• बन्द भएको आठ बर्षपछि वुटवल धागो कारखाना निजीकरण गरिदै

    Reporter: Becoming Kishor
    Published: Saturday, May 6, 2017
    A- A+
    रुपन्देही । बन्द भएको आठ वर्षपछि बुटवल धागो कारखानालाई सरकारले निजीकरण गर्ने निर्णय गरेको छ । ०४८ सालमा सुतीको कपडामा आत्मनिर्भर हुने उद्देश्य सहित सरकारले धागो कारखाना सञ्चालन गरेको थियो ।

    नेपालगञ्जमा कपास खेति, बुटवलमा धागो र त्यही धागोले हेटौडा कपडा कारखानाबाट कपडा उत्पादन गर्ने योजना सरकारको थियो । तर धागो उत्पादन गर्ने कारखाना नोक्सानमा गएपछि ०६६ भदौबाट बन्द भयो ।



    आठ वर्षदेखि उद्योग बन्द हुँदा त्यहा रहेको भौतिक संरचना र मेसिनहरु जीर्ण बनेका छन् । लामो समय उद्योगको विषयमा सरकारले निर्णय गर्न नसकेपछि उद्योगी व्यवसायीहरुले निजीकरण गर्न माग गर्दै आएका थिए । सरकारले बुटवल धागो कारखानासंगै बीरगञ्ज चिनी कारखानालाई पनि लिजमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

    लिजमा दिनुअघि प्राविधिकहरुले बुटवल धागो कारखानाको अध्ययन गर्नेछन् । प्राविधिकहरुको मूल्यांकनको आधारमा के कति मूल्य निर्धारण गर्ने भन्ने विषयको टुंगो लाग्नेछ । बुटवल औद्योगिक क्षेत्रको १ सय ४३ दशमलव ७ रोपनी क्षेत्रमा फैलिएको कारखानाको उत्पादन क्षमता १० मेट्रिकटन रहेको छ । यसअघि कारखाना बन्द भएपछि सर्वपक्षीय व्यवस्थापन समितिले पाँच महिना उद्योग सञ्चालन गरेको थियो ।

    पाँच महिना उद्योग चलाउदा नेपालको रिलायन्स कम्पनी र गोरखपुरका उद्योगीले हात हालेका थिए । सर्वपक्षीय समितिमा उद्योगीका संस्थाका प्रतिनिधि, मजदुर, प्रवन्धक, राजनीतिक दल र प्रशासनका व्यक्तिहरु सदस्य थिए ।

    पाँच महिना उद्योग चल्दा ३ सय जनाले रोजगारी पाएका थिए । उद्योग सञ्चालनका लागि मर्मतमा ४ करोड र ८ करोड पुँजीगत लगानी आवश्यक हुने बताइएको छ ।

    नेपालमा कपास उत्पादन नभएकाले सुतिको धागो नै उत्पादन हुने सम्भावना भने कम रहेको छ । तत्कालीन समयमा नेपालगञ्जको खजुरामा कपास उत्पादन हुदै आएको थियो । ५९ दशमलव ५ प्रतिशत सरकारको लगानी रहेको कारखानामा करिव ७ प्रतिशत सर्वसाधारणको शेयर छ ।

    जनकपुर चुरोट कारखाना, साल्ट ट्रेडिङको पनि शेयर रहेको छ । धागो कारखाना नै चलाउन सके चलाउने र नसके सो जग्गामा अन्य उद्योग चलाउन स्वीकृति दिने योजना लिमिटेडको छ ।

    Source: News24nepal.tv


    Subjects:

  • No Comment to " बन्द भएको आठ बर्षपछि वुटवल धागो कारखाना निजीकरण गरिदै "