• आकांक्षी धेरै भएपछि मतदानबाट एमालेले छान्यो उम्मेदवार

    Reporter: Becoming Kishor
    Published: Friday, April 21, 2017
    A- A+
    स्थानीय तह चुनावमा पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारमा धेरै आकांक्षी देखिएपछि नेकपा एमालेले मतदानबाट टुंगो लगाएको छ। मेयरमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसी, कास्की अध्यक्ष कृष्ण थापा र मित्रकुमारी सुवेदी तीनजना सिफारिस भएका छन्।


    निर्वाचनमा जिसीले २ सय ४६ र थापाले २ सय २१ मत पाए। जिसी एमालेपूर्व इन्चार्ज हुन् भने थापा वर्तमान अध्यक्ष हुन्।

    मेयरमा ३ जनामध्ये १ महिला अनिवार्य पठाउनुपर्ने एमालेले मापदण्ड बनाएको थियो । मेयरमा महिलाबाट मित्रकुमारी सुवेदीको मात्र उम्मेद्वारी परेकाले उनी चुनावमा जानु परेन।

    चुनावमा मेयरमा प्रदेश कमिटी सदस्य श्रीनाथ बराल (१ सय १७ मत), पुष्पज्योति ढुंगाना (२० मत), मदनकाजी श्रेष्ठ (१३ मत), राजीव पहारी (८५ मत), नारायणप्रसाद बास्तोला (१५ मत) पनि आन्तरिक प्रतिस्पर्धामा थिए । मेयरमा उम्मेदवारी दिएका धनराज आचार्य र होम नेपालीले नाम फिर्ता लिएका थिए।

    उपमेयरमा प्रभा कोइराला, मञ्जु गुरुङ र देवका पहारी बढी मत ल्याएर सिफारिस भएका छन् । कोइरालाले २ सय ७५, गुरुङले २ सय ११ र पहारीले १ सय ५६ मत पाए । उपमेयरका लागि मीना गुरुङ (१ सय ३४ मत), उमा परियार (१ सय १९ मत), मीना गुरुङ (१ सय ३ मत)र छलिकुमारी कुँवर सुवेदी (६२ मत) पनि प्रतिस्पर्धामा थिए । उपमेयरमा उम्मेदवारी दिने सबै महिला हुन् । उम्मेदवारी दिएकी गंगा कुँवरले फिर्ता लिएकी थिइन्।

    शुक्रबार बोलाइएको महानगर संगठन कमिटी बैठकमा मेयर र उपमेयरमा ३ जनाको नाम सर्वसम्मत गर्ने सम्भावना नभएपछि निर्वाचन प्रक्रिया अपनाइएको हो । महानगर कमिटीमा ४ सय ५६ जना सदस्य रहेकोमा ३ सय ९९ मत खसेको थियो।

    यसैगरी एमाले मादी गाउँपालिका कमिटीले गाउँपालिका प्रमुखमा वेदबहादुर गुरुङ श्यामलाई सर्वसम्मत सिफारिस गरेको छ । एमाले प्रदेश कमिटी सदस्य गुरुङलाई सर्वसम्मत सिफारिस गरिएको एमाले कास्की कार्यालय सचिव बैनबहादुर अधिकारी क्षेत्रीले बताए । उपप्रमुख सिफारिस भने शनिबार गरिनेछ।

    जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा एमाले अन्नपूर्ण गाउँ संगठन कमिटीका संयोजक लक्ष्मीप्रसाद अधिकारीले शनिबारसम्ममा प्रमुख र उपप्रमुखका उम्मेद्वार टुंगो लगाइने जानकारी दिए । अन्नपूर्णको प्रमुखमा ११ आकांक्षी छन् । रुपा र माछापुच्छे गाउँपालिकाबाट २/२ जनाको नाम बिहीबार मतदानबाट टुंगो लगाएर सिफारिस भइसकेको छ।
    -नेपालखबर
  • No Comment to " आकांक्षी धेरै भएपछि मतदानबाट एमालेले छान्यो उम्मेदवार "