• परराष्ट्र नीति पुनरावलोकन गर्न कार्यदल गठन, चार महिनामा सुझाव पेस गर्ने

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+
    काठमाडौं । सरकारले बदलिँदो विश्व परिवेश सुहाउँदो र गतिशिल परराष्ट्र नीति निमार्णको सुझाव दिन कार्यदल गठन गरेको छ । 
    नयाँ परिवेश सुहाउँदो दस्तावेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन भएको हो। 
    सो कार्यदलमा परराष्ट्र मन्त्रीसहित अर्थ, कूटनीति, श्रम, कानुन, सुरक्षालगायतका विभिन्न क्षेत्रका १६ जना विज्ञ रहेका छन् । एउटै विदेश नीति बनाउने उद्देश्यले प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर कार्यदल गठन गरिएको परराष्ट्र मन्त्रालयको दाबी छ ।
    नेपालको संविधानका निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यताहरुलाई कायम राख्दै नेपालको सर्वाेपरी राष्ट्रिय हितलाई सम्बर्धन र प्रवद्र्धन गर्न गतिशिल परराष्ट्र नीतिको दस्तावेज तयार पारी कार्यान्वयनका लागि ठोस सुझाव दिने समितिको कार्यादेश तोकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
    नेपालको परराष्ट्र नीतिका निर्धारक तत्वहरुको बदलिँदो आयामको पहिचान गर्ने, सामन्जस्यपूर्ण र विस्तृत परराष्ट्र नीति एवम् छिमेक नीतिका लागि देशले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रूपमा अपनाउनुपर्ने प्राथमिकताहरु तय गर्ने तथा द्विपक्षीय, उपक्षेत्रीय, क्षेत्रीय एवम् बहुपक्षीय कूटनीति लगायत परराष्ट्र नीतिका विभिन्न आयामहरुका क्षेत्रगत नीतिहरुको पुनर्मूल्यांकन गर्ने कार्यादेश यस कार्यदलको रहेको परराष्ट्र मन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । 
    विकास कूटनीतिलाई थप प्राथमिकता दिने, परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुको संस्थागत सबलीकरण गर्न उपयुक्त उपायहरु सिफारिस गर्ने लगायतको कार्यादेश सो कार्यदलको रहेको छ ।
    यसैगरी आर्थिक, सामरिक, रणनीतिक र नेपालको द्विपक्षीय कूटनीतिक, सांस्कृतिक र जनस्तरको समस्याका हिसाबले महत्वपूर्ण मित्र राष्ट्रहरुसँगको सम्बन्धका प्राथमिकता र कार्ययोजनासहित देशीय रणनीतिहरुको आवश्यकता पहिचान गर्नुपर्ने कार्यादेश मन्त्रिपरिषदले सो कार्यदललाई तोकेको छ ।   
    सो कार्यदलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवं पूर्व राजदूत डा. ऋषिराज अधिकारी, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्व राजदूत तथा अर्थविद् डा. शंकरप्रसाद शर्मा, अन्तर्राष्ट्रिय व्यापारविद् डा.पोषराज पाण्डे, श्रम कूटनीति विज्ञ डा.गणेश गुरुङ, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, पूर्व राजदूत शम्भुराम सिम्खडा, पूर्व सचिव तथा कानुनविद् मोहन बन्जाडे, अवकासप्राप्त रथी एवम् सुरक्षाविद् पवनबहादुर पाण्डे रहका छन् । 
    त्यसैगरी सो कार्यदलमा सुरक्षा तथा परराष्ट्रविद् प्रा.डा.श्रीधर कुमार खत्री, सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. ईन्द्रकुमारी अधिकारी, नेपाल विश्व सम्बन्ध परिषदका प्रतिनिधि डा. राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डेसमेत छन् ।
    उक्त कार्यदलको सदस्य सचिवमा परराष्ट्र सचिव शंकरदाश बैरागी छन् । कार्यदलको अवधि चार महिनाको रहेको संयोजक पाठकले जानकारी दिए ।
     
  • No Comment to " परराष्ट्र नीति पुनरावलोकन गर्न कार्यदल गठन, चार महिनामा सुझाव पेस गर्ने "