• एट्लेटिकोसँग २–१ ले हारे पनि रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

    Reporter: Becoming Kishor
    Published: Thursday, May 11, 2017
    A- A+
    काठमाडौं, २८ वैशाख । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड १५ औं पल्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेल रियल म्याड्रिडले २–१ गोलले गुमाए पनि समग्रमा ४–२ को नतिजा निकाल्दै लगातार दोस्रो वर्ष फाइनल प्रवेश गरेको हो।
    रियल म्याड्रिडले उपाधिका लागि युभेन्ट्ससँग भिड्नु पर्नेछ। युभेन्ट्स बुधबार बिहान मोनाकोलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। स्पेनिस क्लब रियल र इटालियन क्लब युभेन्ट्सबीच फाइनल भिडन्त कार्डिफमा ३ जुनमा हुनेछ। यसअघि यी दुई क्लब १९९८ को फाइनलमा भिडिसकेका छन्। हाल रियलको प्रशिक्षक रहेका जिदान त्यतिबेला युभेन्ट्स क्लबमा संलग्न थिए। जुन खेल रियलले जितेको थियो।
    गत साता आफ्नो घरेलु मैदानमा एट्लेटिको माथी रियलले ३–० गोलको अग्रता बनाएको थियो। त्यतिबेला क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोल गरेका थिए। विहिबार बिहान एट्लेटिको म्याड्रिडको घरेलु भिसेन्ट काल्डेरोन रंगशालामा भएको दोस्रो लेगको खेलमा रोनाल्डोले कुनै गोल गर्न सकेनन्। तर, ४१ मिनेटमा इस्कोले गोल गर्दै भ्रमणकारी रियल म्याड्रिडको फाइनल प्रवेशलाई सुनिश्चित पारे।
    गत वर्ष रियलसँग फाइनलमा भिडेको एट्लेटिकोले १६ मिनेट भित्र २ गोल गर्दै खेललाई रोचक मोडमा पुर्याएको थियो। ११ मिनेटमा कोकेको कर्नरमा साउल निगुइजले हेडिङ गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेट भित्रै फर्नान्डो टोरेसलाई डिबक्स भित्र लडाएको आरोपमा एट्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो। जसलाई १६ मिनेटमा फ्रेन्च स्ट्राइकर एन्टोन ग्रिजमनले गोलमा परिणत गरे।

    गत च्याम्पियन्स लिगको फाइनलमा पेनाल्टी सुटआउट गुमाएका ग्रिजमनलाई पुनः पेनाल्टीको अवसर प्रदान गरिएको थियो। उनले यसपालिको ला लिगामा पनि २ पेनाल्टी मिस गरेका थिए। तर, आज उनले कुनै गल्ती गरेनन्।


    २ गोलको अग्रता बनाएको अवस्थामा पहिलो हाफको खेल सकिन ४ मिनेट बाँकी हुँदा रियलले गोल फर्कायो। यसअघिको खेलमा खासै प्रभावशाली नदेखिएका करिम बेन्जेमाले विपक्षी गोलकिपरको टच लाइनबाट एट्लेटिकोका तीन खेलाडी डिएगो गोडिन, जोसे गिमेनेज र स्टेफान साभिकलाई छलाउदै डिबक्स भित्र निकालेको पासमा पहिले टोनी क्रुसले कडा प्रहार गरेका थिए। क्रुसको प्रहारलाई एट्लेटिकोका गोलकिपर जान अब्लाकले राम्रोसँग सम्हाल्न सकेनन्। जसको फाइदा ३ यार्ड नजिकै बसेका इस्कोले उठाए। उनले गोलपछि एट्लेटिकोलाई जितका लागि थप ३ गोल गर्नु पर्ने दबाब थपिएको थियो।

    दोस्रो हाफको ६७ मिनेटमा यानिक कारास्को र केभिन गामिइरोले रियलको गोल पोस्टमा गोलको अवसर नपाएका होइनन्। तर, दुवैको प्रहार रियलका गोलरक्षक किलोर नाभासले विफल तुल्याए। आजको खेलमा नाभास निकै सक्रिय देखिए। उनले ७८ मिनेटमा गामिइरोको सम्भावित गोलको अवसरलाई पनि असफल तुल्याएका थिए।

    एट्लेटिकोका लागि ग्रिजमनले उत्कृष्ट खेल प्रदर्शन गरे। आज उनी चारैतर्फ देखिए। तर, आफ्नो टिमलाई फाइनलमा प्रवेश गराउन असफल भए। अन्तिम मिनेटमा वर्षाले खेल प्रभावित पारे पनि घरेलु टोलीले थप गोल गर्न सकेन् र अन्त्यमा प्रतियोगिताबाट बाहिरियो ।

    Subjects:

  • No Comment to " एट्लेटिकोसँग २–१ ले हारे पनि रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा "