• नागरिक अगुवाको अपिलः छोरी होइन लोकतान्त्रिक पद्दति जिताउ, भरतपुरमा मतगणना गर

    Reporter: Becoming Kishor
    Published: Monday, June 5, 2017
    A- A+
    काठमाडौं, २२ जेठ– विभिन्न पेशामा आवद्ध नागरिक समाजका २० जना अगुवाहरुले भरतपुर महानगरपालिका–१९ मा पुन मतदानको निर्णय सच्याई मतगणना अघि बढाउन आग्रह गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी उनीहरुले कुनै उम्मेदवारलाई जिताउने मनसायपूर्वक पुनः मतदान गरे लोकतान्त्रिक पद्दति पराजित हुने उल्लेख गरेका छन् ।



    सत्ताको दवावमा परेर निर्वाचन आयोगले यस्तो निर्णय गरेको स्पष्ट पार्दै उनीहरुले कुनै अमुक उम्मेदवारलाई नभएर लोकतान्त्रिक पद्दतिलाई जिताउन मतगणना गर्नु पर्ने जनाएका हुन् । ‘दबाब र बाध्यतामा परेर निर्वाचन आयोगले गर्नुपरेको दुषित निर्णयको कारण सधैं देशले हारिरहने छ र अपराधकर्मले जितिरहने स्थिति आउनेछ’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो अवस्था आउन नदिनका लागि राष्ट्रलाई माया गर्ने चेतनशील बौद्धिक वर्ग, पत्रकारहरु, सत्तागठवन्धन पार्टीहरु र सरकारले समेत पहल गरी उक्त निर्णय फिर्ता लिन लगाएर भरतपुरको मतगणना कार्यलाई यथाशीघ्र सुरु गराई नागरिकको अमूल्य मत र व्यबस्थाको जितको सुनिश्चित गर्न  हामी नागरिकको तर्फबाट सरकार र निर्वाचन आयोगसँग जोडदार अपिल गर्दछौं ।’

    विज्ञप्तिमा लेखक तथा विश्लेषक आनन्दराम पौडेल, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, पूर्व सचिव तथा नागरिक अभियन्ता डा.द्वारिकानाथ ढुंगेल, सीमाविद तथा जलस्रोतविद रतन भण्डारी, कानुनविद डा.युवराज संग्र्रौला, राष्ट्रिय अभियन्ता साध्यबहादुर भण्डारी, विश्लेषक भरत दाहाल, अन्तर्राष्ट्रिय सम्बन्धविज्ञ हरि चन्द ‘अग्नीपुञ्ज’, जलस्रोतविद रत्नसंसार श्रेष्ठ, प्राध्यापक भूवप्रसाद त्रिपाठी, अन्तर्राष्ट्रिय मामला विश्लेषक पुण्य गौतम ‘विश्वास’, वरिष्ठ पत्रकार प्रेम कैदी, ध्रुवहरि अधिकारी, कमल कोइराला, द्वन्द्व विशेषज्ञ डा.विष्णुराज उप्रेती, कानुनविद तथा प्राध्यापक डा.नीलमकुमार शर्मा,  रामप्रसाद श्रेष्ठ, डा.अतीन्द्र दाहाल, चिकित्सक प्राध्यापक डा.रामप्रसाद उप्रेती र राज्यसंरचनाविद डा. विनोद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

    प्रेस–विज्ञप्ति
    भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुग्दैगर्दा गत जेठ १४ गते राति करिब ११स्५० बजे दुर्भाग्यपूर्ण तरिकाले माओवादी केन्द्रका द्रोण शिवाकोटी र मधु न्यौपाने लगायतका प्रतिनिधिहरुले ९० मतपत्र च्यातेको घटना राष्ट्रिय लज्जाको बिषय बनेको छ । लोकतान्त्रिक पद्दतिमा  जनताको अभिमतको सम्मान गर्नुपर्ने राजनीतिक दलहरुले जनताकै अमूल्य मत च्यात्नु नागरिकको मत र लोकतान्त्रिक व्यवस्थामाथि नै गम्भीर प्रहार हो ।
    लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत पाएर जुनसुकै नागरिक पनि विजयी हुन सक्छ । एउटा सामान्य नागरिकले शक्तिशाली र शक्तिकेन्द्रका मानिसहरुलाई पनि हराउन सक्छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । तर भरतपुरमा जसरि प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन जुन कुत्सित षडयन्त्र गरियो, यसले स्वयम् प्रधानमन्त्रीज्यूलाई नै गिज्याइरहेको छ  ।

    नेपालको सवैभन्दा पुरानो प्रजातान्त्रिक दल र इतिहासमा कैयौंपटक आन्दोलन गरेको पार्टी नेपाली कांग्रेसले समेत उक्त मतपत्र च्यात्ने माओवादी केन्द्रको अलोकतान्त्रिक, षडयन्त्रमूलक र अपराधिक कर्मलाई समर्थन गर्नुले आम सचेत नागरिकलाई मात्र होइन, स्वयम कांग्रेसकै नेता–कार्यकर्ताहरुलाई लज्जावोध भैरहेको यथार्थ स्थिति छ ।

     अधिकारवादी संस्थाहरु र मानवअधिकारकर्मीहरुको प्रतिवेदन, चितवनका एस.पी. दिपक थापाको यथार्थ बयान, मतदाताहरुको ब्यापक दबाब र खराब नजिर बस्ने खतराका बावजुद पनि निर्वाचन आयोगले अपराधीहरुलाई पुरष्कृत गर्ने र आम मतदातालाई दण्ड दिनेगरी पुनः मतदानको निर्णय गर्नु दुर्भाग्यपूर्ण र खेदजनक नै हो । कुनै ब्यक्तिको हार–जीत तपसीलको बिषय हो तर आयोगको खराब निर्णयले निश्पक्ष, विश्वसनीय, शान्तिपूर्ण र धाँधलीरहीत निर्वाचन सम्पन्न गर्ने आयोगकै आगामी जिम्मेवारी, कर्तव्य र दायित्वमाथि ब्यापक सङ्कट पैदा हुनेछ ।

    बालुवाटार र सिंहदरबारका प्रिय सुपुत्री–सुपुत्रहरुले हार्न सक्छन् तर व्यवस्थाले जित्नुपर्छ । कानुनका ब्याख्याताहरुले हार्न सक्छन् तर न्यायले जित्नुपर्छ । निर्णय गर्नेहरुले आफू हारेर भए पनि न्याय पार्नु पर्छ । शक्ति र सत्ताले हार्न सक्छ तर राष्ट्र र जनताले जित्नुपर्छ । भरतपुरको एउटा वडाको कारण सिंगो देशको राजनीति प्रभावित हुनुहुँदैन । दबाब र बाध्यतामा परेर निर्वाचन आयोगले गर्नुपरेको दुषित निर्णयको कारण सधैं देशले हारिरहने छ र अपराधकर्मले जितिरहने स्थिति आउनेछ । यस्तो अवस्था आउन नदिनका लागि राष्ट्रलाई माया गर्ने चेतनशील बौद्धिक वर्ग, पत्रकारहरु, सत्तागठवन्धन पार्टीहरु र सरकारले समेत पहल गरी उक्त निर्णय फिर्ता लिन लगाएर भरतपुरको मतगणना कार्यलाई यथाशीघ्र सुरु गराई नागरिकको अमूल्य मत र व्यबस्थाको जितको सुनिश्चित गर्न  हामी नागरिकको तर्फबाट सरकार र निर्वाचन आयोगसँग जोडदार अपिल गर्दछौं ।

    १ आनन्दराम पौडेल, लेखक, विश्लेषक
    २ हिरण्यलाल श्रेष्ठ,  अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिविज्ञ
    ३ डा.द्वारिकानाथ ढुंगेल, पूर्वसचिव, नागरिक अभियन्ता
    ४ रतन भण्डारी, सीमा र जलश्रोतका रिसर्च–स्कलर
    ५ डा.युवराज संग्रौला, कानुनविद, राष्ट्रियता स्कलर
    ६ साध्यबहादुर भण्डारी, राष्ट्रवादी अभियन्ता
    ७ भरत दाहाल, विश्लेषक, राष्ट्रवादी अभियन्ता
    ८ हरि चन्द ‘अग्नीपुञ्ज’, अन्तर्राष्ट्रिय सम्वन्धका जानकार
    ९ रत्नसंसार श्रेष्ठ, जलश्रोतविद
    १० डा.भूवप्रसाद त्रिपाठी, प्रोफेसर
    ११ पुण्य गौतम ‘विश्वास’, अन्तर्राष्ट्रिय मामलाका विश्लेषक
    १२ प्रेम कैदी,  वरिष्ठ पत्रकार, राष्ट्रवादी अभियन्ता
    १३ ध्रुवहरि अधिकारी,  वरिष्ठ पत्रकार
    १४ कमल कोइराला,  वरिष्ठ स्तम्भलेखक
    १५ डा.विष्णुराज उप्रेती,  द्वन्द्व विशेषज्ञ
    १६ डा.नीलमकुमार शर्मा, प्रोफेसर
    १७ रामप्रसाद श्रेष्ठ, कानुनविद, प्राध्यापक
    १८ डा.अतीन्द्र दाहाल, प्राध्यापक
    १९ डा.रामप्रसाद उप्रेती, चिकित्सक, प्राध्यापक
    २० डा. विनोद न्यौपाने, राज्यसंरचनाविद
    -Chakrapath

    Subjects:

  • No Comment to " नागरिक अगुवाको अपिलः छोरी होइन लोकतान्त्रिक पद्दति जिताउ, भरतपुरमा मतगणना गर "