• सुरु भइसक्यो मनसुन, केही दिनमै देशभर वर्षा हुने

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 13, 2017
    A- A+
    जेठ ३१, २०७४ काठमाडौं : यो वर्षको मनसुन सुरु भएको छ। सोमबार पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वी नेपाल प्रवेश गरेको हो।



    सोमबार पूर्वी नेपालमा हलुका वर्षा भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। केही दिनभित्र देशैभर मनसुन सक्रिय हुने उनको भनाइ छ। मनसुन पूर्ण रूपमा सुरु हुन पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्ने उनले बताए। हरेक वर्ष नेपालमा मनसुन सुरु हुँदा पूर्वी नेपालबाट प्रवेश गरी पश्चिम हुँदै पुनः पूर्व पुगेपछि सकिन्छ। यस वर्षको मनसुन तीन दिन ढिला सुरु भएको हो। नेपालमा हरेक वर्ष प्रायः १० जुनदेखि मनसुन सुरु भई २३ सेप्टेम्बरमा सकिन्छ।

    जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार राजधानीमा एक–दुई दिनभित्र वर्षा हुने प्रक्षेपण गरिएको छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पश्चिमतिर बहन थालेकाले राजधानीमा तत्काल पानी पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताए। यस वर्षको मनसुनमा औसत मात्र वर्षा हुने प्रक्षेपण गरिएको छ। तर, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद् पौडेलले बताए। ३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरिएको उनले बताए। ‘कम वर्षा हुने भन्दैमा बाढीपहिरोजस्ता प्रकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ उनले भने, ‘एकैदिन मुसलधारे वर्षा हुँदा प्राकृतिक प्रकोप हुन सक्छ ।’

     नेपालमा वर्षभरिमा १४ सय मिलिमिटर पानी पर्छ। मनसुनको अवधिमा मात्र ८० प्रतिशत पानी पर्छ। अन्य वर्षको तुलनामा यो वर्षको ‘प्रिमनसुन’मा धेरै वर्षा भएको छ। प्रिमनसुनमा धेरै वर्षा हुँदा डढेलो कम लागेको छ। त्यसैगरी, चैतेधान र तरकारी लगाउने किसानलाई पनि फाइदा पुगेको छ।

    Subjects:

  • No Comment to " सुरु भइसक्यो मनसुन, केही दिनमै देशभर वर्षा हुने "