• भारतका विभिन्न शहरमा नेपालको प्रवर्द्धन

    Reporter: Becoming Kishor
    Published: Thursday, June 15, 2017
    A- A+
    पोखरा । भारतका विभिन्न शहरमा नेपालको पर्यटन प्रवर्द्धनात्मक गतिविधि सञ्चालन भएको छ । पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को नेतृत्वमा भारत गएको टोलीले उक्त गतिविधि सञ्चालन गरेको हो । पोखरा पर्यटन बोर्डको सहयोगमा पोखराका पर्यटन व्यवसायीको टोली भारतको सिलगढी, डुवर्स र सिक्किमलगायत शहरमा पुगी बुधवार स्वदेश फर्केको हो ।



    भ्रमणका क्रममा सिलगढी, डुवर्स र सिक्किमको गान्तोकमा त्यहाँका ट्राभल एजेन्सी, पर्यटन व्यवसायी, मिडियाकर्मीलगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको परिषद्का अध्यक्ष केदार शर्माले बताए । ‘नेपाल र पोखराको पर्यटन विकासका लागि सहकार्य गर्न हामीले आग्रह गर्‍यौं,’ उनले भने, ‘हामीले नेपालको पर्यटकीय सम्भावनाका बारेमा पनि जानकारी गरायौं ।’

    पोखरा विश्वकै सुन्दर शहर भएकाले घुम्न आउन निमन्त्रणा गरिएको भ्रमणमा सहभागी पश्चिमाञ्चल होटल सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए । ‘त्यहाँका व्यवसायीले हामीसँग सहकार्य गर्ने प्रतिबद्धता गरेका छन्,’ उनले भने, ‘जुन भ्रमणको उपलब्धि हो ।’ सिलगुढी, सिक्किमलगायतका ठाउँको भौगोलिक अवस्था, भाषा र सस्ंकृति नेपालसँग मिल्ने भएकाले पनि त्यहाँबाट पर्यटक नेपाल भिœयाउन सकिने उनले बताए ।

    पोखरा आएका पर्यटकलाई भारत पठाउने र त्यहाँ आएका पर्यटकलाई नेपालसम्म ल्याउने विषयमा पनि छलफल भएको पराजुलीले जानकारी दिए । ‘त्यहाँका पर्यटन व्यवसायी नेपाली व्यवसायीसँग सहकार्य गर्न तयार रहे पनि नेपालको पूर्वाधारप्रति उनीहरू सन्तुष्ट नरहेको गुनासो छ,’ उनले भने, ‘नेपालमा प्रशस्त पर्यटकीय स्थल भए पनि पर्यटकका लागि सहज हुने गरी पूर्वाधार तयार गर्न उनीहरूको माग छ ।’

    नेपाल–भारत सीमाबाट पोखरासम्म जान अत्याधुनिक बस तथा दुई देश जोड्ने विमानस्थलको अभाव रहेको गुनासो त्यहाँका व्यवसायीले गरेका हुन् । टोलीमा पोखराका पर्यटनसँग सम्बन्धित संस्थाहरू होटल सङ्घ, नाट्टा, रेबान, टान, टेसा, एगाका प्रतिनिधि तथा पत्रकार सहभागी थिए ।

    Subjects:

  • No Comment to " भारतका विभिन्न शहरमा नेपालको प्रवर्द्धन "