• मतपत्र च्यातेर निर्वाचन कसुर गर्नेकै पक्षमा निर्वाचन आयोगको निर्णय

    Reporter: Becoming Kishor
    Published: Saturday, June 3, 2017
    A- A+
    काठमाडौं, २० जेठ– निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने माओवादी उम्मेदवार रेणु दाहाल पक्षको योजनालाई नै साथ दिंदै भरतपुर–१९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । जनदवावका बाबजूद एकसाता लामो आलटाल गरेर आयोगले माओवादी उम्मेदवार तथा प्रधानमन्त्री पुत्री रेणुको मतपत्र च्याती पुन मतदान गराउने योजनालाई साथ दिएको हो ।



    आयोगको निर्णयपछि कानुनी प्रावधान हेरी मतपत्र च्यात्ने र पुन मतदानका लागि निर्वाचन आयोगलाई दवाव दिने सरकारको कदमले सफलता पाएको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी नै खारेज गर्नेसम्मको अधिकार पाएको निर्वाचन आयोगले प्रधानमन्त्री दाहालकी छोरी रेणुको मतपत्र च्यात्ने कामलाई पुरस्कृत गरेको छ ।

    मत गणनाको अन्तिम चरणमा पुगेर हार्ने निश्चित भएपछि पुन मतदान मार्फत जित्ने नियोजित उद्धेश्य पूरा गर्न माओवादीले मतपत्र च्यातेको थियो । मतपत्र च्याते लगत्तै माओवादीले पुन मतदानका गर्न निर्वाचन आयोगलाई दवाव दिएको थियो । अहिलेसम्मको मतगणनामा अग्रस्थानमा रहेका एमाले उम्मेदवार देवी ज्ञवालीले भने च्यातिएका मत बदर गरी बाँकी मतगणना गर्नु पर्ने माग गर्दै आएका थिए ।

    मतपत्र च्यात्ने, मतपत्र च्यातेपछि भरतपुरका निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई पुन मतदानका लागि कानुनी बाटो खुल्नेगरी प्रतिवेदन तयार गर्न लगाउने र निर्वाचन आयोगलाई पुन मतदानको दवाव दिन लगाउने काममा महान्याधिवक्ता रमण श्रेष्ठ सक्रिय थिए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव स्वयंलाई पनि प्रधानमन्त्री दाहालले बारम्बार बोलाएर पुन मतदानका लागि दवाव दिएका थिए ।

    निर्वाचन अघि देखि नै स्वतन्त्र आयोगको हैसियत गुमाएर प्रधानमन्त्रीको निजी सचिवालयको लाचार छायाँ जस्तो बन्दै आएको निर्वाचन आयोगले निर्वाचन अपराध गरेको प्रमाणित भएको पक्ष लिएको छ ।

    निर्वाचन आयोगको निर्णय एमालेलाई अस्वीकार्य

    भरतपुरको निर्वाचन अपराध काण्डमा निर्वाचन आयोगले पुनः मतदान गर्न गरेको निर्णय प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्वीकार गरेको छ ।
    एमाले स्थायी समितिको शनिबार बसेको बैठकले आयोगको निर्णय स्वीकार्य नभएको जनाएको छ ।

    एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले बैठकको निर्णयबारे भने, ‘निर्वाचनको स्थापित मूल्य मान्यता विपरित भरतपुरमा मतपत्र च्यातेर निर्वाचन अपराध गरेका अपराधीहरुलाई नै प्रोत्साहित गर्ने काम निर्वाचन आयोगको निर्णयबाट भएको छ । यो एमालेलाई स्वीकार्य छैन।’


    स्थायी समिति बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदै एमाले अध्यक्ष केपी ओलीले पनि आयोगको निर्णय अस्वीकार्य भएको बताए । उनले भने, ‘यस्तै गर्ने हो भने किन निर्वाचन गर्नुपर्यो । आयोगले आफुखुसी मन लागेकालाई जिताईदिए भयो नि ?’
  • No Comment to " मतपत्र च्यातेर निर्वाचन कसुर गर्नेकै पक्षमा निर्वाचन आयोगको निर्णय "