• उमेदवारी मनोनयनको मिति दुई दिन सर्‍यो, बजेट असार पहिलो साता ल्याउन आयोगको प्रस्ताव

    Reporter: EduDainik
    Published: Monday, April 24, 2017
    A- A+
    काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उमेदवारी मनोनयनको मिति दुई दिन पछाडि सारेको छ । सरकार, संघीय गठबन्धन र आयोगबीच सोमबार बिहान भएको बैठकपछि आयोगले मनोनयनको मिति दुई दिन पछाडि सारेको हो । सरकार र गठनबन्धनको आग्रहपछि मनोनयनको मिति वैशाख १६ बाट १८ गतेलाई सारिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए । यो मिति पहिलो चरणको निर्वाचनका लागि हो । उमेदवारी मनोनयनको मिति दुई दिन सरेपछि यसको सम्पूर्ण प्रक्रिया दुई दिनलाई पछि सर्छ । यसअघि उमेदवारी मनोनयसम्बन्धी प्रक्रिया वैशाख १६ देखि १९ गतेसम्म सक्ने तालिका रहेकोमा अब २१ गतेमात्र सकिने भएको छ । आयोग पदाधिकारी तथा सरकारसँग भएको छलफलमा हालै एकीकृत भएको राष्ट्रिय जनता पार्टीले पार्टीले नयाँ चुनाव चिन्ह पाउनुपर्ने माग गरेको थियो । आयोगले भने अहिलेको निर्वाचन ऐनअनुसार सो पार्टीलाई नयाँ चुनाव चिन्ह दिन नसकिने स्पष्ट पारेको छ । ७५ वर्ट जिल्लाको मतपत्र छापिइसकेको र ऐनले पनि दिन नमिल्ने भएकाले नयाँ चुनाव चिन्हको सम्भावना नरहेको बैठकमा प्रमुख आयुक्त यादवले बताएको संघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । आयोगले नयाँ दल दर्ताको पनि सम्भावना नरहेको स्पष्ट पारेको छ । यसैबीच, सरकारसँगको बैठकपछि निर्वाचन आयोगले दलको आधिकारिक हस्ताक्षर बुझाउने समय दुई दिन उपलब्ध गराउने भएको छ । राजपाका नेता लक्ष्मणलाल कर्णका अनुसार नयाँ चुनाव चिन्ह दिनका लागि आयोगले प्राविधिक कारण देखाएको छ । चुनाव दुई चरणमा हुने र त्यसको बीचमै जेठ १५ गते बजेट ल्याउनुपर्ने भएपछि अन्योल भइरहेको अवस्थामा निर्वाचन आयोगले उक्त मितिमा बजेट ल्याउन नमिल्ने स्पष्ट पारेको छ । असार पहिलो साता बजेट ल्याउने प्रस्ताव आयोगले गरेको छ । यद्यपि, संविधानमा भने हरेक वर्षको जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने उल्लेख छ । असारमा बजेट ल्याउन संविधान संशोधन गर्नुपर्ने हुन्छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि दुई निर्वाचनको बीचमा बजेट ल्याउन नमिल्ने बताइरहेका बेला यस विषयमा सरकार पनि सकारात्मक रहेको बताइएको छ । सोमबार नै आयोगसँग छलफल गर्नुअघि सरकार र गठबनधनका नेताहरूबीच तीन बुँदे सहमतिको ड्राफ्ट गरेर हस्ताक्षर गर्ने सहमति भएको छ । सहमतिमा आजै हस्ताक्षर हुन सक्ने बताइएको छ । नेकपा एमालेले पनि दुई पक्षबीच भएको सहमतिको लिखित प्रति मागेको छ ।

    Subjects:

  • No Comment to " उमेदवारी मनोनयनको मिति दुई दिन सर्‍यो, बजेट असार पहिलो साता ल्याउन आयोगको प्रस्ताव "