• राप्रपालाई कांग्रेसले भाउ दिएन, उपप्रम नपाए सरकारमा नजाने थापाको अडान

    Reporter: Becoming Kishor
    Published: Wednesday, June 7, 2017
    A- A+
    काठमाण्डौं, २४ जेठ– पार्टी एकता भएको केही महिनामै विभाजनको सम्भावना बढेपछि बाध्य भएर प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णयमा पुगेको राप्रपामा मन्त्री बनाउन नयाँ किचलो सुरु भएको छ ।

    प्रधानमन्त्रीमा समर्थन जनाएको राप्रपासँग देउवाले मन्त्रीमा नाम सिफारिश गर्न अहिलेसम्म कुनै छलफल नै गरेका छैनन् । जबकि, उनले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् ।


    देउवाको मन्त्रीमण्डलमा आफ्ना तर्फ्बाट कसलाई पठाउने भनेर माओबादी केन्द्रको हेडक्वार्टर बैठक बसिरहेको छ । तर, कांग्रेसले कुनै मतलब नराखेको कारण राप्रपा भने अनिर्णित भएको छ । प्रधानमन्त्री हुनुअघि राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाको निवासमै पुगेर डिनर वार्ता गरेका देउवाले अध्यक्ष कमल थापालाई भने त्यति भाउँ दिएका छैनन् । थापा सुरुमा यो गठबन्धनमा सहभागी नहुने पक्षमा अडिग थिए । राणा, लोकेन्द्रबहादुर चन्दहरु देउवालाई समर्थन गर्दै सरकारमा सहभागी हुनुपर्ने अडानमा थिए । उपप्रधानमन्त्रीसहित सम्मानजनक उपस्थिति भए मात्र सरकारमा सहभागी हुनुपर्ने थापाको अडानमा राणाहरु बाँधक भएर उभिएका छन् । उनीहरु उपप्रधानमन्त्री नपाए पनि सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । यसको पछाडि थापालाई सरकारमा जानबाट रोक्नु रहेको राप्रपाका एक नेताले बताए । तर थापा उपप्रधानमन्त्रीको टुंगो नलागेसम्म सरकारमा नजाने अडानसहित पार्टीको बैठक बोलाएका छैनन् ।




    राप्रपा नेता दिलनाथ गिरीले भने, ‘कांग्रेसले सरकारमा हामीलाई समर्थन गर्नुस भनेपछि हामीले प्रधानमन्त्री निर्वाचनमा समर्थन गरेका हौ तर अन्य कस्तो सहयोग हो भन्नुस भन्दा पार्टीमा सल्लाह गरेर भन्छौ भनेका हुन् तर अहिलेसम्म कुनै खबर आएको छैन् । हामी अपमानित भएर सरकारमा जान्नौ ।’

    उनले उपप्रधानमन्त्रीसहित सम्मानजनक उपस्थिति नभए मन्त्री मात्र खान सरकारमा राप्रपा सहभागी नहुने प्रष्ट पारे । तर, राणाहरु भने मन्त्री मात्र पाए पनि सरकारमा जाने पक्षमा उभिँएका छन् । राणाहरु नेताका छोराहरुलाई मन्त्री बनाउने पक्षमा छन् । जसअनुसार, सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द र केशरबहादुर विष्टका छोरा बिराज विष्ट छन् । यदि पार्टी विभाजनलाई रोक्न उपप्रधानमन्त्री बिना नै सरकारमा सहभागी हुनुपर्ने बाध्यता आईपरेमा दिलनाथ गिरी। बिक्रम पाण्डे र सुनिल थापा मन्त्री बन्न सक्ने सम्भावना छ ।


    राष्ट्रिय अध्यक्ष राणा प्रजातान्त्रिक समीकरणको नाममा देउवा सरकारमा सहभागी हुनैपर्ने अडानमा रहनुका कारण देउवा नातामा उनको ज्वाँई पर्नेभएकोले हो ।
    संसदमा ३६ सिट भएको चौथो ठूलो दल राप्रपालाई कांग्रेसले त्यति महत्व दिएको छैन् जति १७ सिट भएको गच्छदारको नेपाल लोकतान्त्रिक फोरमलाई दिएको छ । -chakrapath

    Subjects:

  • No Comment to " राप्रपालाई कांग्रेसले भाउ दिएन, उपप्रम नपाए सरकारमा नजाने थापाको अडान "