• जिग्रीपाडें प्रतिष्ठानलाई बले-कक्रोजद्वारा ठूलो रकम हस्तान्तरण

    Reporter: Becoming Kishor
    Published: Saturday, June 3, 2017
    A- A+
    काठमाडौं । जिग्रीपाडें प्रतिष्ठानलाई हास्यकलाकारद्वय सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले ठूलो रकम हस्तान्तरण गरेका छन् । सप्तरीमा दृष्टिविहीन परिवारको लागि निर्माण भइरहेको तीन घरको लागि उनीहरुले २ लाख ५० हजार हस्तान्तरण गरेका हुन् ।

    बुधबार हास्यटेलिसिरियल भद्रगोल सुटिङ हुने ठाउँ मुड्खुमा एक कार्यक्रम आयोजना गरी बले कक्रोचले जिग्रीपाडें प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल ‘जिग्री’ र कोषाध्यक्ष अर्जुन घिमिरे ‘पाडें’ लाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।


    साँस्कृतिक कार्यक्रमको लागि गत चैत २४ गते बले र कक्रोच अमेरिका गएका थिए । त्यहाँ उनीहरुले २ वटा मात्र स्टेज कार्यक्रमबाट उक्त रकम संकलन गरेका हुन् ।

    अमेरिकाको जर्जिया भन्ने शहरमा सुर्य लम्सालको नेतृत्वमा राखिएको स्टेज कार्यक्रमबाट नै करिब १५ सय डलर रकम संकलन गरेको कक्रोचले बताए । उनका अनुसार पोखरा घर भएका अमेरिकाका सफल व्यपारी राजु थापाले १ हजार डलर एक्लै सहयोग गरेका हुन् ।

    एक महिने लामो अमेरिकाको भ्रमणमा गएका उनीहरुले त्यहाँ रहँदा पनि नेपाली दाजुभाई दिदीबहिनीहरुलाई जिग्रीपाडें प्रतिष्ठानको लागि सहयोग अपिल गरेर यति ठूलो रकम उठाउन सफल भएका छन् ।

    हस्तान्तरण कार्यक्रममा यो सहयोग रकम अहिलेसम्मकै ठूलो रकम भएको जिग्रीले बताए । उनले भने, ‘अमेरिकामा रहने सम्पूर्ण सहयोगी मनकारी मनहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

    त्यस्तै पाडेंले अमेरिकाबाट यति ठूलो रकम संकलन गरेर जिग्रीपाडें प्रतिष्ठानलाई हस्तान्तरण गर्ने बलेकक्रोचलाई धन्यवाद साथै अमेरिकामा रहेर सहयोग गर्ने मनकारी मनहरुलाई पनि धन्यवाद दिएका छन् ।

    उनले भने, ‘घर निर्माण कार्य पनि ८० प्रतिशत सम्पन्न भएको छ भने २० प्रतिशत रकम अपुग भएको छ । अझैं पनि सहयोगका लागि अपिल गर्दछु ।’

    उनीहरुले दृष्टिविहिन परिवारको लागि बनाइरहेको घर निर्माणको लागि ३० लाख आवश्यक पर्ने पहिले नै बताइसकेका छन् । यही जेठको अन्तिममा उनीहरुले सो घर ३ परिवारलाई हस्तान्तरण गर्ने समेत बताएका छन् ।

    Subjects:

  • No Comment to " जिग्रीपाडें प्रतिष्ठानलाई बले-कक्रोजद्वारा ठूलो रकम हस्तान्तरण "