• ‘एलइडी बल्ब खरिदमा नेपालको २३ करोड बचत हुन्छ’-भारतीय ऊर्जामन्त्री

    Reporter: Kishor Bhatta
    Published: Sunday, May 14, 2017
    A- A+
    काठमाडौं,बैशाख २९-  नेपाल विद्युत प्राधिकरणले भारतबाट खरिद गर्न लागेको एलइडी बल्बको बारेमा भारतीय ऊर्जामन्त्रीले मुख खोलेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै भारतीय ऊर्जामन्त्री पियुष गोयलले खरिद प्रकृयाबाट नेपालले २३ करोड भारतीय रुपैयाँ बचत गर्नसक्ने बताएका हुन् ।  ट्वीटर मार्फत सेयर गरिएको समाचारमा भनिएको छ नेपालले खरिद गर्न लागेको एलइडी बल्ब ६५ रुपैयाँमा भारतले खरिद गरेको र सोही मूल्यमा छिमेकी भएको नाताले नेपाललाई पनि उपलब्ध गराउने प्रकृया सुरु भएको बताईएको छ ।

    मन्त्री गोयलले आफ्नो ट्वीटमा मार्फत सेयर गरेको समाचारमा  भारत सरकारले सञ्चालन गरिरहेको इनर्जी इफिसियन्सि सर्भिस लिमिटेड (इइएसएल) ले नेपालको उर्जा बचतका लागि २ करोड वटा एलइडी बल्ब विक्रि गर्न लागेको उल्लेख छ । सो समाचारमा उल्लेख भए अनुसार त्यो बल्ब भारतीय उपभोक्तलाई पनि भारु ६५ रुपैयाँमा नै उपलब्ध गराएको र सोही मुल्यमा नेपाललाई दिन लागेको हो ।



    नेपालका केहि मिडियाहरुले ३८ रुपयाँको बल्ब ६५ रुपयाँ भारुमा किन्न लागेको लेखेपनि भारतले भने आफुले नै किनेको मूल्यमा दिन लागेको बताएको छ । १४ कम्पनीको परेको टेन्डर मध्ये एकवटा कमसल कम्पनीको ३८ रुपयाँ भारुमा टेन्डर परेपनि हामीले भने ६५ भारु पर्ने बल्बनै खरिद गरेको समाचारमा जनाईएको छ ।   भारतले ६५ पर्ने किनेको र त्यहि मूल्यमा नै नेपाललाई दिने प्रस्ताव गरेको हो ।

    भारत सरकारले विद्युत ऊर्जा बचतको लागि ल्याएको उजला कार्यक्रम सफल भएकोले नेपालमा पनि यस्तो कार्यक्रम सफल हुने दाबी उनले गरेका छन् । प्राधिकरणले भारत सरकारले सञ्चालन गरिरहेको इनर्जी इफिसीयन्सी सर्भिस लिमिटेड मार्फत बल्ब खरिद गर्न लागेको अवस्थामा नेपालमा प्रकाशित भइरहेको समाचारहरुलाई लक्षित गर्दै मन्त्री गोयलले यस्तो प्रतिक्रिया दिएको बुझिएको छ ।

    नेपाललाई लोडसेडिङलाई मुक्त बनाएको प्राधिकरणले नेपालमा पर्याप्त ऊर्जा उत्पादन नहुन्जेलसम्मको लागि भनेर ग्राहकहरुलाई कम विद्युत खपद हुने एलइडी बल्ब बिक्री गर्न लागेको हो । तर सार्वजनिक खरिद प्रकृयालाई मिचेर प्राधिकरणले महँगो मूल्यमा बल्ब खरिद गर्न लागेको समाचार प्रकाशित भएपछि प्राधिकरणले यसबारेमा स्पष्ट पार्दै अघिल्लो सरकारले ल्याएको योजनालाई अगाडी बढाएको, समाचारमा कुनै सत्यता नभएको बताइसकेको छ ।

    नेपालले बल्ब खरिद गर्न लागेको इइएसएलले नेपाललाई हेटौडा सम्म सोही मुल्यमा बल्ब उपलव्ध गराउने जनाएको छ । ढुवानी खर्च र तीन वर्षको वारेन्टी समेत उक्त बल्वमा दिइने जनाइएको छ । निर्यातकर्ता कम्पनीले पनि सो बल्ब प्रयोगमा आएपछि भारतले २ बर्षमा ६० हजार मेगावाट विजुली बचत गरेको जनाएको छ । सो कम्पनीले नेदरल्याण्डको फिलिप्स र जर्मनको ओस्राम कम्पनीले उत्पादन गरेका बल्ब खरिद गर्ने गरेको जनाएको छ । नेपालले पनि सोही कम्पनीका बल्ब खरिद गर्न लागेको हो । यो बल्व भारतीय वजारमा पनि ९५ रुपैयाँ भारु पर्ने गरेको र ६० प्रतिशत छुट दिइएको जनाइएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले पनि समाचार प्रति खण्डन गर्दै कसैले एक पैसामात्रै भ्रष्ट्राचार गर्न लागेको भए त्यसको जिम्मेवारी आफु लिन तयार रहेको बताएका छन्  ।

    प्राधिकरणले बेच्ने ‘एलइडी बल्ब’ बजार मूल्यभन्दा चार सय सस्तो
    नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकलाई बिक्री गर्ने भनिएको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो पर्ने देखिएको छ । भारतीय सरकारी कम्पनी ईईएसएलमार्फत ओशराम र फिलिप्स कम्पनीका ९ वाटका बल्ब ल्याउने योजना बनाएको प्राधिकरणले एक सय ४५ रुपैयाँ प्रति गोटामा बेच्ने बताएको बल्ब हालको बजार मूल्यभन्दा करिब चार सय रुपैयाँ सस्तो हुने दखिएको हो ।

    नेपाली बजारमा फिलिप्स ब्राण्ड आयात गर्दै आएको ज्योति ग्रुप अन्र्तगतको स्याकार कम्पनी लिमिटेडका अनुसार ९ वाटको लिड बल्बको खुद्रा बजार मूल्य ५ सय ५० रुपैयाँ पर्दछ। त्यस्तै ओशराम ब्राण्डको नेपाली आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सका अनुसार हाल ओशरामको सोही बल्बको खुद्रा बजार मूल्य ६ सय रुपैयाँ रहेको छ। यसरी हेर्दा हाल नेपाली उपभोक्ताले बजारबाट खरिद गर्ने मूल्य भन्दा प्राधिकरणबाट ति कम्पनीका लिड बल्ब किन्दा झण्डै ४ सय ५० रुपैयाँ सस्तो पर्न आउँछ। यसरी एलइडी बल्ब सबैले प्रगोग गरेमा राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४० अर्ब रूपैयाँ बराबर बचत हुनेछ ।

    यसको लागि सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने भएको छ । देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । भारतीय रुपैयाँ ६५ प्रति बल्ब पर्ने भए पनि विभिन्न कर तथा भन्सार शुल्क जोड्दा १२५ पर्नेछ । खुला बजारमा सो बल्बको मूल्य ३५० देखि ४०० सम्म पर्ने गरेको छ ।

    एलइडी बल्ब खरिदका लागि रु दुई अर्ब खर्च हुने ऊर्जा मन्त्रालयको भनाइ छ । दुई करोड थान एलइडी बल्ब वितरण गर्न सकिए २०० मेगावाट विद्युत् बचत हुने र सरकारको ४० अर्ब बचत हुने जनाइएको छ । ती बल्ब सात र नौ वाटका छन् । प्राधिकरणका अनुसार एलइडी बल्बले चार गुणासम्म बिजुली बचत गर्छ । कूल ३५ लाख ग्राहकमध्ये १९ लाखले १८ वाटको सिएफल र ५ लाखले ६० वाटको इन्सियनडिसेइन्ट बल्ब प्रयोग गरिरहेको प्राधिकरणको तथ्यांक छ। यी सबै बल्बलाई प्रतिस्थापन गर्दा पिक आवरमा २ सय मेगावाटसम्म उर्जा बचत हुने प्राधिकरणले जानकारी दिएको छ। यसरी बचत हुँदा वार्षिक रुपमा २ सय ९३ गिगावाट आवर उर्जा बचत हुन्छ।

    के हो एलइडी बल्ब ?

    एलइडी बल्बको मुख्य विषेशता भनेकै कम बिजुली खपत गरेर पनि गतिलो प्रकाश दिनु हो । यसले ४ गुणासम्म बजिुली बचत गर्छ । १५ वाटको सिएफएलले दिने बराबरको प्रकाश ५ वाटको एलइडीले दिन्छ । यो हुनासाथ उपभोक्ताको मासिक बिजुली बिल पनि महंगो हुँदैन ।बजारमा विभिन्न ब्राण्डेड र साधारण गरी दुई प्रकारका एलइडी बल्ब किन्न पाइन्छ । ब्राण्डेड बल्बमा १ वर्षको ग्यारेन्टी पाइन्छ भने साधारण बल्बमा ग्यारेन्टी हुँदैन ।

    फाइबरले बन्ने एलइडी बल्ब साधारण रुपमा झर्दा पनि फुट्दैन । बजारमा ३ देखि ५० वाटसम्मका एलइडी बल्ब बजारमा सहज रुपमा उपलब्ध छन् । मूल्य पनि सीएफएल बल्बभभन्दा धेरै महंगो पर्दैन । सीएफएल भन्दा एलइडी बल्ब बढी टिकाउ पनि हुन्छ ।

    एकपटक एलइडी किनेका उपभोक्ता फेरि सिएफएलमा हत्तपत्ति फर्किँदैनन्, किनभने यो निकै उपयोगी र किफायती हुन्छ । यसले बिजुलीको महशुल पनि घटाउँछ । यसको प्रयोगले उपभोक्तालाई फाइदा नै फाइदा छ ।
    Source: Recent Nepal
  • No Comment to " ‘एलइडी बल्ब खरिदमा नेपालको २३ करोड बचत हुन्छ’-भारतीय ऊर्जामन्त्री "