• स्थानीयतहको निर्वाचनको पहिलो चरण अन्तर्गत ३ प्रदेशका ३४ जिल्लामा निर्वाचन सम्पन्न, आजै मतगणना सुरु

    Reporter: Becoming Kishor
    Published: Sunday, May 14, 2017
    A- A+
    काठमाडौं । स्थानीय तह अन्तर्गत आइतबार भएको पहिलो चरणको निर्वाचन केही छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । पहिलो चरण अन्तर्गत देशभरका ३४ जिल्लामा एकसाथ भएको मतदान सम्पन्नभएको हो ।


    आइतवार पहिलो चरण अन्तर्गत ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा निर्वाचन भएको हो । दोलखा, काभ्रे, रामेछाप, हुम्ला, दैलेखमा केही केन्द्रमा केही तनाव भएको थियो । अन्य स्थानमा भने चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

    अन्य दुई स्थानीय तहमा भने यसअघि नै निर्वाचन स्थगित भएको थियो । विहान ७ बजे सुरु मतदान साँझ ५ वजे पछिसम्म जारी रहेको थियो । सबै मतदान केन्द्रहरुमा मतदाताहरु लामवद्ध भएर उत्साहजनक ढंगले मतदानमा सहभागी भएका थिए । मतदान मार्फत २० वर्षपछि नेपाली जनताले स्थानीय सरकारका प्रतिनिधिहरु आफ्नै हातले छनोट गर्ने भएका हुन् ।

    नयाँ संविधान अनुसार मुलुक संघीय संरचनामा गएपछि भएको यो पहिलो निर्वाचन हो । यो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकारको अभ्यास गर्नेछन् । पहिलो चरणको यो निर्वाचनबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुनिने छन् ।

    यसैबीच, स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै आइतवार नै मतगणना सुरु हुने भएको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीयतहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको हो ।

    आइतवार रातिदेखि सम्भवहुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने आयोगले जनाएको हो । काठमाडौं महानगर पालिकामा पनि आइतवार बेलुकाबाट मतगणना गरिने भएको छ । निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरि वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेपनि स्पष्ट पारेको छ । News24

    Subjects:

  • No Comment to " स्थानीयतहको निर्वाचनको पहिलो चरण अन्तर्गत ३ प्रदेशका ३४ जिल्लामा निर्वाचन सम्पन्न, आजै मतगणना सुरु "