• चुनाव नजिकिदै, आकर्षक नारासहित उम्मेदवार घरदैलोमा

    Reporter: Becoming Kishor
    Published: Monday, May 8, 2017
    A- A+
    काठमाडौँ । कीर्तिपुर नगरपालिकाका प्रमुखका उम्मेदवारहरूले कीर्तिपुरलाई देशकै नमुना नगरपालिकाका रूपमा विकास गर्ने प्रतिबद्धतासहित आफूले जित्ने दाबी गरेका छन् । आकर्षक नारा लिएर घरदैलो कार्यक्रममा विभिन्न ठाउँमा घुम्न व्यस्त प्रमुख पदका दाबेदारहरूले यस्तो दाबी गरेका हुन् । आउँदो आइतबार हुन लागेको पहिलो चरणको निर्वाचनका लागि २८ गतेसम्म मात्रै प्रचार प्रसार गर्न पाइने भएकाले स्थानीय नेताहरू घरदैलोमा व्यस्त देखिन्छ ।

    नेपाली काँग्रेसबाट कीर्तिपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार राजकुमार नकर्मीले ‘कीर्तिपुर स्वच्छ, सभ्य, कीर्तिपुरः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ निर्वाचन प्रचारमा लागेको र माहोल एकदमै आफ्नो पक्षमा भएकाले जित्ने सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले कीर्तिपुरका ऐतिहासिक सम्पदाको संरक्षण गर्ने, कीर्तिपुरलाई शैक्षिक जनशक्ति उत्पादन गर्ने मुख्य थलोका रूपमा विकास गर्ने, औद्योगिकीकरण गर्नेलगायत आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पार्नुभयो । साथै नेता नकर्मीले कीर्तिपुरमा खानेपानी, सडक फोहोरमैला तथा ढलको व्यवस्थापनका विषयमा व्यापक जनगुनासो आएकाले आगामी ५ वर्षमा एकीकृत गरेर गुणस्तरीय र शतप्रतिशत नतिजा दिने बनाउनेसमेत योजना सुनाउनुभयो ।
    यस्तै, सोही नगरमा नेकपा ९एमाले०का तर्फबाट उम्मेदवार बन्नुभएका रमेश महर्जनले पार्टीले ल्याएको कार्ययोजनाअनुसार नगरपालिकालाई नयाँ स्वरूप प्रदान गर्ने विश्वास दिलाउनुभयो ।
    उहाँले आफ्नो जित्ने बलियो आधार नै पार्टीको बलियो सङ्गठन भएको दाबी गर्दै भन्नुभयो, ‘मेरो जित्ने आधार भनेको नै पार्टीको सङ्गठन हो, एमालेले राष्ट्र र राष्ट्रियताका लागि जुन आफ्नो अडान लिएको छ, यो पनि मेरो जित्ने आधार हो, किनकि जनता अहिले एमालेको पक्षमा छन् । ’

    नेता महर्जनले कीर्तिपुरलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने, सरकारको प्राथमिकतामा रहेको काठमाडौँ उपत्यका बाहिरी चक्रपथ आयोजना तथा एकीकृत जग्गा विकास कार्यक्रमलाई सफल बनाउन सहयोग उपलब्ध गराउने, पाँच वर्षभित्र कीर्तिपुरलाई पूर्ण साक्षर बनाउनेलगायतका प्रतिबद्धतासहितको योजना सुनाउनुभयो ।

    नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुख पदका दाबेदार हीराबहादुर महर्जनले कीर्तिपुरमा कहिले वडा अध्यक्ष, कहिले गाविस अध्यक्ष भएर धेरै अगाडिदेखि नगरवासीको हितमा विकासका काम गरेकाले नगरवासी आफ्नो पक्षमा देखिएको भन्दै आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो ।

    उहाँले कीर्तिपुरमा देखिएका यातायात तथा फोहोरमैलाका समस्यालाई यथाशीघ्र चाँडो समाधान गर्नेसमेत दाबी गर्दै २०७२ को भूकम्पबाट ध्वस्त बनेको कीर्तिपुरका सम्पदाको पुनःनिर्माण गर्ने, नगरभित्रका खानेपानीका मुहान र सीमसारको संरक्षण गर्ने योजना सुनाउनुभयो ।

    महर्जनले आफू निर्वाचित भए कीर्तिपुरलाई आधुनिकीकरण गर्ने जस्तो पार्क बनाउने, फ्रि–वाइफाईको व्यवस्था गर्ने, ई–पुस्तकालय सुविधा दिलाउने, सीसीटीभीको व्यवस्था गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभयो ।
    कीर्तिपुरमा विभिन्न राजनीतिक दलबाट नौ जना र स्वतन्त्रबाट छजना गरी १५ जनाले प्रमुखमा, आठ जनाले उपप्रमुखमा गरी जम्मा २६८ जनाको उम्मेदवारी परेको कीर्तिपुर नगरपालिका निर्वाचन कार्यलयले जनाएको छ ।
    त्यस अवसरमा नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहले कीर्तिपुरमा निर्वाचन प्रचारप्रसार एकदमै शान्तिपूर्ण तरिकाले भएको जानकारी गराउनुभयो ।

    कीर्तिपुरमा अहिलेसम्म एउटै दलको पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उजुरी नपरेको पनि उहाँको भनाइ छ । कार्यालयका अनुसार दसवटा वडा रहेको कीर्तिपुरमा २८ हजार १०३ जना मदतादा रहेका छन् ।

    Subjects:

  • No Comment to " चुनाव नजिकिदै, आकर्षक नारासहित उम्मेदवार घरदैलोमा "