• मोफसलको चर्चित तिलोत्तमा गोल्डकप फाल्गुन १२ देखि

    Reporter: Becoming Kishor
    Published: Wednesday, March 1, 2017
    A- A+
    बुटवल । ०३१ सालमा स्थापित तिलोत्तमा गोल्डकपको १९ औ संस्करण बिहीबारदेखि बुटवलमा शुरु हुदैछ । तिलोत्तमा नदीको नामबाट तत्कालिन बुटवल नगरपञ्चायतले गोल्डकप स्थापना गरेको थियो ।

    मोफसलकै पूरानो गोल्डकप पञ्चायकालदेखि गणतन्त्रसम्म आउदा १९ औं संस्करणमा पुगेको छ । आर्थिक अभाव तथा व्यवस्थापकहरुबीको आन्तरिक द्वन्द्वले गोल्डकप यो अवधीको बीचमा लगातार हुन सकेन् । पछिल्लो पटक ०७१ सालमा १८ औं संस्करणको प्रतियोगिता भएको थियो ।

    ‘अव निरन्तर रुपमा सञ्चालन गर्ने गरी योजना बनाएका छौं, जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसी (कमुार)ले भने–‘मोफसलको गौरवका रुपमा चिनिने बनाइनेछ ।’

    गोल्डकपका सुरुआती खेलहरु बुटवल बहुमुखी क्याम्पस र प्रहरी तालिम केन्द्रमा भएका थिए । ०६४ सालमा एन्फा एकेडेमीको खेल मैदान निर्माण भएपछि त्यही प्रतियोगिता हुने गरेको छ ।

    तिलोत्तमा गोल्डकप खेल्न शुरु गरेका खेलाडीले ठूलै प्रगति गरे पनि गोल्डकप भने सधै अभावमा रहेको छ । गोल्डकप अहिलेसम्म आउँदा पनि चन्दाकै भरमा छ । अहिले संरक्षक रहेको बुटवल उपमहानगरपालिकाले १० लाख रुपैया सहयोग गरेको छ । नगरपालिकाबाटै आयोजना हुने गरेको प्रतियोगिता पछि रुपन्देही फुटबल संघलाई हस्तान्तरण गरिएको थियो ।

    गोल्डकपको पहिलो संस्करणको बिजेता सिद्धार्थ खेलकुद परिषद् रुपन्देहीले शिल्ड मात्रै पाएको थियो । त्यतिखेर नगद पुरस्कार थिएन् । १९ औं संस्करणको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया सहित रनिङ शिल्ड पुरस्कार पाउनेछ । आयोजकले यो वर्षबाट पुरस्कार रकम दोब्बर पारेका हुन् ।

    रुपन्देही फुटवल संघका निवर्तमान अध्यक्ष हरि श्रेष्ठले इतिहास कायम भएको प्रतियोगिता भए पनि चर्चा बटुल्न नसकेको बताए । ‘पहिला निकै नाम चलेको थियो, बीचमा हरायो । अहिले पछि स्थापना भएका अन्य गोल्डकपको चर्चा छ,–उनले भने । तिलोत्तमा गोल्डकप मोफसलकै पूरानो भएकाले यसको निरन्तरतामा सबैले ध्यान दिनुपर्ने उनले बताए ।

    गोल्डकपमा अन्तराष्ट्रिय क्लवहरु पनि प्रतिष्पर्धा गर्छन । ०३४ सालमा बम्बई फर्टिलाईजर र ०५३ सालमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बईले उपाधि समेत उचालेका थिए । यो संस्करणमा पनि भारतका दुई टिम प्रतिष्पर्धाका लागि आउदैछन् ।

    महेन्द्र पुलिस क्लबले ५ पटक उपाधि हात पारेको छ । कालिका स्पोर्टिङ क्लवले तीन पटक, त्रिभुवन आर्मी क्लव र रुपन्देही ११ ले दुई/दुई पटक उपाधि हात पारेका छन् । जनकपुर चुरोट कारखाना, फ्रेण्ड्स क्लव काठमाडौं, जावलाखेल युथ क्लव, आर.एन.एफ.सी.ले पनि उपाधि उचालेका छन् ।
    विहिबारबाट शुरु हुने १९ औं संस्करणको पहिलो खेलमा शसस्त्र प्रहरी र शेरे एफसी क्यालिङगपोङ भारत मैदानमा उत्रिनेछन् ।

    एन्फा ऐकेडेमी बुटवल–१३ देविनगरको खेल मैदानमा हुने प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्ष क्लव, रमपम झापा ११, सिक्किम युनाईटेड एफसी भारत र शेरे एफसी क्यालिङगपोङ भारतको सहभागिता रहनेछ ।

    फागुन २१ गतेसम्म सञ्चालन हुने खेलको उपविजेताले ३ लाख ३३ हजार पाउने छ भने उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । पाँच विद्यागत पुरस्कारबाट पनि खेलाडी पुरस्कृत हुनेछन् ।
  • No Comment to " मोफसलको चर्चित तिलोत्तमा गोल्डकप फाल्गुन १२ देखि "