• राजपा कोषाध्यक्ष अनिताले भनिन्ः मर्ने–मार्ने खेलले वाक्क भएर एमालेमा लागेँ

    Reporter: Becoming Kishor
    Published: Sunday, June 18, 2017
    A- A+
    संविधान जारी गर्दा होस् वा अहिले स्थानीय तहको चुनाव आयोजना गर्दा होस्, सत्तामा अरु नै पार्टी भए पनि तराईकेन्द्रित राजपाको प्रहारको निसानामा एमाले पर्यो । केही दिन अघि मात्र त्यही राजपाका केन्द्रीय महामन्त्री समिम अन्सारी एमाले प्रवेश गरे । त्यसको केही दिन नबित्दै मधेसमा प्रभावशाली हैसियत भएकी राजपा केन्द्रीय कोषाध्यक्ष अनिता यादव अर्का एकजना केन्द्रीय सदस्य सहित एमाले प्रवेश गरिन् ।



     राजपाको कोषाध्यक्ष परित्याग र एमाले प्रवेशका विषयमा चक्रपथ डटकमका लागि अनिता यादवसँग बिनु पोखरेलले गरेको कुराकानीः

    तपाईँ राजपा केन्द्रीय समितिको एउटा मुख्य पद कोषध्यक्ष नै हुनुहुन्थ्यो, एमाले प्रवेश गर्नु भएछ । राजपाले सबै भन्दा बढी विरोध जनाएको एमालेमै प्रवेश गर्नुको कारण के हो ? 
    पार्टी, पद ठूलो कुरा होइन एजेण्डा ठीक हुनु पर्यो । राजपाको एजेण्डा नै बेठीक हुँदै गयो । अझ तराई मधेसमा शान्ति, विकास र समृद्धि होइन हिंसा र अस्थिरताको बाटोमा राजपा हिंडेपछि मैले उत्तः दलबाट राजीनामा दिएँ । मलाई त्यस्तो पार्टीको कोषाध्यक्ष हुनु ठीक लागेन ।

    मेरो राजनीतिक जीवन सुरु हुँदा नै एमालेबाट भएको हो । म एमालेको तलको सानो कमिटीमा पनि बसेर काम गरेकी मान्छे हुँ । म २०५० साल देखि नै सामाजिक आन्दोलनमा सक्रिय थिएँ । सामाजिक आन्दोलनलाई अझै बलियोसँग उठाउन सकिन्छ कि भनेर म बीचमा मधेसकेन्द्रित दल तमलोपामा लागेँ, अझ हामीले नै तमलोपा स्थापना गर्यौं ।  तर, तमलोपा हुँदै बनेको राजपाले सामाजिक आन्दोलनलाई दुरुपयोग गर्यो । त्यसको लगाम अर्कैको हातमा गयो । त्यसैको प्रतिफल समाजमा चेतना र जागरणबाट परिवर्तन होइन कि हिंसा र बलप्रयोगबाट अस्थिरता पैदा गर्ने काम भयो, जुन मलाई मन परेको थिएन । त्यसबीचमा एमालेलाई मधेस विरोधी भनेर प्रायोजित नारा तयार गर्दै खेदियो पनि । तर, तराई मधेसको लागि एमालेले जति काम अरु कसैले गरेन ।

     म ब्यक्तिगत लाभ वा अरु आशा राखेर एमालेमा आएकी हैन । एमालेमा बसेर मधेसका माग पूरा गर्न सकिन्छ र तराई मधेसमा विकास र समृद्धि ल्याउन सकिन्छ भनेर म एमालेमा प्रवेश गरेकी हुँ । मधेसमा रातदिन आन्दोलन मात्र, हिंसा मात्र, जनता मरेको मरेकै । जनताचाहिँ मर्ने, तर लाभ पायो भने तिनै नेता नेता जो वर्षाैंसम्म मन्त्री भएर मधेसलाई गरिवीमा राखे, उनीहरुले नै पाउने । त्यसैले अव त्यो बाटो बदल्नु पर्छ भनेर म एमालेमा प्रवेश गरेँ ।

    हेर्नुस् मधेसमा जनता मर्दा पैसा दियो पुग्यो । त्यो मर्ने परिवारको के हविगत भयो कसैलाई चासो भएन । खाली आन्दोलन मात्र, हिंसा र तोडफोड मात्र । आन्दोलनका माग पूरा हुँदा पनि के पाउँछन् जनताले भन्ने स्पष्ट छैन, केही नेताले पाउलान् बेग्लै कुरा हो ।  त्यसले मधेसमा विकास हैन खति मात्र गर्यो । जनताले विकास खोजेको छ, सधैं आन्दोलन मात्र गरेर हुन्छ ? जनताले के चाहेको छ सोध्नु पर्दैन ? अनि उनीहरु त आन्दोलन गरेर तराईमा हिंसा मच्चाउन मात्र चाहन्छन् । जनता मरेको मर्यै, हामी नेता बन्ने मात्र काम हो ? मैले राजपामा बसेर जनताको चाहान पूरा गर्ने अवस्था देखिनँ, मधेसमा विकासका कार्यक्रम, बजेट दिने र समृद्धिको खाका प्रदान गर्ने एमालेबाटै मधेसको हित हुन्छ भन्ने निश्कर्ष निकालेर एमाले प्रवेश गर्ने निर्णय लिएँ । एमालेले मात्र रहेछ हिजैदेखि मधेसको हितमा काम गरेको । आज उसैले विस्तारै आफ्ना कार्यक्रम लागू पनि गर्दैछ । अहिलेलाई यति बुझ्नुस्, एमाले भन्दा बाहेक अरु दल मधेसको विकासमा संवेदनशील छैनन् ।

    कांग्रेस पनि त राष्ट्रिय पार्टी हो नि, उसले मधेसको मुद्दामा झन् राजपाजस्तै मत राख्दै आएको छ होइन र ? 
    कांग्रेस त मधेसको मामिलामा सधैं धोकेबाज पार्टी हो । आजसम्म मधेस आन्दोलनसँग जति सम्झौता भए, ती सबै कांग्रेस नेतृत्वको सरकारसँग भए र कांग्रेसले नै कुनै सम्झौता कार्यान्वयन गरेन । तर, मधेसकेन्द्रित दल जहाँ म पनि थिएँ, उनीहरुले धोकेबाज कांग्रेसलाई नजिक र मधेसको हित गर्ने एमालेलाई टाढाको ब्यवहार गरे । यसैबाट बुझ्न सकिन्छ मधेसको मित्रपार्टी एमाले हो । मधेसको हितसँग राजपा नेताहरुको स्वार्थ किन मेल खाँदैन ? किन मधेसलाई धोका दिने कांग्रेसको पछिपछि लागेका छन् यिनीहरु ? मेरो मनमा प्रश्न उठ्यो । त्यसैले मैले एमाले चुनेँ ।

    मधेसी दलका नेता जनताको राय बिना नै आन्दोलनको निर्णय गर्छन् भन्नु भयो, तपाईं यसरी एमालेमा प्रवेश गर्दा जनताको राय चाहिएन ? 
    यो मैले मात्र हैन तराईको जनताले पनि बुझिकेको छ नेकपा एमाले बाहेक कसैले पनि अब तराईमा शान्ति र  बिकास गर्नै सक्दैन । जनताको आवाज बुझेर नै म एमालेमा फिर्किएको । कति धेरैले मेरो घरैमा आएर भन्नु भएको छ, कतिले फोन मार्फत भन्नुभएको छ वास्तवमा तराईमा एमाले बिरुद्ध झूठो अफावह फैलाइएको रहेछ । हो मधेसमा एमाले बिरुद्ध गलत प्रचार गरेर त्यहाँका जनतालाई आतंकित बनाउने बाहेक अरु केही काम गरेनन् मधेसी पार्टीले । केहि केहि मधेसको नेताले फोन गरेर मलाई सोध्नु भो– किन एमालेमा गएको ? मेरो जवाफ थियो– त्यहाँ बसेर मधेसी जनताको चाहाना पूरा गर्ने हैन उनीहरुलाई आन्दोलनका नाममा लडाएर मार्ने मात्र काम भयो । तराईबासीको उत्थानको लागि लागेको म जनता मरिरहेको हेर्न सकिनँ ।

    अस्तीसम्म एमाले मधेस विरोधी हो भन्दै आउनु भयो, अब एमालेले राम्रो काम गर्यो भन्दा जनताले पत्याउलान् ?
    मैले जनतालाई भन्नु पर्ने नै छैन । पछिल्लो पटक एमालेका काम हेरेपछि त एमालेलाई हामीले मधेस विरोधी भन्दा जनताले त्यो कुरा पत्याउन छोडे । हामीले लडाईं र हिंसा मात्रै आयोजना गर्यौं, एमालेलाई मधेस विरोधी भन्यौं । एमालेले सरकारमा रहंदा मधेसका लागि यो भन्दा अघि नभएका काम गर्यो । अनि हामीले भनेको जनताले पत्याउन छोडे । अव हामीले मधेसी जनतालाई एमालेको विरोध गर्दा चाहिँ उनीहरुले पत्याउँदैनन् । राजपाका अरु नेताहरुले भनेको पनि अव जनताले पत्याउँदैनन् । मधेसको विकास एमालेले मात्र गर्न सक्छ भन्ने त्यहाँ परिसकेको छ ।

    तर, एमाले अध्यक्ष ओली मधेस विरोधी भन्ने खुव स्थापित भएको छ भन्ने समाचार सञ्चार माध्यममा आएका छन् नि त ? 
    मलाई लाग्छ, मिडिया जनतासम्म पुगेकै छैन । काठमाडौंमा बसेर एमाले विरुद्ध अभियान चलाउने र शक्तिकेन्द्र धाएर हिंड्ने केही उद्यमीहरुले भनेका कुरा लाई मधेसी जनताका कुरा भनेर प्रचार गरिरहेका छन् । म नढाँटी भन्छु, मधेसी जनताको दवावले नै म एमालेमा आएकी हुँ । हिजोसम्म हामी आन्दोलनमै थियौं । आन्दोलनको एजेण्डाले जनतालाई यस्तो दिन्छ भन्न कहिल्यै पनि नसक्ने तर सधैं ओलीले यस्तो बोल्यो भनेर मान्छेको दिमाग तात्ने कुरा मात्रै गर्यौं । मधेसीलाई हेप्यो भनेर प्रचार भयो । आफूलाई हेप्यो भनेपछि सबै संवदेनशील हुन्छन् । त्यसैगरी लहैलहैमा ओलीलाई मधेस विरोधी भनिएको रहेछ । आन्दोलनले के गर्ने भन्ने छैन, ओली मधेस विरोधी हो भन्ने, घृणा फैलाउने र हिंसात्मक काम मात्रै गर्ने भयो । यस्तो काम गरेर कतिञ्जेल बस्ने ? त्यसैले अहिले मधेसमा जागरण नै छ । तपाईं मिडियाहरुले जे ल्याउनु भएको छ जनताको कुरा त्यो होइन । म एमालेमा प्रवेश गरेपछि मधेसका केही जिल्लामा दीपावली गर्ने तयारी भइरहेको थाहा पाएकी छु । त्यो म एमालेमा आएर होइन, अव मधेसमा विकास गर्ने एजेण्डा भएको पार्टी बलियो हुने भयो भनेर हो ।

    त्यसो भए हिजो राजपामा भएर गरेको कामप्रति पछुतो लाग्दैन ? 
    त्यसमा मलाई के लाग्छ भने मान्छे भ्रममा थोरै समय मात्र रहन सक्छ । म पनि केही समय भ्रममा परेँ भन्ने स्वीकार्छु । यो भ्रममा म मात्र होइन मधेसको अधिकांश वस्ती पर्यो । अव ब्यवहारबाटै त्यो भ्रम चिरियो । मधेसमा एमाले बिरुद्ध फैलाइएको भ्रम अव बाँच्दैन । मबाट पनि गल्ती भयो, अब जनतामै गएर माफी माग्दै मधेसको विकासका लागि एमालेको एजेण्डा सफल बनाउने हो ।

    तपाईं पहिले पनि एमालेमै हुनुहुन्थ्यो, एमाले छोडेको १० बर्ष त्यसै खेर गयो जस्तो लागेन ? 
    हो साँच्चै आज पार्टी प्रवेश गर्दा मैले पहिले एमालेमा बसेर काम गरेको पुराना दिन सम्झेँ ।  जनकपुरबाट आईएको पढाई सकेर काठमाडांै आएकी थिएँ । त्यसबेला म अनेमसंघको कमिटीमा थिएँ, यही घट्टेकुलोमा । संजिता रावलको कमाण्डरमा थियो त्यो मोर्चा । धनुषा काठमाडौं सम्पर्क मंचको कोषाध्यक्ष भएर तीन कार्यकाल काम गरेँ । जनकपुर काठमाडौ सम्पर्क मंचमा पनि काम गरेँ । मुलुकमा केही सकारात्मक परिवर्तन ल्याउन मैले केही योगदान गर्न सक्छु कि भन्ने मनमा कस्तो हुटहुटी थियो । ती दिन म सम्झिरहेकी छु । म त्यसपछि मधेसकेन्द्रित दलमा लागेँ, त्यो भ्रमको उपज थियो भन्ने अहिले आएर बुझेँ । एमालेमा बसेर काम गरेको भए आज मैले मधेसका लागि बेग्लै योगदान गर्न सक्ने रहेछु  भन्ने लागेको छ । हिजो मात्र मैले केपी ओलीलाई भेटेको थिएँ । मधेसको विकासमा उहाँका दृष्टिकोण, योजना र आफूले सरकारमा हुँदा गरेका कामबारे सुनाउनु भयो । ममा पहिलेकै जस्तो सकारात्मक चिन्तन जागृत भएर आयो । म एकदमै उत्साहित छु । लडाईं झगडा, लफडागिरीको बाटो छोडेर विकासको काममा अघि बढ्छु भन्ने ईच्छाशक्ति जागृत भएर आयो ।

    एमालेले मधेसका लागि गरेको राम्रो काम चाहिँ के हो त ? 
    यो त सबैले देखेकै कुरा हो । मैले केही भन्नु पर्दैन । मधेसको विकासका लागि गतवर्ष केपी ओलीको सरकारले जस्तो कार्यक्रम बनाएर बजेट आजसम्मका कुन सरकारले दियो ? मेरो हिजोसम्मको पार्टी राजपाका नेताहरु कतिपट मन्त्री हुनु भयो ? उहाँहरुले हितैषी ठानेको कांग्रेसले कतिपटक सरकारको नेतृत्व गर्यो ? मधेसमा कसैले सिन्को भाँचे ? अनि त्यत्तिकै केपी ओलीलाई मधेस विरोधी भन्ने झूठ कतिञ्जेल भन्ने ? अहिलेका जनता कसैले भनेर पत्याउँदैनन्, कसले के गर्यो आफैं जान्ने भइसकेका छन् ।
    Credit: Chakrapath.com

    Subjects:

  • No Comment to " राजपा कोषाध्यक्ष अनिताले भनिन्ः मर्ने–मार्ने खेलले वाक्क भएर एमालेमा लागेँ "