• किम जोङ उनको ‘हत्या षड्यन्त्र’ : हत्या गर्न तीन लाख डलर

    Reporter: Becoming Kishor
    Published: Saturday, May 6, 2017
    A- A+
    काठमाडौं । अमेरिकी र दक्षिण कोरियाली एजेन्टहरूले उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्ने षड्यन्त्र बुनिरहेको उत्तर कोरियाले दाबी गरेको छ । अमेरिका र उत्तर कोरियाबीचको तनाब चुलिएकै वेला शुक्रबार उत्तर कोरियाले सो दाबी गरेको हो ।

    अमेरिकाले आतंककारी समूह पठायो
    कोरियाली नेताको हत्या गर्न अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सिआइए) र दक्षिण कोरियाली गुप्तचर निकायको सहयोगमा ‘अतिवादीको एउटा समूह’ उत्तर कोरिया छिरिसकेको उत्तर कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । नेता उनलाई जैविक र रासायनिक हमला गर्ने षड्यन्त्र भएको पनि सो मन्त्रालयले जनाएको छ ।

    आजको नयाँ पत्रिका दैनिकमा खबर छ । उत्तर कोरियाले ती अतिवादीको खोजी गरी चाँडै हत्या गरिदिने मन्त्रालयले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समस्या समाधान गर्न उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने बताइरहेका वेला प्योङयाङले अमेरिका र दक्षिण कोरियामाथि गम्भीर आरोप लगाएको छ । प्योङयाङले आणविक कार्यक्रम रोक्ने प्रतिबद्धता जनाए ट्रम्पले उपयुक्त समयमा कोरियाली नेतालाई भेट्न सक्ने बताएका थिए ।

    सूक्ष्म विष
    उत्तर कोरियाली समाचार संस्था केसिएनएनले पनि एक विज्ञप्ति जारी गर्दै सिआइए र दक्षिण कोरियाको गुप्तचरी सेवाले उत्तर कोरियाका सर्वोच्च नेताको निर्मम हत्या षड्यन्त्र बुनेको आरोप लगाएको छ । नेता उनलाई रेडियोविकिरण र सानो ‘विषालु पदार्थ’लगायत जैविक र रासायनिक चिजको प्रयोग गरी हत्या प्रयासको षड्यन्त्र भइरहेको जनाएको छ । सो विषको प्रभाव ६ महिनादेखि एक वर्षसम्म देखिने जनाइएको छ ।

    षड्यन्त्रपूर्ण हमला निस्तेज हुन्छ
    आफ्ना नेतामाथि हुने जुनसुकै हत्या प्रयासलाई निस्तेज पार्ने प्योङयाङले जनाएको छ । ‘अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायको षड्यन्त्रलाई विफल पार्न आजकै दिनदेखि कोरियाली शैलीको हमला सुरु हुनेछ,’ मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

    अमेरिकाले आफ्ना शत्रु देशका नेतालाई यसअघि पनि रासायनिक आक्रमणको प्रयास गरेको थियो । ल्याटिन अमेरिकी मुलुक क्युबाका फिडेल क्यास्ट्रोमाथि दर्जनौँपटक रासायनिक हमलाको प्रयास भएको थियो । अमेरिकाले क्यास्ट्रोले पिउने चुरोटदेखि लगाउने ट्र्याकसुटसम्म रासायनिक र जैविक हमलाको प्रयास गरेको थियो ।

    बढ्दो तनाव
    उत्तर कोरियाले छैटौँ आणविक परीक्षणको धम्की दिएपछि अमेरिका र प्योङयाङबीचको तनाब बढेको छ । शनिबार मात्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र हमला विफल भएको थियो । अमेरिकाले एक महिनादेखि कोरियाली प्रायद्वीपमा युद्धपोत विमान परिचालन गरेको छ । उत्तर कोरियाका आणविक हमला निस्तेज गर्न अमेरिकाले दक्षिण कोरियामा एन्टिमिसाइल रक्षा प्रणाली (थाड) जडान गरेको छ ।

    उत्तर कोरियाले अमेरिकालाई आक्रमण गर्न सक्ने क्षेप्यास्त्र निर्माण गरिरहेको दक्षिण कोरियाले अनुमान गरेको छ । उत्तरले जुनसुकै बेला अमेरिकालाई निशाना बनाउने आशंकमा वासिंगटनले थाडलाई संचालनमा ल्याएको पनि दक्षिण कोरियाले विश्लेषण गरेको छ ।

    हत्या गर्न तीन लाख डलर
    उत्तर कोरियाली रक्षा मन्त्रालयका अनुसार नेता उनमाथि षड्यन्त्र गर्न किम नाम गरेका एक उत्तर कोरियाली नागरिकलाई नै प्रयोग गरिएको छ । उनलाई रसियामा काम गर्ने क्रममा दक्षिण कोरियाली गुप्तचर निकायका अधिकारीले भेट गरी ठूलो प्रलोभन देखाएको मन्त्रालयको दाबी छ । कोरियाली नेताको हत्याका लागि किमलाई तीन लाख डलर रकमको प्रलोभन देखाइएको थियो ।

    किमसँग कोरियाली नेता नियमितजसो उपस्थित हुने स्थान र उनलाई आक्रमण गर्न सकिने सम्भाव्य विधिबारे अमेरिकी अधिकारीले विस्तृत विवरण मागेका थिए । त्यस्तै, फुर्सदको समयमा नेता उन घुम्न जाने ठाँउ र उनको रुचिबारे पनि अमेरिकी अधिकारीले सोधपुछ गरेका थिए ।
  • No Comment to " किम जोङ उनको ‘हत्या षड्यन्त्र’ : हत्या गर्न तीन लाख डलर "