• तीन प्रदेशका ३५ जिल्लामा उम्मेदवारी दर्ताः कतै झडप त कतै नाचगान, कहाँ के भयो थाहा पाउनुस्

    Reporter: Becoming Kishor
    Published: Sunday, June 18, 2017
    A- A+
    काठमाडौं : दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि ३५ जिल्लाका ३३४ स्थानीय तहमा आइतबार उम्मेदवारी मनोनयन दर्ता भएको छ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित ढङ्गबाट मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

    Photo: Thahakhabar

    दोस्रो चरणको निर्वाचन कार्यतालिकाअनुसार सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने र मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने छ। यस्तै मंगलबार उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। असार १४ गते मतदानको दिन हो। दोस्रो चरणको निर्वाचनमा एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिमा जनप्रतिनिधि चयनका लागि मनोनयनपत्र दर्ता भएको हो।

    असार १४ गते हुने दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन्। असार १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन्। यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन्। मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन्।

    नेपालको संविधानले व्यवस्था गरेबमोजिम ७४४ वटा स्थानीय तहमध्ये पहिलो चरणमा गत वैशाख ३१ गते आइतबार प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ। पहिलो चरणअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका बाहेक २८२ स्थानीय तहको निर्वाचनको परिणामसमेत आइसकेको छ। निर्वाचन आयोग असार १४ गते प्रदेश १, २, ५ र ७ का ४३ जिल्लाका ४६१ स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारेको थियो।

    प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेका लागि सरेको छ। दोस्रो चरणको निर्वाचनअन्तर्गत असार २ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम भए पनि आयोगले सरकारको आग्रहमा मनोनयन दुई दिन सारेको थियो।

    दिनभर कहाँ के भयो? लाइभ अपडेटको रियल टाइम हाइलाइट्स हेर्नुस्

    प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा उम्मेदवारी दर्ता उत्साहजनक
    झापामा निर्वाचनविरोधी गतिविधि गरेको भन्दै ‘विप्लव’का चार कार्यकर्ता पक्राउ
    दार्चुलामा एमाले र कांग्रेस कार्यकर्ताबीचको झडपमा १५ घाइते
    मनोनयनका क्रममा बाजुरामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु
    बाँकेमा एमाले र माअोवादीबीच झडप, दुई घाइते
    एमाले अध्यक्ष ओलीको गृहनगरमा १५ जना प्रमुखका प्रतिस्पर्धी
    बुटवलमा यस्तो देखियो मनोनयन दर्ता गर्दा दलहरुको तामझाम,
    विराटनगर महानगरमा १४ जना प्रमुख र १० जना उपप्रमुखमा प्रतिस्पर्धी
    रामग्राम नगरपालिका प्रमुखमा तेस्रो लिंगीको उम्मेदवारी
    उदयपुरमा चर्को घामको परवाह नगरी यसरी भयो मनोनय दर्ता,
    खाँदबारी नगरपालिका प्रमुखमा जीवनाथ खनालले दिए स्वतन्त्र उम्मेदवारी
    मतदाता नामावलीमा नाम नभेटिएपछि एमालेले फेर्‍यो उपप्रमुखको उम्मेदवार​
    कपिलवस्तुमा राजपाका नेताले दिए नगर प्रमुखमा उम्मेदवारी
    रोल्पाको थबाङमा विप्लवको पार्टीले दियो उम्मेदवारी
    सोलुखुम्बुमा मनोनयन दर्ता गर्न हिँडेका कांग्रेस कार्यकर्ता बाटैबाट कब्जामा
    गुल्मीका १२ वटै स्थानीय तहमा बाजागाजासहित मनोनयन दर्ता

    Subjects:

  • No Comment to " तीन प्रदेशका ३५ जिल्लामा उम्मेदवारी दर्ताः कतै झडप त कतै नाचगान, कहाँ के भयो थाहा पाउनुस् "