• वालुवाटार बैठकमा दाहालले भने– रगत नचुहिनेगरी मासु कसरी काटूँ, अव म के गरुँ ?

    Reporter: Becoming Kishor
    Published: Tuesday, May 9, 2017
    A- A+
    काठमाडौ, २६ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा (हाल राजपा)लाई भ्रम दिनेगरी मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेसहित सत्तापक्ष र संघीय गठबन्धनको बैठक बोलाएर आफूले संविधान संशोधनको प्रयास जारी राखेको बताएका छन् ।


    तर उनले आफ्नो कोसिसका बाबजुद सफल हुन नसकेको भन्दै मोर्चाका नेताहरुलाई ‘मर्चेन्ट अफ भेनस’को कथा सुनाए । छलफलमा सहभागी एक नेताका अनुसार उनले भने– ‘एउटा पक्ष छ, संविधान संशोधन फेल गरौं भन्छ तर, जब पास हुने जस्तो हुन्छ, अनि फेल गराउनतिर लाग्छ । अर्को पक्ष छ, संशोधन पास गरौं भन्छ तर जब पास नहोला जस्तो लाग्छ, अनि संशोधन अगाडि बढाउनबाट रोक्नतिर लाग्छ । प्रमुख प्रतिपक्षको रिजर्भेसन हुँदाहुँदै पनि वैशाख १७ गते मैले ४ सय १ सांसद गनेरै संशोधन पास गर्ने भनी संसदमा जान थालेको थिएँ तर बानेश्वर पुग्नै लाग्दा थाहा भयो राप्रपाका १० जना सांसद अनुपस्थित हुने भएछन् । अनि त संशोधन फेल गराउनु भन्दा संसद बैठक नै स्थगित गराउनु पर्यो । तपाईंहरुलाई भनुँ, मेरो अवस्था त ठ्याक्कै मर्चेन्ट अफ भेनसको जस्तो भएको छ । मागेजति मासु काटेर पनि दे भन्छ तर एक थोपा रगत नचुहियोस् पनि भन्छ । अनि म के गरुँ ?’

    प्रधानमन्त्री दाहालसँग मोर्चाले आज विहान ८ बजे भेटका लागि समय मागेको थियो । मोर्चाले आज पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारीस्वरुप प्रधानमन्त्रीको धारणा जान्न समय मागेको थियो । प्रधानमन्त्रीले यहीनेर चलाखीपूर्ण ढंगले कांग्रेस र एमालेलाई पनि छलफलका लागि बोलाए । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेताहरु बामदेव गौतम र सुवास नेम्वाङ बालुवाटार पुग्दा त्यहाँ मोर्चाका नेताहरु मात्र होइन, संघीय गठबन्धनका अन्य नेताहरु पहिल्यै पुगिसकेका थिए । बैठकमा पुग्दा पुग्दै देउवाले दाहाललाई भने–‘यत्रो धेरैलाई बोलाउनु भएछ, म त एक्लै आएँ ।’ त्यसपछि सामुहिक छलफल भन्ठानेर देउवाले गृहमन्त्री विमलेन्द्र निधीलाई त्यहीँबाट फोन गरेर बोलाए ।

    बैठकमा एमाले नेता नेम्वाङले मोर्चाका नेताहरुलाई इंगित गर्दै भने–‘हामी संविधान विरोधी होइनौं, त्यसमा छलफल गर्न तयारै छौं । हामीले कतिपटक प्रधानमन्त्रीसँग तपाईहरुसहित छलफल गरौं भन्यौ तर, उहाँले सामुहिक छलफलको वातावरण बनाउनु भएन । उल्टै तपाईहरुसँग प्रधानमन्त्रीले एमालेले  मान्दै मान्दैन भनेर कुरा पो लाउनु भयो । तपाईहरु पनि त्यै सुनेर बस्नु भयो । आज पनि संयोगबश तपाईहरुसँगै बस्न पाइयो ।’

    नेम्वाङले यति भनेपछि मोर्चाका नेताहरु राजेन्द्र महतो र महेन्द्र यादबले एक स्वरमा ‘ए बल्ल थाहा पाइयो, सरकारले नै बेइमानी गरेको रहेछ । ठीक छ सरकारले पहल नगरे पनि अब एमालेले सिधै हामीलाई बोलाओस्, हामी आउँछौ । एमाले बारेको भ्रम हट्यो ।’

    मोर्चाका नेताहरुले त्यति भनेपछि प्रधानमन्त्री दाहालले मोर्चालाई फकाउने गरी भने– मैले एमालेलाई मनाउन अन्तिमसम्मै प्रयास गरेको हो । क्याबिनेट मिटिङ छोडेर पनि बालकोट गएकै हो । होइन त सुवास जी ?’

    प्रधानमन्त्रीले भ्रम दिएको बुझेर नेम्वाङले तत्कालै प्रतिबाद गरे । भने, ‘हो, तपाईं बालकोट जानुभएको त हो तर, छलफल गर्न होइन । संशोधनमा यसो यसो गर्दैछौं भनेर जानकारी गराउन मात्र । त्यो पनि मौखिक ।’ नेम्वाङले त्यति भनेपछि मोर्चाका नेताहरु गलल्ल हाँसेको स्रोतले बतायो ।

    एमाले नेता नेम्वाङका अनुसार, सत्तापक्ष र मोर्चाका नेतासहित एमालेले आज दोस्रो पटक सामुहिक छलफल गरेको हो । त्यसअघि दाहाल चीन भ्रमणमा जाने दिन एमालेकै आग्रहमा मोर्चासहित एमालेको पहिलो पटक छलफल भएको थियो ।

    मंगलबारको बालुवाटार बैठक प्रधानमन्त्रीले मोर्चाका नेताहरु र एमालेलाई भ्रम दिनका लागि मात्र भएको एक नेताले बताए । किनभने, त्यहाँ कुनै ठोस विषयमा छलफल नै भएन । प्रधानमन्त्रीले सरकार छोड्ने बेलामा पनि आफूले मोर्चाको माग अनुसार संशोधन गर्न अन्तिम प्रयास जारी राखेको देखाउन मात्र खोजेको उनको बुझाई छ ।
    अन्तिममा राजेन्द्र महतोले प्रधानमन्त्रीलाई भने, ‘तपार्ईंको सरकार बनेको ९ महिनमा मीठो कुरा मात्र गर्नुभयो र सुनाउनु भयो तर परिणाम केही आएन । अब हामी मान्दैनौ, दबाबमुलक आन्दोलन गर्र्छौ ।’
    -चक्रपथ बाट 

    Subjects:

  • No Comment to " वालुवाटार बैठकमा दाहालले भने– रगत नचुहिनेगरी मासु कसरी काटूँ, अव म के गरुँ ? "