• राजपा चुनावमा नजाने निर्णय भारतीय दूतावासमै भइसकेको छ

    Reporter: Becoming Kishor
    Published: Friday, June 9, 2017
    A- A+
    जुन दिन स्थानीय तहको दोस्रो चरणको चुनावमिति असार १४ गतेका लागि चौथो पटक सार्ने निर्णय मन्त्रिपरिषदको बैठकले गर्दै थियो ठीक त्यही दिन राजपाका ६ भाइ नेता भारतीय दूतावासमा राजदूत मञ्जिभसिंह पुरीसँग गहिरो वातचितमा थिए ।



    वातचित सकिएपछि आमसञ्चार माध्यम मार्फत एउटा प्रायोजित खवर बाहिर ल्याइयो– भारतीय राजदूत पुरीले राजपाका नेताहरुलाई स्थानीय चुनावमा भाग लिन आग्रह गरे । तर, त्यहाँ भित्रको वातचित बाहिर प्रचार गरिए भन्दा विपरित थियो । राजपाका नेताहरुले संविधान संशोधन नभई आफूहरु चुनावमा नजाने जे प्रतिक्रिया बाहिर दिइरहेका थिए, भारतीय राजदूत पुरीले उनीहरुलाई दिएको सुझाव पनि त्यही थियो । राजपा र भाजपाको भेद छुट्याउनै मुस्किल परिरहेको परिस्थितिमा चुनाव विरोधी गतिविधिमा भारत लागेको सन्देश मेट्न मात्रै भारतीय राजदूतले उनीहरुलाई बोलाएर चुनावमा जान सुझाव दिएको प्रचार गराएका थिए । भित्र के छ त्यसलाई छोपेर भारत के प्रचार गर्न चाहन्छ, त्यसै अनुसार बाहिर ल्याइदिने मुलधारका छापामाध्यमका केही जागिरेको सहयोगमा लाभ उठाउनु भारतीय दूतावासका लागि गाह्रो कुरा थिएन ।

    मधेसी मोर्चाको सबैभन्दा ठूलो विङ उपेन्द्र यादवको संघीय समाजवादी फोरमले अघिल्लै चरणको चुनावमा भाग लिइसकेको हुनाले विभिन्न टुक्रा जोडेर बनाइदिएको राजपालाई निर्णायक हतियार बनाउन खोज्नु ‘असल छिमेकी’ भारतको काम नै हो । राजपा नामको दलको भविश्यका लागि जेसुकै भए पनि संविधान कार्यान्वयन गरेर स्थिरतामा जाने नेपालको सम्भावनालाई टार्न र नयाँ द्वन्द्वको ब्याड राख्न अहिले भारतीय राजदूत पुरी सक्रिय छन् । राजपाकै ईच्छामा चल्ने कांग्रेस माओवादी गठबन्धन सरकार बनाएर त्यही सरकारले राजपालाई देखाउँदै नियन्त्रित अस्थिरताको खुट्किलो स्वरुप चुनावका मिति लगातार सार्नु र जति मिति सारे पनि राजपा भने चुनावमा नजाने परिस्थिति सिर्जना गर्नु उनीहरु चारै पक्षको संयुक्त रणनीति हो । यहाँ चार पक्ष भनेको भारतीय दूतावास, राजपा, कांग्रेस र माओवादी नेतृत्व हो जसले अलग अलग अनुहार देखाएर बाहिर डिल गरेको देखिए पनि संयुक्त रणनीति अन्तर्गत उनीहरु अगाडि बढिरहेका छन् । त्यसमा साथ दिएका छन् मधेस मुद्दा, मधेस मुद्दा भन्दै आमसञ्चारमा विचार निर्माण गर्ने केही स्वघोषित र पेशेवर ‘बुद्धिजीवी’ ।

    एकै ठाउँको निर्देशनबाट चल्ने यी चारै पक्षको देखावटी बाटो अलग छ । तर, स्थानीय तहको चुनावमा भरिसक्य राजपाका मागको नाममा भारतीय रणनीतिक स्वार्थ घुसाउने र अन्तिममा राजपालाई चुनावमा सामेल नगराई पृथकतावादी गतिविधिका लागि भविश्यमा गोरेटो बनाउने काममा यी चारै पक्ष सहमत छन् । चुनावको नयाँ मिति घोषणा गर्नासाथ आन्दोलनका कार्यक्रम फिर्ता लिने र चुनावमा जाला जालाजस्तो गर्ने तर, ठ्क्याक्कै उम्मेदवारी दर्ता गर्ने दिन आइपुगेपछि नयाँ बखेडा झिक्ने अनि त्यही नाममा सरकारले चुनावको नयाँ मिति तोक्ने । अहिलेसम्म यी चारै पक्षको रणनीति अन्तर्गत यही क्रम चलिरहेको छ ।

    चौथो पटक परिवर्तन भएर तोकिएको निर्वाचन मिति असार १४ गते हो । जुन मिति त्यही राजपालाई चुनावका ल्याउने नाममा तोकिएको चौथो मिति हो । यसभन्दा अघि बैशाख ३१, जेठ, ३१ र असार ९ गतेका तीनवटा मिति थिए । अव चौथो मितिका लागि उम्मेदवारी दर्ता गर्ने दिनसम्म राजपा चुनावमा भाग लिने वा नलिनेमा दोधार प्रस्तुत गरिरहन्छ । जव उम्मेदवारी दर्ता गर्ने दिन आउँछ तव कांग्रेस माओवादीसँग सल्लाह गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्छ । त्यसपछि राजपाको नयाँ सर्त देखाएर कांग्रेस माओवादी गठबन्धनले चुनावको मिति फेरि सार्ने गृहकार्य गर्छ । त्यही दिन फेरि भारतीइ राजदूतले राजपाका नेताहरुलाई दूतावास बोलाउँछन् र चुनावमा जाने देखावटी निर्देशन दिन्छन् । यी सबैका अलग प्लट देखिए पनि यसको केन्द्रीय डिजाइन एउटैले एकै ठाउँमा बसेर तयार गर्छन् ।

    किन जाँदैन राजपा चुनावमा ?
    १. आन्तरिक विवाद
    राजपा चुनावमा नजाने ४ वटा कारण छन् । पहिलो कारण उसले संविधानको विरोधका नाममा तीन वर्ष चलाएको वितण्डा तराईमा नाङ्गेझार भएको छ । तराई मधेसका मतदाताले राजपा वा मधेसी मोर्चाका एजेण्डासँग आफ्नो जीवनको कुनै साइनो नभएको र नितान्त सामुदायिक इमोशनमा गरिएको ठगी हो भन्ने राम्रोसँग बुझ्दै गएका छन् । मधेसकेन्द्रित दल कमजोर हुँदै गएर एकीकरण गर्नु र एकीकरण गरेपछिको संयुक्त दलको हैसियत पहिलेको एक समुह वरावर पनि नहुनु त्यसको प्रमाण हो । त्यसमाथि राजपाका सबै घटकहरु पार्टीको रुपमा भन्दा क्षेत्रीय सरदारको समुहका रुपमा छन् । त्यसैले उनीहरुका स्वार्थ पनि अलग अलग छन् । अस्तित्व संकटमा परेपछि भारतले ६वटा समुहलाई एउटै पार्टी भनेर बनाइदिए पनि संसदीय चुनावमा आफ्नो क्षेत्र सुरक्षित गर्ने र स्थानीय चुनावमा आफू निकटकालाई केही ठाउँबाट जिताउनु पर्ने उनीहरुको चुनौती छ । ६ वटा पार्टी हुँदा ६ जनालाई उम्मेदवार बनाएर सन्तुष्ट पार्ने ठाउँ हुन्थ्यो । एउटै भएपछि त्यो सम्भावना रहेन । त्यसैले राजपाका स्थानीय नेता कार्यकर्ताहरु धमाधम एमाले प्रवेश गरिरहेका छन् । यस्तो अवस्थामा चुनावै नगरी केही सिट दिने घोषणा गरे मात्रै हो नत्र राजपा चुनावमा जाँदैन, जाँदै जाँदैन ।

    २. भारतका लागि नयाँ हतियार जोगाउने
    नेपालको संविधान विरुद्ध एक वर्ष अघिसम्म जति भ्रम फैलाएर हिंसा मच्चाउन सकिएको थियो, त्यो अनुकुलता भारतले विस्तारै गुमाउँदै गएको छ । मोर्चाका नाममा चलेको आन्दोलन जति जति उग्र हुँदै जान्थ्यो, संविधानमा के छ भन्ने खोजी पनि त्यति त्यति बढ्दै गयो । त्यसमाथि गतवर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मधेसमा यसअघि कहिल्यै पुग्न नसकेको बजेट विनियोजन गरे । त्यसले मान्छेका दिमागमा अंध्यारोमा परेको चट्याङजस्तो काम गर्यो । मधेसी मोर्चा भनेको आफ्नो समुदायलाई हतियार बनाएर हिंसा भड्काउने र त्यसैको बलमा आफ्नो स्वार्थको रोटी सेक्ने शक्ति हो भन्ने त्यहाँ राम्रैसँग स्थापित भयो । त्यसमाथि मधेसी जनतामाथि अन्याय थोपर्दै आएका नवनागरिकहरुको दवदवाले यो सबै भइरहेको छ भन्ने पोल खुल्यो । त्यसले गर्दा तराईको पृथकतावादी अभियान कमजोर हुन पुग्यो । पृथकतावादी अभियान कमजोर भएको निश्कर्षमा भारत र दीपेन्द्र झा, तुलानारायण साह, चन्द्रकिशोर लगायतका द्वन्द्वजीवी पनि पुगे । अहिले नै पृथकताको आन्दोलनले गति लिन नसक्ने ठहरपछि भविश्यका लागि बीऊ जोगाउने उनीहरुको रणनीति छ । त्यसका लागि अहिले राजपालाई चुनावबाट बाहिर राख्नु पर्छ र त्यही गोरेटोबाट पृथकतासम्म पुगिन्छ भन्ने उनीहरुको विश्वास छ । त्यसैले राजपाका सबै माग पूरा भए पनि उ चुनावमा जाँदैन । किनभने उ चुनावमा गए हरेक दश दश वर्षमा ‘आन्दोलन’को भारतीय थ्यौरी यसपटक देखि फेल खान्छ । नयाँ द्वन्द्वका लागि मुद्दा हुँदैन ।

    ३. कांग्रेसलाई अझै बलियो हतियार बनाउने खतरा
    मधेसी मोर्चा वा राजपाको नाममा विगत तीन वर्षमा जे जति तराई मधेसमा भए तिनको भित्री प्रायोजन भारत थियो भने ग्राउण्डको समर्थक कांग्रेस थियो । मोर्चाका नाममा सबै हिंसामा मैदानमा खट्ने कांग्रेस कार्यकर्ता थिए भन्ने कुरा उनीहरुको हिंसामा मारिएका मानिसको राजनीतिक आवद्धता कांग्रेस हुनुले पुष्टि गर्छ । त्यसमाथि फर्मुल्लाह मन्सुर, बिमलेन्द्र निधि, अमरेशकुमार सिंह, सीतावेदी यादव यिनीहरुको भूमिका मधेसी मोर्चाका नेताको भन्दा कुनै पनि अर्थमा फरक थिएन । हिंसामा एउटै मोर्चामा खटेका कांग्रेस र राजपा चुनावमा जाँदा फरक फरक चुनाव चिन्हमा बाँडिनु पर्ने हुन्छ । नेपालको अस्थिरताका लागि दुवै भारतका भरपर्दा हतियार हुन् । पत्रकार गोपाल खनालको पुस्तक भूराजनीतिमा भारतीय तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयीका सल्लाहकारले त यतिसम्म खुलेर अन्तरवार्ता दिएका छन् कि सिक्किममा जस्तै नेपालमा संवैधानिक ‘कू’का लागि भरपर्दो हतियार नै कांग्रेस हो । कांग्रेसको ‘प्रजातान्त्र’को आवण वरिपरी छिट्टै नेपाली जनता आकर्षित हुन सक्ने भएकाले कांग्रेसलाई बलियो बनाएर सिक्किममा संवैधानिक तवरले गरिएको जस्तै कू गर्न सकिन्छ भन्ने उनको विश्वास छ । त्यसैले एउटै भोटबैंक भएका कांग्रेस र राजपालाई अहिले चुनावमा लगिनु भनेको आफ्नो बलियो हतियार कांग्रेस कमजोर हुनु हो । कांग्रेसजस्तो दीर्घकालीन हतियारलाई कमजोर बनाएर अहिले क्षणिक रुपमा मात्रै चलाउन सकिने कमजोर हतियार राजपाको प्रवद्र्धन गर्न भारतले रुची राखेको छैन । चुनावको हरेक नयाँ मिति घोषणा हुँदा भारतीय राजदूत पुरीले राजपा नेताहरुलाई बोलाएर मन्त्रणा गर्नुको कारण त्यही हो । राजपामा अहिले भएका नेताहरु महन्थ ठाकुर देखि शरदसिंह भण्डारीसम्म सबैजसो पूर्व कांग्रेस नै हुन् ।

    ४. उपेन्द्रको पहाडसँग जोडिने रणनीति
    राजपा चुनावमा नआए पनि भारतीयहरुले सोचेजस्तो अर्काे द्वन्द्वका लागि राजपालाई बीऊ बनाएर ब्याडमा फूलाउन सकिने अवस्था किन पनि छैन भने उपेन्द्र यादवले अघिल्लै चरणको चुनावमा भाग लिइसकेका छन् र राजपाकै स्थानीय नेता कार्यकर्ता पनि धमाधम अन्य पार्टीमा छिर्दै उम्मेदवार बन्दै गरेका छन् । त्यसमाथि उपेन्द्रले तराईको मात्रै नभएर पहाडमा पनि आफ्नो प्रभाव विस्तार गर्न थालेका छन् । यसले पनि राजपालाई टाउको दुखेको छ । यस्तो अवस्थामा राजपा चुनावमा नआए त्यसैलाई बीऊ बनाएर आगामी हिंसाको तयारी गर्ने भारतको सोच पूरा हुन सक्ने देखिंदैन । बरु राजपा नै तराई मधेसको राजनीतिबाट समाप्तप्रायः हुनेछ ।
    -from: chakrapath.com

    Subjects:

  • No Comment to " राजपा चुनावमा नजाने निर्णय भारतीय दूतावासमै भइसकेको छ "