• व्यवस्थापिका-संसद्को दोस्रो अधिवेशन सुरु

    Reporter: Becoming Kishor
    Published: Monday, May 2, 2016
    A- A+
    काठमाडौँः व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा मंगलबारदेखि सुरु भएको छ ।


    संसद्मा उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गरिन । त्यस्तै, लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई मिनेट मौनधारणा गरिएको थियो ।



    निर्धारित समय बिहान ११ बजे नै प्रारम्भ भएको बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गरिन ।


    त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।


    व्यवस्थापिका–संसद् कार्यसञ्चालनसम्बन्धी नियमावली निर्माणमा दलबीच सहमति भइनसकेका कारण बैठकमा अन्य कार्यसूची समावेश भएनन् ।


    संसद्को पहिलो अधिवेशनले नेपालको संविधान, २०७२लाई जारी गरेको थियो ।


    संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा पहिलो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन निर्वाचनका माध्यमबाट गरेको थियो । पहिलो अधिवेशन गत फागुन ५ गते अन्त्य भएको थियो ।


    संसद्को चालु अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ऐनकानुन बनाउने छ । त्यस अतिरिक्त अन्य ४० विधेयक समेत संसद्मा दर्ता रहेका छन् ।


    बजेट अधिवेशनका रुपमा परिचित बर्खे अधिवेशनमा खास गरी आगामी आव ०७३÷७४ को सरकारका नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि सैद्धान्तिक रुपमा प्रारम्भिक छलफल हुनेछ ।


    अधिवेशनका क्रममा आगामी आवको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति मार्फत संसदमा प्रस्तुत गरिने छ ।


    मुलुकको आर्थिक सर्भेक्षण र आगामी आवको आयव्यय (बजेट) को विवरण संविधानमा व्यवस्था भए अनुसार अर्थमन्त्रीले आगामी जेठ १५ गते यसै अधिवेशनमा प्रस्तुत गर्नेछन्।


    यस अधिवेशनका क्रममा यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण तथा डढेलो लगायत समसामयिक विषय र वैशाख २४ र २५ गते पूर्वबजेटमाथि छलफल हुनेछ ।


    वैशाख २६ गते सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न दलबीच सहमति भइसकेको संसद् सचिवालयले जनाएको छ ।


    संसद्को अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ । रासस

    Subjects:

  • No Comment to " व्यवस्थापिका-संसद्को दोस्रो अधिवेशन सुरु "