• भलिबललाई राष्ट्रिय वाणिज्य बैंकको साथ

    Reporter: Becoming Kishor
    Published: Monday, April 3, 2017
    A- A+
    काठमाडौं । नेपाल भलिबल संघले मुख्य प्रायोजकको रूपमा राष्ट्रिय वाणिज्य बैंकको साथ पाएको छ । ‘राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगिताका लागि राष्ट्रिय बाणिज्य बैंकले २ वर्षका लागि २० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ ।

     नयाँ बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा आइतबार आयोजित कार्यक्रममा भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार राष्ट्रिय बाणिज्य बैंकले प्रत्येक वर्ष १० लाखका दरले २ वर्षका लागि लिगलाई प्रायोजन गर्नेछ । सम्झौतापश्चात ‘राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ को नामबाट सञ्चालन हँुदै आएको प्रतियोगताको नाम ‘एभिए–आबिबी राष्ट्रिय क्लब लिग’ रहनेछ । सम्झौता ०७४ साल चैत २० गतेसम्म कायम रहने बताइएको छ।


    कार्यक्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले यो सम्झौतापछि आगामी दिनमा थप प्रायोजक भित्रिने सम्भावनाको पनि ढोका खुल्ने विश्वास व्यक्त गर्दै लिगलाई व्यवस्थित रूपमा आयोजना गर्ने प्रतिवद्धता जनाए । यसैगरी वाणिज्य बैंकका अध्यक्ष डा. रवीन्द्रप्रसाद पाण्डेले खेलकुद क्षेत्रमा केही गर्ने सोचका साथ भलिबलबाट प्रायोजना सुरु गरिएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको चर्चित खेल भलिबललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आगामी ४ वैशाखसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोर्टस् क्लब, जाउलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

    यसैगरी महिलातर्फ न्यु डायमन्ड क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जाउलाखेल स्पोर्टस् क्लबले सहभागिता जनाउनेछन् । लिगलाई रोमाञ्चक बनाउन र खेल स्तरलाई बढाउन हरेक टोलीबाट ४÷४ जना विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ । कुल २१ लाख रुपैयाँ बजेट रहेको लिगको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । 
  • No Comment to " भलिबललाई राष्ट्रिय वाणिज्य बैंकको साथ "