• मिनेन्द्रको घरमा बसेको कांग्रेस बैठकको निश्कर्षः प्रदेश २ मा एमालेले जित्छ, दोस्रोमा उपेन्द्र

    Reporter: Becoming Kishor
    Published: Wednesday, June 14, 2017
    A- A+
    काठमाडौं, ३१ जेठ– सरकारले राजपालाई देखाएर स्थानीय तहको दोस्रो चरणको चुनाव टार्न खोजे पनि सत्तारुढ कांग्रेस भने आफ्नै पार्टीको मंगलवार भएको आन्तरिक ब्रिफिङपछि चुनावमा नजाने भित्री निश्कर्षमा पुगेको तथ्य खुलेको छ । मंगलवार बिहान कांग्रेस नेता मिनेन्द्र रिजालको मध्यबानेश्वरस्थित निवासमा बसेको तराईबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकमा समग्र तराई क्षेत्रको चुनावी नतिजा आकलन गरिएको थियो ।



    रिजालको निवासमा भएको बैठकमा पूर्व गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रमेश रिजाल, महेन्द्र यादव, रामसरोज यादव, फर्मुल्लाह मन्सुर, पदमनारायण चौधरी लगायतका नेताहरु थिए । उनीहरुको बैठकमा तराई मधेसका विभिन्न जिल्लाको सम्भावित चुनावी परिणामबारे छलफल भएको थियो । जसअनुसार २ नम्बर प्रदेशमा पनि एमाले पहिलो र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम दोस्रो हुने आकलन प्रस्तुत भएको थियो ।

    ‘राजमार्ग क्षेत्रमा एमालेले एकलौटी स्वीपआउट गर्छ, भित्री सहरहरुमा पनि अहिले एमालेकै पक्षमा स्थिति अनुकुल देखिन थाल्यो’ बैठकमा कांग्रेस नेता फर्मुल्लाह मन्सुरको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मधेसको माग सम्बोधन भएको केही न केही म्यासेज बिना नै अहिले चुनाव गर्ने हो भने कांग्रेसको हालत तेस्रोमा पुग्छ, त्यसैले जसरी पनि चुनाव रोक्नु पर्छ ।’

    बैठकमा पदमनारायण चौधरीले राजपाले चुनावमा भाग लिए पनि उसको अवस्था दयनीय हुने रिपोर्ट प्रस्तुत गरे । उनले राजमार्ग क्षेत्रमा पहाडे समुदायको घना बस्ती भएकाले त्यहाँबाट एमालेले एकलौटी रुपमा जित्ने र बीरगंञ्ज, जनकपुर, विराटनगर, गौर, मलंगवा, लाहान, राजविराज जस्ता सहरमा पनि कांग्रेसले जित्न सक्ने स्थिति नरहेको वताए ।

    ‘लाहान र सिराहका अरु सबै नगरपालिकामा एमालेले कसैले नसोचेको नतिजा ल्याउँदैछ, त्यसै एमाले मधेस विरोधी भनेर कराएर मात्रै हुँदैन’ चौधरीले भने, ‘सप्तरीमा पनि केही मान्छेहरुलाई एमालेले चोर्यो, अव राजविराज पनि एमालेले नै लौजाने अवस्था भो ।’ नेता बिमलेन्द्र निधिले पनि बीरगञ्ज, जनकपुर र गौरमा यसपटक जित्न नसकिने अनुमान प्रस्तुत गरे । उनीहरुले राजपा चुनावमा नआउने अवस्थामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले बलियो उपस्थिति जनाउने निक्र्याेल निकालेका थिए ।

    तराई मधेसबाट प्रतिनिधित्व गर्ने केही सांसदहरुको समेत सहभागि भएको उक्त बैठकले पार्टीको कार्यसम्पादन समितिको बैठकमा चुनाव सार्ने सम्बन्धी प्रस्ताव लैजाने निर्णय गरेका थिए । भेलाको निश्कर्ष अनुरुप मंगलवार दिउसो भएको कार्यसम्पादन समितिको बैठकमा बिमलेन्द्र निधिले प्रदेश नम्बर २ र ५ को चुनाव सार्न प्रस्ताव राखेका थिए । -From Chakrapath

    Subjects:

  • No Comment to " मिनेन्द्रको घरमा बसेको कांग्रेस बैठकको निश्कर्षः प्रदेश २ मा एमालेले जित्छ, दोस्रोमा उपेन्द्र "