• १० महिनामा कृषि मन्त्रालयका ९५ टोली विदेश भ्रमणमा

    Reporter: EduDainik
    Published: Wednesday, April 26, 2017
    A- A+
    गाइघाट, १४ वैशाख । कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष ०७३/७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् । यस अवधिमा २१ भन्दा बढी देशमा कृषिका कर्मचारी पुगेका छन् ।
    अाजको नयाँ पत्रिकामा खबर छ– कृषिका विभिन्न परियोजनामा लगानी गर्न आएका आइएनजिओले सन्तोषजनक खर्च गर्न नसकेपछि कर्मचारीलाई विदेश घुमाएर रिझाउने सजिलो उपाय अपनाएको सरोकारवाला बताउँछन् । सरकारले दुई वर्षअघि संयुक्त राष्ट्रसंघबाहेकका आइएनजिओको खर्चमा विदेश जान नपाउने नियम बनाए पनि कृषिका कर्मचारीलाई त्यसले छोएको छैन । कर्मचारीलाई विदेश लैजानेमा संयुक्त राष्ट्रसंघमा आबद्धभन्दा अन्य आइएनजिओ धेरै छन् ।

    गत आव ०७२-७३ मा उपसचिव, सहसचिव र सचिव स्तरका कर्मचारी विदेश भ्रमणमा धेरै निस्किएका थिए । तर, यसपटक शाखा अधिकृत र त्यसभन्दा तल्लो स्तरका धेरै कर्मचारी आइएनजिओको खर्चमा विदेश गएका छन् ।
    आइएनजिको खर्चमा विदेश भ्रमण गर्ने कर्मचारीले तिनीहरूकै एजेन्डा बोक्ने गरेको विज्ञहरूको तर्क छ । हाल चीनका लागि नेपाली राजदूत रहेका लीलामणि पौडेलले आफू मुख्यसचिव रहेका वेला आइएनजिओको खर्चमा विदेश जान बन्देज लगाउने कार्यविधि ल्याएका थिए । उनले आइएनजिओको एजेन्डा कर्मचारीले बोक्दा देशको एजेन्डा पछि पर्ने तर्क राखेका थिए । यसरी विदेश भ्रमणमा जानु एक किसिमको भ्रष्टाचारजस्तै भएको तर्क त्यसवेलाको सरकारको थियो ।
    त्यतिवेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रहेका प्रेमकुमार राईले कार्यविधि तयार गरेका थिए । हाल आपूर्ति मन्त्रालयमा सचिव रहेका राईले आइएनजिओको खर्चमा विदेश भ्रमण गर्ने गलत प्रवृत्ति रोक्नकै लागि कार्यविधि ल्याएको बताए । उनले वैदेशिक भ्रमणको आवश्यकता देखिए सरकार आफैँले खर्च गरेर पठाउने प्रावधान रहेको जानकारी उनले दिए ।
    कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले आवश्यकताका आधारमा मन्त्रालयमातहतका कर्मचारीले विदेशमा अध्ययन, गोष्ठी, सेमिनारलगायतका कार्यक्रममा उपस्थित भइरहेको दाबी गरे । ‘नेपालको कृषि क्षेत्रमा कुनै न कुनै रूपले जोडिएका गैरसरकारी संस्थाको विदेशस्थित विभिन्न कार्यक्रममा कर्मचारीको उपस्थिति भइरहेको छ,’ उनले भने ।

    Subjects:

  • No Comment to " १० महिनामा कृषि मन्त्रालयका ९५ टोली विदेश भ्रमणमा "