• प्रधानमन्त्रीद्वारा दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव

    Reporter: EduDainik
    Published: Wednesday, April 19, 2017
    A- A+
    प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव राखेका छन्।
    प्रमुख राजनीतिक दलहरुवीच आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको रणनीति बनाउन बसेको ५ दलको संयुक्त बैठकमा दाहालले वैशाख ३१ गते र त्यसको २५ दिन पछि अर्को गरी स्थानीय निकायको निर्वाचन दुई चरणमा गर्दा के हुन्छ भनि प्रस्ताव राखेका हुन्।

    प्रधानमन्त्री  दाहालले बुधबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा नेपाली कांग्रेस, एमाले माओवादी राप्रपा र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सहभागी थियो।
    यसैबीच आन्दोलनरत मधेसी मोर्चा निर्वाचनमा नआए पनि आगामी वैशाख ३१ गते तोकिएको निर्वाचन भएरै छाड्ने विषयमा प्रमुख पाँच दल सहमत भएका छन्।
    बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले वैशाख ३१ गते हुने निर्वाचनमा कुनै आशंका नगर्न भन्दै परिस्थितिका लागि दुई चरणमा निर्वाचन गर्दा कस्तो हुन्छ भनि प्रस्ताव राखेका हुन्। उनले मोर्चा पनि निर्वाचनमा आउने भए मात्र दुई चरणमा चुनाव गर्दा के हुन्छ भनि प्रस्ताव राखेका हुन्।
    बैठकमा प्रधानमन्त्रीले मधेसी मोर्चालाई सहमतिमा ल्याउन उनीहरूकै सहमतिका आधारमा संशोधन प्रस्ताव ल्याए पनि अहिले त्यसको विरोधमा उत्रिएकोमा चिन्ता व्यक्त गरेका थिए।
    ‘हामीले मोर्चासँगैको सहमति अनुसार संशोधन प्रस्ताव लग्यौ। तर, उसले अहिले आफ्नो अडान बदलेर त्यसमा मान्दिन भनेर आन्दोलनको कार्यक्रम ल्याएको छ यसले एक खालको असहज वातावरण पैदा गराएको छ,’ प्रधानमन्त्री दाहालले भने।
    प्रधानमन्त्रीले एकातिर मोर्चा पनि आन्दोलनमा जाने अर्को तर्फ सत्तारूढ राप्रपाले निर्वाचन आयोगको निर्णय विरूद्ध भन्दै चुनावै बहिष्कार गरेर आन्दोलनमा जाने कुरा गरेकोले थप अन्यौल उब्जाएको बताए।
    उनले अर्कोतर्फ नयाँ शक्ति हिन्दुवादी र राजावादीहरू आन्दोलनमा जानुले मुलुकको स्थिति असहज बनाउन सक्ने भन्दै अब मोर्चालाई पनि साथै लिएर जाने कुरामा सरकार धृण भएको बताए।
    ‘उनीहरूले मानेको खण्डमा दुई चरणमा गरौं। यस बारेमा तपाईँहरूको राय के छ त्यस विषयमा सबैको सहमति ल्याएर साझा दृष्टिकोण बनाउनु आवश्यक छ,’ दाहालले भने, ‘ताकि संविधान कार्यान्वयन र निर्वाचन कार्यक्रममा कुनै आशंका नहोस्।’
    यदि मोर्चा पनि निर्वाचनमा आउँछ भने दोस्रो चरणमा भए पनि निर्वाचन गर्ने र संविधान संशोधन प्रस्ताव अघि बढाउने विषयमा छलफललाई तिब्रता दिने प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो,’ ऊर्जा मन्त्री जनार्दन शर्माले भने,‘ वैशाख ३१  मा मोर्चा र गठबन्धन सबैलाई सहभागी गराउन आवश्यक छलफल र पहलकदमी लिन निरन्तरता दिने विषयमा कुरा भएको छ।’
    यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको धारणामा आफ्नो पूर्ण सहमति रहेको भन्दै मोर्चालाई पनि लिएर जाने विषयमा आफ्नो पार्टीको पनि उस्तै धारणा रहेको भन्दै प्रमुख दलहरू एक हुनुपर्ने बताए।
    बैठकमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री प्रस्तावप्रति आफूहरू अचम्मित भएको प्रतिक्रिया दिए। ‘हामी त एकै चरणमा निर्वाचन हुन्छ भनेर तयारी अवस्थामा थियौ,’ उनले भने,‘हामीले निर्वाचनका लागि त्यसै अनुसारको तयारी पनि गरेका थियौ। हामीलाई अहिले दाँतमा ढुंगा लागेजस्तो भएको छ।’
    उनले प्रधानमन्त्रीको प्रस्तावबारे आफूहरू अहिले केही नभन्ने बताए। ‘हामी यस विषयमा तत्काल केही भन्दैनौ पहिले सत्तारूढ दलको निर्णय आओस अनि आफ्नो पार्टीले आधिकारिक निर्णय गर्नेछ’, गौतमले भने।
    एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले निर्धारित मितिमा चुनाव गर्न अहिलेको अवस्थामा सबैको सहमति भएको भन्दै उनले भने, ‘भरसक एकै दिनमा गर्ने तर मोर्चालाई अन्तिम समयसम्म पनि पहल गर्ने विषयमा प्रतिपक्षले त्यसलाई सहयोग गर्ने छ।’
    यस्तै बैठकमा सहभागी सत्तारूढ दल राप्रपाका नेता दीपक बोहोराले आफूहरू अझैसम्म एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा रहेको बताए। ‘हामी एकै चरणमा चुनाव हुनुपर्छ भनेर होमिइसकेका छौ,’ उनले भने,‘ तर सबैको सहमतिमा कसरी हुन्छ मिलाएर जानुपर्छ।’
    यस्तै बैठकमा लामो समय लिएर बोल्दै विजयकुमार गच्छदारले आफूले पहिलेदेखि नै मधेसको समस्या समाधान गरेर अगाडि बढौ भनेको स्मरण गराउँदै राजनीतिक समस्यालाई राजनीतिक रूपमै समाधान गर्नुपर्ने धारणा राखे।
    मधेसका समास्या र मुद्दाको विषयमा पहिलेदेखिनै मैले राजनीतिक दललाई समाधान गरेर जाउँ भन्दै आएको छु, भोलि त्यसैले ठूलो समस्या निष्कन सक्छ,’  गच्छदारले भने, ‘अझै पनि केही बिग्रिएको छैन। पहिला रानीतिक मुद्दा टुंग्याउ अनि सहमतिकै आधारमा निर्वाचनमा जानुपर्ने भन्दै प्रधानमन्त्रीको धारणाबारे पहिले प्रमुख दलको निर्णय आएपछि आफ्नो पार्टीको निर्णय आउने बताए।
  • No Comment to " प्रधानमन्त्रीद्वारा दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव "