• हामीले रेल्वे खोल्न बजेट छुट्याएपछि अरु बल्ल घोषणापत्रमा रेलको चित्र छाप्छन्– ओली

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 20, 2017
    A- A+
    झापा– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग नीतिगत टक्कर लिने कुनै शक्ति नभएको वताएका छन् । गृहजिल्ला झापाका चुनावी कार्यक्रममा सक्रिय रहेका ओलीले एमालेका एजेण्डाको विरोध गर्नु र फेरि त्यसैको नक्कल गरेर घोषणा पत्र छाप्ने वाध्यतामा अन्य पार्टीहरु रहेको ओलीले वताए ।



    दमक चोकमा दिउसो भएको बृहद जनसभालाई सम्बोधन गर्दै ओलीले स्थानीय विकास निर्माण सम्बन्धी पार्टीका योजना प्रस्तुत गरे । उनले झापामा नदि नियन्त्रण, सुकुम्बासी समस्या समाधान लगायतका विषयमा एमालेका योजना अघि सारे ।

    आफूले नेतृत्व गरेको एमाले सरकारले हुलाकीमार्गका लागि ४ अर्व २० करोड छुट्याएको र त्यसले स्थानीय सडकको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने वताए । ओलाङचुङ्गोला र किमाथाङकाबाट चीन जोड्ने सडक बन्ने र त्यसले अन्तराष्ट्रिय पारवहन क्षमता विस्तार गर्ने पनि वताए ।

    ‘नीतिमा हामीसँग टक्कर लिने कुनै शक्ति वा पार्टी छैन, हामीले देशलाई आन्तरिक र बाह्य रेल सञ्जालले जोड्ने कार्यक्रम ल्यायौं’ ओलीले भने, ‘त्यसको खपिनसक्नुगरी विरोध गरे । पछि यो त नगरी नहुने रहेछ भन्ने लागेर अरु पनि भन्नका लागि रेल भन्न थाले ।’ उनले देशमा लोकतन्त्र, राष्ट्रिय एकता र समृद्धि नचाहिने भए मात्र एमाले नचाहिने तर्क गरे ।

    ‘हामीलाई लोकतन्त्र चाहिन्छ, राष्ट्रिय एकता चाहिन्छ  र समृद्धि चाहिन्छ, यदि यी कुरा चाहिन्छ भने एमाले चाहिन्छ’ ओलीले भने, ‘यो सबै चाहिंदैन भने त अरु पार्टी छंदैछन् ।’ उनले कसरी सरकार चलाउनु पर्छ भन्ने कुरा एमालेको सरकारले देखाएको वताए । ‘सरकार कसरी चलाउनु पर्छ, कसरी देशको स्वाभीमान बचाउनु पर्छ र कसरी समृद्धितर्फको यात्रा अघि बढाउनु पर्छ त्यो एमालेले देखाएको छ’ ओलीले भने, ‘अरुले कसरी देश चलाउँछन्, कसको आदेश मान्छन्, कसका लागि के गर्छन् त्यो पनि देखिएको छ ।’

    एमालेको मुख्य पहलकदमीमा राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्म महिलाको प्रतिनिधित्व पुरुष सरह नै भएको ओलीले दृष्टान्त प्रस्तुत गरे । ‘राष्ट्रपति देखि वडा तहसम्म महिलाको प्रतिनिधित्वका लागि हामीले गरेको नीतिगत पहलकदमी संसारकै लागि नयँ शिक्षा हो’ ओलीले भने, ‘अमेरिकाले यस्तो गर्न सकेको भए हामीलाई कति उपदेश दिने थियो होला ?’ स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमालेले ४५ प्रतिशत सिट जितेको र धेरै ठूलो जनसंख्या भएका महानगर, उपमहानगर र नगरपालिकाहरु एमालेले जितेको वताउँदै ओलीले दोस्रो चरणको निर्वाचनबाट ६५ प्रतिशत पुर्याउने दावी गरे । स्थानीय तह विकासको मेरुदण्ड भएकाले विकास गर्नै दृष्टिकोण भएको एमालेले जित्नु पर्ने ओलीको भनाई थियो ।

    मंगलवार बिहानै दमकका तीन ठाउँमा भएका कोणसभालाई सम्बोधन गरेका ओलीले दिउसो दमकचोकमा हुने बृहद सभालाई सम्बोधन गर्दैछन् । आजै उनी कमल गाउँपालिकाको चुनावी कार्यक्रममा सहभागि हुनेछन् ।

    Subjects:

  • No Comment to " हामीले रेल्वे खोल्न बजेट छुट्याएपछि अरु बल्ल घोषणापत्रमा रेलको चित्र छाप्छन्– ओली "