• निर्माण कार्य स्थगनप्रति सडक विभाग रुष्ट

    Reporter: EduDainik
    Published: Tuesday, April 25, 2017
    A- A+
    काठमाडौं । सरकारकै मातहतमा रहेको एक विकास समितिको दवावमा सडक विभागले आफ्नो क्षेत्राधिकार भित्रको निर्माण कार्य सञ्चालन गर्न नसकेको खुल्न आएको छ । 
    पञ्चायतकालको उदयसँगै स्थापित हालको ‘अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति’ले सडक विभागलाई २०७४–०१–०५मा पत्र लेख्दै निर्माण कार्य स्थगन गर्न दबाब दिएको हो ।
    “नेपाल अधिराज्यभरमा सडक निर्माण र मर्मतमा सडक विभागकै अधिकार रहनु पर्ने हो,” मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय काठमाडौंका क्षेत्रीय निर्देशक अयोध्याप्रसाद श्रेष्ठले भन्छन्, “सडक विभागको क्षेत्राधिकारका विषयमा सरकार नै अनभिज्ञ रहेको प्रतीत हुन्छ, सडक मर्मतका काममा यस विभागलाई नै पाखा पार्न खोजिन्छ भने हाम्रो जिम्मेवारीचाहिँ के हो ?” 
    यी दुई निकायहरु दुई छुट्टा–छुट्टै मन्त्रालय मातहतका हुन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति सहरी विकास मन्त्रालयअन्तर्गतको हो भने सडक विभाग भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत । छुट्टाछुट्टै मन्त्रालयका यी दुई निकायको क्षेत्राधिकारमा सरकार जिम्मेवार बन्न नसक्दा यी निकाय आपसमा टकराव सिर्जना भएको छ । “विकास समितिले पत्र पठाएर हाम्रो क्षेत्राधिकार मिच्ने काम गरेको सहजै बुझ्न सकिन्छ,” निर्देशक श्रेष्ठ भन्छन्, “नदीको पानी र फोहोर व्यवस्थापनमा ध्यान नदिएर विकास समितिले सडक निर्माणमा ध्यान दिनु सान्दर्भिक भएन ।”
    सडकको कार्यक्षेत्र खुम्चियो 
    सडक विभाग क्षेत्रीय मध्यमाञ्चलका निर्देशक श्रेष्ठले सडक विभागको कार्यक्षेत्र खुम्चिएको बताएका छन् । “अहिले जसलाई मन लाग्यो उसैले सडक बनाइरहेका छन्,” उनले भने । विकास समितिले सडक विभागले विष्णुमतीमा गर्दै आएको ढल बिछ्याउने र नदी तटबन्ध कार्य स्थगन गर्न दिएको दबाबलाई कटाक्ष गर्दै थपे, “अहिले विकास समितिदेखि आर्मी, पुलिस, ‘पिआइडी’, सिँचाइ विभाग, जिल्ला प्राविधिक कार्यालय, महानगर, नगरपालिका, जिविस, सहरी विकास विभाग सबैलाई सडक निर्माण र मर्मतकै चटारो छ ।” यसो हुँदा सडक विभागको जिम्मेवारी नै धिमा भएको बताउँदै श्रेष्ठले जोडे, “यसकारण मेलम्चीले काठमाडौंमा खनेका सबै सडक मर्मत गर्ने जिम्मा पनि हामीलाई छैन ।” 
    काठमाडौंमा मेलम्चीले जम्मा ३५० सडकमा  ७०० किमी भाग पाइप बिछ्याउनका लागि खनेको श्रेष्ठ बताउँछन् । जसमध्ये ५७ वटा सडकको ५० किमी भागमात्रै सडक विभागको कार्यक्षेत्रमा रहेको छ । जसमध्ये लैनचौर–पानीपोखरी, पुरानो अमेरिकी दूतावास–राष्ट्रपति भवन, बालाजु–प्रहरीचौकी, माइतीघर मण्डला–हनुमानथान, माइतीघर मण्डला–थापाथलीसम्मको स्थान रहेको छ । यस स्थानमा मध्यमाञ्चल क्षेत्रीय सडक डिभिजनले डिबिएम (प्राइमकोट सहितको अस्थायी प्रकृतिको कालोपत्रे) गरिसकेको छ ।
    हिलो र धुलोका विषयमा गम्भीर छौं : श्रेष्ठ
    साथै सडक विभाग मध्यमाञ्चल क्षेत्रीय निर्देशक श्रेष्ठले हाल काठमाडौंका सडकमा पानी परेसँगै जम्मा हुने हिलो र घाम लागेपछि उड्ने धुलोले सर्वसाधारणको स्वास्थ्यमा पु¥याउको असरप्रति सडक विभाग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय गम्भीर भएको पनि बताए ।
    “सडकको धुलो हटाउनका लागि प्रत्येक दिन हामीसँग भएको एउटै ब्रुमर सञ्चालन गरिरहेका छौं, काठमाडौंको सडकको अहिलेको दूरावस्थाप्रति ‘पिआइडी’ जिम्मेवार बन्नुपर्छ,” हिलो जम्ने र धुलो उड्ने सडकहरुको मर्मतमा सडक विभागको कुनै अल्छीपन या ढिलासुस्ती नभएको प्रष्ट पार्दै श्रेष्ठले भने, “आयोजना कार्यान्वयन निर्देशनालय ‘पिआइडी’का कारण सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ, पिआइडीले पाइप पुरिसकेर हामीलाई निर्देशन दिओस्, ३० दिनभित्र काम सम्पन्न गराउन हामी सक्षम छौं”    
    Source: Baarakhari

    Subjects:

  • No Comment to " निर्माण कार्य स्थगनप्रति सडक विभाग रुष्ट "