• ओलीले भनेः असार १४ गतेपछि कांग्रेस माओवादीलाई झन् भोट च्यातौं च्यातौं लाग्छ (भिडियो )

    Reporter: Becoming Kishor
    Published: Friday, June 16, 2017
    A- A+
    काठमाडौं, २ असार– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजपालाई देखाउँदै अन्त कतै गरेको कबुलियतनामा पूरा गर्न २ नम्बर प्रदेशको चुनाव सारेको वताएका छन् । एमालेको कानुन विभागले शुक्रवार पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजपा चुनावमा आउला भन्ने डरले सत्तारुढ कांग्रेसले आफ्ना त्यस क्षेत्रका सांसदहरुलाई समेत बोलाएर चुनाव सार्ने तारतम्य बनाएको वताए ।

    ‘उहाँहरुले अन्तै कतै गरेको कबुलियतनामा कार्यान्वयन गर्न चुनाव सार्ने यो तमासा गर्नु भयो, राजपा अगाडि सारिएको मात्रै हो । कांग्रेसले त्यहाँका सांसद झिकायो, सार्नु पर्छ भन भन्यो, निवेदन हाल्न लगायो’ ओलीले भने, ‘राजपाले भाग लिन्छ कि भनेर उहाँह डराईरहनु भएको थियो । अरुका निम्ति होइन कांग्रेसका निम्ति चुनाव सार्नु परेको थियो ।’

    ओलीले २ नम्बर प्रदेशको चुनाव असोजमा पुर्याए पनि कांग्रेस र माओवादी मन नलागे पनि असार १४ गतेको चुनाव गर्न वाध्य भएको वताए । सत्तामै बसेर पहिलो चरणमा गरेको चुनावमा जनताले दिएको मत सत्तारुरढ दलहरुले हेर्न नसकेर च्यातेको वताउँदै ओलीले असार १४ गते जनताले दिने मत पनि उनीहरुले हेर्नै नसक्ने दावी गरे ।

    ‘बैशाख ३१ गते जनताले दिएको मत उहाँहरुले हेर्न सक्नु भएन’ ओलीले भने, ‘असार १४ गतेको चुनावपछि पनि मतपत्र देख्दा तिनलाई रिस उठ्छ । मतपत्र च्यातौं च्यातौं लाग्छ  । तर, मतपत्र च्यातेर सधैं चल्ने भए आजसम्म तानाशाहरु नै हुन्थे संसारमा ।’

    कार्यक्रममा ओलीको भाषणका हाइलाइट्स

    फेबर मागेका होइनौं 
    निर्वाचन प्रणाली र लोकतन्त्रमाथि अहिले प्रहार भइरहंदा हामीले भनेका कुरा अहिले केहीलाई हामीले आफ्ना लागि मदत मागेको जस्तो लागेको होला । तर, हामीले प्रहरी प्रशासनसँग र निर्वाचन आयोगसँग हाम्रो फेवरमा यसो गरिदिनु पर्यो भनेर मदत मागेका होइनौं, कानुन अनुसार गर भनेर न्याय मागेका हौं । कानुनको हुर्मत लिइएको छ । राज्यका अंगहरुलाई कमजोर बनाउने र नियन्त्रणमा लिने काम गरिरहेका छन् । सर्वाेच्च अदालतलाई स्वतन्त्र न्यायालयको सिद्धान्तमा चल्न नदिन र तर्साउन महाभियोग लगाउने काम गरे । राज्यका अंगको मर्यादाको रक्षा गर्ने काम सरकारको हो तर, सरकारबाटै हमला हुन्छ । हामीले न्याय होस् भनेका हौं, लोकतान्त्रिक प्रणाली जोगाउँ भनेका हौं ।

    कालो कुकुर काटेर खाएजस्तो
    भरतपुरमा मतपत्र च्यातिएको मुद्दा उच्च न्यायालयमा छ । कानुनको दफा हेरेर सत्तापक्षले मतपत्र च्यात्यो । अनुकुल निर्णय गराउन निर्वाचन आयोगलाई ६ दिन सम्म ङ्याकेको ङ्याकै गरेर, थिचेको थिच्यै गरियो ।  पुन मतदानको निर्णय गर्न वाध्य बनाइयो । यत्रो तीन तीनवटा निर्वाचन गर्नु छ । निर्वाचन आयोग निरिह भएर कार्यपालिकाको आदेश मान्न वाध्य छ । पहिले एउटा राजाकहाँ कुकुर काटेर खाएको मुद्दा आएछ । राजाले कुकुर काटेर खानु त अपराध हो भनेर फैसला दिएछन् । पछि कसले कुकुर काटेर खाए भन्ने सोधीखोजी भएछ । कुकुर काटेर खाने त भाइ छोरा पो परेछन् । अनि राजाले अहिलेका महान्यायाधिवक्ताजस्ता एकजना महान्यायाधिवक्ता बोलाएछन् । महान्यायाधिवक्ताले सोधेछन्–कुकुरको रंग कस्तो थियो ? सबैले कालो रंगको कुकुर थियो भनेछन् । महान्यायाधिवक्ताले कालो चाहिँ रंगको भए खाए हुन्छ है भनेर निर्णय गरेछन् । भरतपुरमा त्यस्तै भयो । त्यहाँ त झन् पहिल्यै योजना बनाएर मतपत्र च्यातिएको थियो ।

    अघि शम्भु थापाले ०६४ सालको चुनावमा भोट कम आएको देख्दा मतपत्र देखि रिस उठेको थियो भन्नु भयो । त्यो बेलाको निर्वाचनमा विचरा मतपत्रहरु मतदाताका हातबाट छाप लगाइएका थिएनन् । अहिले त मतपत्रमा मतदाताले मत हाले, सत्तासीनहरुले त्यो देख्न सकेनन् । अनि मतपत्र च्यात्ने योजना बन्यो । त्यसै बेला मुख्य निर्वाचन अधिकृत शौचालय पस्नु भयो । किन पस्नु भयो भने उहाँले कसले च्यातेको देख्नेगरी च्यात्नु भएन । अरुले त्यही बेला च्याते । च्यात्नेलाई पनि समस्या थियो निर्वाचन अधिकृतले देख्नेगरी च्यात्नु भएन । निर्वाचन अधिकृतलाई शौचालय रणभूमीतुल्य भयो, मतगणनास्थल होइन । अनि एक हप्तासम्म तान चल्यो, तानमा ओहोर दोहोर गरेजस्तै । सबैले देखेकै छन् यो किन भयो ?

    अहिलेका लागि भरतपुर हारिन्छ कि जितिन्छ ठूलो कुरा होइन । सम्मानित सर्वाेच्च अदालतमा मुद्दा छ । ठूलो कुरा के हो भने को उठेको ठाउँमा जित्न नपाउने ? निर्वाचन पद्दति र लोकतन्त्र बचाउने कि नबचाउने ?

    खुद्रा चलाखी 
    अहिले चुनाव सार्न कस्ता कस्ता खुद्रा चलाखी भए देखिएकै छ । खुद्रा चलाखी छ । पर्सीको चुनाव अझै सार्ने चलाखी हुन्छ । एमाले यति चलाखी बुझ्छ । चलाखी गर्नेहरुले गरे हुन्छ । एमालेले देशका लागि के गर्नु पर्छ गर्छ ।

    दोलखामा सत्तारुढ दलले बुथ कब्जा भएको भिडियो सार्वजनिक भएको छ । त्यहाँ आयोग चुनाव दोहोर्याउँदैन । भिडियो हेदाए मिलाएर भोट हाल भन्छ, एउटा पट्याउ भन्छ, अर्काे छाप लगाउ भन्छ । सबै देखिएको छ । त्यहाँ पनि निर्वाचन आयोग थियो होला नि ? भरतपुरमा देश दुनियाँको ध्यान छ । अपराध भएको छ । कसले च्यात्यो किन च्यात्यो सबैलाई थाहा छ । किन ? एकजना नातेदार, एकजना ब्यक्तिका लागि यो भयो । यस्तो तमासा छ । झण्डै भइसकेको परिणाम घोषणा गर्न मतगणना नगरेर तुरुन्त मतगणना रोक्नुस् भन्ने आदेश जान्छ । दोलखामा त्यस्तो आदेश जाँदैन । यहाँ न्यायको प्रश्न छ । लोकतान्त्रिक प्रणालीले न्याय पाउँछ कि पाउँदैन भन्ने प्रश्न छ ।

    ललितपुरमा एमालेको आएको मत भन्दा कम लेखियो । यस्तो गर्नु भएन भन्दा तपाईंहरु जाने भए जानुस्, मत गणना हुन्छ भनिएको छ । फरक फरक ठाउँमा फरक फरक आदेश छन् । निर्वाचनमा लोकतान्त्रिक प्रणाली कमजोर पार्न यस्तो दुरुपयोग गरिएको छ ।

    बार बोल्दैन
    सरकारी तनाखा खाएर, सरकारी ओहोदामा बसेर कानुनी क्षेत्रको गरिमा र मर्यादामाथि हमला गर्ने काम महान्यायाधिवक्ताबाट भइरहेको छ । सर्वाेच्चका न्यायाधीशमाथि हमला हुन्छ, बार न्यायिक स्वतन्त्रताका पक्षमा बोल्दैन । एउटा योग्यता नपुगेको कर्मचारी पुग्न नहुने ठाउँमा पुग्छ । त्यसमाथि महाभियोग लाग्दा महान्यायाधिवक्ता छट्पटाएर पुग्न नहुने ठाउँमा पुग्छन्, बारका अध्यक्ष पुग्न नहुने ठाउँमा पुग्छन् । कानुनी राजको यस्तो हुर्मत लिइएको छ ।

    प्रधानमन्त्री अघि अघि आयोग पछि पछि 
    माघ ७ अगावै तीनै चरणका चुनाव गर्नु पर्ने छ । यो गत मंसिरमा हुनु पर्ने निर्वाचन आउने असोजमा पुरर्याइसकिएको छ । स्थानीय तह पुनर्संचरना आयोगले प्रतिवेदन नबुझाओस् भनेर प्रधानमन्त्रीले टीओआर परिवर्तन गरिदिए । अल्मल्याउन यस्तो गरियो । त्यसपछि आयोगले प्रतिवेदन ल्यायो । तीन महिनासम्म त प्रतिवेदन बुझाउन आयोग प्रधानमन्त्रीलाई लेखेट्छ । प्रधानन्त्री अघि अघि भागेको छ आयोग पछिपछि प्रतिवेदन बुझाउन लखेट्छ । कहिले नयाँ टीओआर दिने र अल्झाईदिने, कहिले प्रतिवेदन नबुझ्ने । अहिले चुनाव हुन नदिन र अल्झाउन राजपालाई अघि सारिएको छ । राजपाले चुनाव सार्ने सहमति हाम्रो होइन भनेको छ । राजपाले नभनेर हुन्छ ? आफ्नै भित्रबाट सांसद झिकाएर दवाव दिएर भए पनि सार्नु पर्यो भनेर लागे । जसरी हुन्छ देशलाई विभाजन गर्ने आधार खडा गर्ने प्रयास छ । पहिले ५ नम्बर प्रदेशलाई टुक्र्याउने योजना थियो । त्यो बाटोबाट सकिएन अव चुनावका बेला मनोवैज्ञानिक रुपमा छुटाउने हिसावले अगाडि आए ।

    राजपा होइन कांग्रेस 
    उहाँहरुले अन्तै कतै गरेको कबुलियतनामा कार्यान्वयन गर्न यो तमासा गर्नु भएको हो । राजपा अगाडि सारिएको मात्रै हो । कांग्रेसले त्यहाँका सांसद झिकायो, सार्नु पर्छ भन भन्यो, निवेदन हाल्न लगायो । राजपाले चनुावमा भाग लिन्छ कि भनेर सरकार डराईराखेको छ । अरुका निम्ति होइन कांग्रेसका निम्ति चुनाव सार्नु परेको थियो । असार १४ गतेको चुनावपछि पनि मतपत्र देख्दा तिनलाई रिस उठ्छ । मतपत्र च्यातौं च्यातौं लाग्छ उनीहरुलाई । तर, मतपत्र च्यातेर सधैं चल्ने भए आजसम्म तानाशाहरु नै हुन्थे संसारमा । (Chakrapath)
     

    Subjects:

  • No Comment to " ओलीले भनेः असार १४ गतेपछि कांग्रेस माओवादीलाई झन् भोट च्यातौं च्यातौं लाग्छ (भिडियो ) "