• झूठो समाचार लेखेर राष्ट्रपतिको परिवारमाथि मानमर्दन

    Reporter: Becoming Kishor
    Published: Sunday, May 28, 2017
    A- A+
    विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई राज्यले बाँड्ने विभुषणबारे सञ्चार माध्यमले झुठा समाचार लेख्दा राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको मानमर्दन हुन पुगेको छ । सरकारले निर्णय गरी यस्तो पदवी र विभुषण राष्ट्रपतिमार्फत वितरण गरिन्छ ।


    सरकारले गृहमन्त्रीको संयोजकत्वमा गठित समितिले यस्ता पदवी र विभुषणबाट कसलाई सुशोभित गर्ने भन्ने निर्णय गर्छ । यही प्रक्रियाबाट गतवर्ष स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई  दिइएको ‘नेपाल रत्न’ विभुषण यसवर्ष स्वर्गीय मदन भण्डारीलाई प्रदान गर्ने सरकारले निर्णय गरेको थियो । गतवर्ष कोइरालालाई प्रदान गरिएको नेपाल रत्न विभुषण ग्रहण गर्न कोइरालाकी छोरी सुजाता कोइराला गएकी थिइन् भने यसवर्ष स्वर्गीय मदन भण्डारीलाई प्रदान गरिएको विभुषण ग्रहण गर्न स्वर्गीय भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारी गएकी थिइन् ।

    तर, मुलधारका केही सञ्चार माध्यमले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै छोरी उषाकिरण भण्डारीलाई नेपाल रत्नको विभुषण प्रदान गरेको भनी झुठो समाचार लेखे । त्यसै आधारमा राष्ट्रपति भण्डारीको परिवारमाथि निन्दा गर्ने क्रम बढिरहेको छ । राष्ट्रपति भण्डारी स्वर्गीय जननेता मदन भण्डारीकी धर्मपत्नी हुनुको संयोगलाई हतियार बनाएर सरकारले गरेको निर्णयका आधारमा राष्ट्रपतिको परिवारमाथि निन्दा गरिनु पत्रकारिता पेशाको सरासर दुरुपयोग हो ।

    नेपालको राजनीतिक आन्दोलनमा असाधारण योगदान दिएका ब्यक्तित्वहरुलाई विगतदेखि सरकारले नेपाल रत्नको विभुषणले सम्मान गर्दै आएको छ । यसअघि स्वर्गीय गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले यो विभुषण पाएको उनीहरु कांग्रेसको नेता भएर होइन र यसपटक स्वर्गीय जननेता मदन भण्डारीले पनि एमाले नेता भएर यो विभेषण पाएका होइनन् । विभुषण कसलाई दिने भन्ने निर्णय गर्ने ठाउँमा राष्ट्रपति भण्डारी छैनन् । विभुषित ब्यक्तित्व मदन भण्डारीको २४ वर्षअघि निधन भइसकेको छ । स्वर्गीय मदन भण्डारी सरकारले दिएको विभुषण ग्रहण गर्न आउन सक्ने कुरै थिएन । त्यसैले मदन भण्डारीकी जेठी छोरी उषाकिरण पदवी ग्रहण गर्न आइन् जसरी गतवर्ष गिरिजाप्रसादको पदवी ग्रहण गर्न सुजाता कोइराला आएकी थिइन् ।

    सञ्चार माध्यमले पनि नियोजित रुपमा राष्ट्रपतिको निन्दा गर्ने विषय खोज्दै हिंड्नु पर्ने वाध्यता आइलागेको यसपटकको विभुषण पदक वितरणवारे प्रसार गरेको झुठो समाचारबाट देखियो । राष्ट्रपतिमा निर्वाचित भएदेखि अहिलेसम्म कुनै विवादमा नपरेकी र निर्विवाद अभिभावकीय भूमिका निर्वाह गरिरहेकी राष्ट्रपति भण्डारीको निन्दा गर्ने विषय अहिलेसम्म सञ्चार माध्यमले पाउन सकेका छैनन् । त्यसैले निन्दाको नियोजित ठाउँ खोजिरहेको पक्षले विभुषण वितरणलाई राष्ट्रपति विरुद्ध प्रहार गर्न खोजेको देखिन्छ, त्यो पनि झुठो समाचार दिएर ।

    गृहमन्त्री बिमलेन्द्र निधिको संयोजकत्वमा गठित समितिले राष्ट्रपति भण्डारीकी छोरीलाई नेपाल रत्न विभुषण दिने निर्णय गरेको होइन । गत वर्ष गिरिजाप्रसादलाई झैं यसवर्ष जननेता मदन भण्डारीलाई विभुषित निर्णय गरेको हो । मदन भण्डारी त्यो विभुषणका लागि योग्य ब्यक्तित्व होइनन् भनेर कसैले भन्न पनि सकेको छैन । तर, जननेता भण्डारीले जीवनपर्यन्त पाएको विभुषण उनकी छोरीले ग्रहण गरेको स्वाभाविक तस्बिरलाई दुरुपयोग गर्दै राष्ट्रपतिको परिवारमाथि गरिएको निन्दा दुःखद् छ ।  गलत तथ्यमा उभिएर देशको सम्मानित र सर्वाेच्च संस्थाको गरिमामा आँच आउने सामग्री प्रसारण गरे वापत त्यस्ता सञ्चार माध्यमले माफी माग्नु पर्ने हो । तर तिनीहरुले पेशागत मर्यादाको रक्षाका लागि त्यति कष्ट गरेका छैनन् ।

    Subjects:

  • No Comment to " झूठो समाचार लेखेर राष्ट्रपतिको परिवारमाथि मानमर्दन "