• केही मुद्दामा ‘सेटिङ’ नमिलाउन्जेल महान्यायाधिवक्तामा कायम राख्न रमण श्रेष्ठ देउवाकोमा पुगे

    Reporter: Becoming Kishor
    Published: Friday, June 9, 2017
    A- A+
    काठमाडौं, २७ जेठ– भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने योजना बनाएर कार्यान्वयन गरी पछिल्लो पटक चर्चामा आएका महान्यायाविक्ता रमण श्रेष्ठले दोस्रो चरणको स्थानीय चुनाव नहुन्जेल आफूलाई महान्यायाधीवक्ता रहन दिन नयाँ प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।



    कानुनी शासनका विरुद्ध देखिनेगरी सिधै सक्रिय रहने गरेका उनी अदालतलाई धम्की दिएर मुद्दा प्रभावित पार्ने, अपराधीहरुसँग सेटिङ मिलाउने र महान्यायाधिवक्ता रहेर पनि सरकारवादी मुद्दाको विपक्षमा रहेर बहस गर्ने अनैतिक र गैरकानुनी काम गर्दै आएका श्रेष्ठले सेटिङ मिलाउने काम अझै केही बाँकी रहेकाले त्यसबेलासम्म आफूलाई महान्यायाधिवक्ता रहन दिन आग्रह गर्न थालेका हुन् ।

    उनी सरकारको कानुनी सल्लाहकार भएकाले हरेक सरकारवादी मुद्दाको स्वतः पक्षमा हुनु पर्ने भए पनि भ्रष्टाचारका ठूलाठूला मुद्दामा त्यसको विपक्षका वकिल थिए । ‘इजलास सपिङ’का लागि माहिर मानिएका रमणले कुन मुद्दामा को को न्यायाधीशको इजलास गठन गर्नु पर्ने समेत आफूसँग सल्लाह गर्नु पर्ने तर्क गर्दै आएका थिए ।

    सुशीला कार्की प्रधानन्यायाधीश हुँदा आफू अनुकुल इजलास गठन गरी इजलास सपिङ गर्न नदिएको भन्दै उनैले प्रधानन्यायाधीश विरुद्धको महाभियोग पत्र तयार गरेका थिए । महाभियोगमा लगाइएको एउटा आरोप पनि त्यस्तै थियो– प्रधानन्यायाधीशले आफूखुसी इजलास गठन गर्ने गरेको । इजलास गठन गर्ने नै प्रधानन्यायाधीशले हो तर, श्रेष्ठले भ्रष्टाचारको अभियुक्त र उनीहरुका वकिलसँग सल्लाह गरेर कुन मुद्दा कुन न्यायाधीशलाई हेर्न लगाउने भन्ने कुरामा सेटिङ मिलाउनु पर्ने वकालत गर्दै आएका थिए ।

    अदालत, राजनीति र अन्य संवैधानिक अंगहरु संवैधानिक र नैतिक मान्यताका आधारमा होइन सेटिङमा चल्नु पर्छ भन्ने श्रेष्ठ निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका कट्टर ब्यवस्थापक हुन् । पछिल्लो पटक भरतपुरमा पुन मतदान गराउन मतपत्र च्यात्नु पर्ने आइडिया तयार गर्ने र सोही अनुसारको निर्देशन दिई निर्वाचन अपराध गराउने ब्यक्ति पनि रमण श्रेष्ठ नै थिए भन्ने आमसञ्चारमा आइसकेको छ । भरतपुरको मुद्दा अहिले सर्वाेच्चमा विचाराधीन रहेको र अन्य केही भ्रष्टाचारका मुद्दाहरु पनि सर्वाेच्चमा विचाराधीन रहेकाले अव तिनीहरुलाई सेटिङ मार्फत प्रभावित पार्न उनले आफ्नो निरन्तरता अपरिहार्य भएको देउवालाई वताउने गरेका छन् ।

    देउवा प्रधानमन्त्री भएपछि कांग्रेसका वकिलहरु भने महान्यायाधिवक्ता बन्ने आकांक्षा राख्दै देउवासामु दवाव सिर्जना गरिरहेका छन् । -from Chakrapath.com

    Subjects:

  • No Comment to " केही मुद्दामा ‘सेटिङ’ नमिलाउन्जेल महान्यायाधिवक्तामा कायम राख्न रमण श्रेष्ठ देउवाकोमा पुगे "