• रियल मड्रिडको सहज जित, बार्सिलोनामाथी दबाब कायम

    Reporter: EduDainik
    Published: Wednesday, April 26, 2017
    A- A+
    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा रियल मड्रिडले डिपोर्टिभो ला करुनालाई ६ – २ ले पराजित गरेको छ ।
    डिपोर्टिभोको घरेलु मैदानमा स्टार खेलाडीहरू क्रिष्टियानो रोनाल्डो, करीम बेन्जिमा र ग्यारेथ बेलबिना मैदान उत्रिए पनि रियलले घरेलु टोलीलाई सहजै पराजित गर्यो । रोनाल्डो र बेन्जिमालाई प्रशिक्षक जिनेदान जिदानले भ्यालेन्सियासंगको खेलमा लागि विश्राम दिएको हो भने बेल चोटको कारण मैदान उत्रिएनन ।

    तर, उनीहरुको अनुपस्थितिमा रियल मड्रिडलाई जित दिलाउन जेम्स रोड्रीगेजले दुई तथा अल्भारो मोरटा, लुकास, इस्को र कासिमिरोले समान एक एक गोल गरे । डिपोर्टिभोका फ्लोरिन अन्डोने र जोसेलुले एक एक गोल फर्काए । जितसँगै रियल मड्रिडले शिर्ष स्थानको बार्सिलोनामाथी अंक बराबरी गरेको छ ।
    डिपोर्टिभोमाथी एकतर्फी जित निकाल्ने क्रममा रियलले खेलको पहिलो मिनेटमा नै मोरटाको गोलबाट अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा रोड्रीगेजले रियलको अग्रता दोब्बर बनाए । खेलको ३५ औं मिनेटमा डिपोर्टिभोका फ्लोरिनले एक गोल गर्दै गोल संख्या कम गरे । तर, खेलको ४४ औं मिनेटमा लुकासले गोल गरेपछि रियलले पहिलो हाफमा ३ – १ को अग्रता बनायो ।
    दोस्रो हाफमा पनि रियलले थप तीन गोल गर्यो । खेलको ६६ औं मिनेटमा रोड्रीगेजले व्यक्तिगत दोस्रो गोल गर्दा रियलको अग्रता ४ – १ मा पुग्यो । खेलको ७७ औं मिनेटमा इस्कोले गोल गर्दा रियल ५ – १ ले अघि रह्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा डिपोर्टिभोका जोसेलुले गोल गर्दै खेल ५ – २ मा ल्याए । तर, खेलको ८७ औं मिनेटमा कासिमिरोले गोल गरेपछि रियलले घरेलु टोलीलाई ६ – २ को फराकिलो अन्तरले पराजित गर्न सफल भयो ।
    यो जितपछि लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडले ३४ खेलबाट ७८ अंक बनाएको छ । र, शिर्ष स्थानको बार्सिलोनासँग गोल अन्तरमा पछि परेको छ । लिग लिडर बार्सिलोनाको पनि ७८ अंक छ । तर, रियलले एक खेल कम खेलेको छ ।
     

    Subjects:

  • No Comment to " रियल मड्रिडको सहज जित, बार्सिलोनामाथी दबाब कायम "