियो, विजुली आयो लोडसेडिङ हट्यो । अहिले ओलीले लोडसेडिङ गराएको थियो भन्नुहुन्छ किन ?
    दाहालः लोडसेडिङ अन्त्य धेरै कारणले भएको सत्य हो, त्यसमध्ये ओलीजीले भन्नु भएको कुरा पनि सत्य हो । तर, राम्रो ब्यवस्थापक नियुक्ति गर्ने काम मैले गरेको हो । 
    १०. ओलीः मेरो सरकारले बजेट प्रस्तुत गर्नुअघि ७ प्रतिशतले आर्थिक बृद्धिदर कायम गरिन्छ भन्दा किन हावादारी भन्नु भो ? त्यही बजेटले ७ प्रतिशतले आर्थिक बृद्धि गराएपछि त आफूले गराएको भन्नु भो नि ? तपाईंहरुको बजेट थियो र त्यो ?
    दाहालः बजेट तपाईंहरुकै हो, तर कार्यान्वयन नगरेको भए बृद्धि हुँदैनथ्यो । 
    ११. ओलीः ८ सालमा बेदानन्द झाले कांग्रेसले अत्याचार गर्यो भनेर पार्टी छोडे, १६ सालमा अर्काले त्यस्तै गरे, ०४६ सालमा गजेन्द्रनारायण सिंह र त्यसपछि महन्थ ठाकुर, विजय गच्छदार, जेपी गुप्ताले त्यही भनेर कांग्रेस छोडे । कांग्रेसका मन्त्रीहरुले राज्यसँग गरेका सम्झौता कार्यान्वयन गरेनन् । एमालेलाई नै चाहिं किन मधेस विरोधी भनेको ?
    देउवाः कांग्रेसका तीन आदर्श छन् क्या । राष्ट्रियता, प्रजातन्त्र समाजवाद । अहिले त्यसैमा विश्वास गर्नुस् ।  
    विस्तृतमा भिडियो हेर्नुस् । 

    -Text, Image: Chakrapath

    Subjects:

  • No Comment to " संसदमा केपी ओलीका ११ प्रश्नमाथि देउवा–दाहालका जवाफ (भिडियोसहित) "