• 'एमाले र माओवादी नाममात्रका कम्युनिस्ट'

    Reporter: Becoming Kishor
    Published: Monday, May 2, 2016
    A- A+
    भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादीहरूलाई नाममात्रका कम्युनिस्ट भएको आरोप लगाएका छन्।


    १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित जनसभामा उनले एमाले र माओवादीले पटकपटक सरकारको नेतृत्व गरे पनि नेपाली मजदुरको अवस्था जहाँको तहीं भएको बताएका हुन्।



    नेपाल क्रान्तिकारी मजदुर संघद्वारा आयोजित उक्त जनसभामा अध्यक्ष बिजुक्छेले प्रश्न गरे, 'बितिसकेका मनमोहनलाई छोड्ने हो भने पनि एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भइसकेका छन् । अहिले केपी ओली प्रधानमन्त्री छन् । त्यस्तै माओवादीका प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री भइसके र अहिले सरकारमा छ तर मजदुरका निम्ति के गरे? '


    उल्टै उनीहरूले पुँजीपति र धनीहरूको मात्रै हित गरेको उनको आरोप थियो। 'हाम्रा कम्युनिस्ट प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास र सिंहदरबार जाँदा उनीहरू सधैं पुँजीपति, धनी र ठगहरूले चारैतिरबाट घेरिएका हुन्छन्', बिजुक्छेले भने। उनले मजदुर आन्दोलनका लागि सबैलाई एकजुट हुन आह्वान गरे।


    कार्यक्रममा नेमकिपामा सांसदहरू प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले युवालाई वैदेशिक रोजगारमा पठाएर देश विकास गर्छु भन्ने अहिलेसम्मका सरकारहरूको झूटको खेती भएको बताए।


    नेपाल क्रान्तिकारी मजदुर संघका उपाध्यक्ष नारायण महर्जन र सचिव राजकृष्ण गोराले ठूला पार्टीका मजदुर संगठन ट्रेड युनियनवादमा फस्दा नेपालको मजदुर आन्दोलनले बाटो बिराएको धारणा राखे।


    जनसभाअघि भक्तपुरको च्याम्हासिंहबाट निस्केको र्‍याली भक्तपुर नगर परिक्रमापछि दरबार क्षेत्रस्थित जनसभामा परिणत भएको हो।

    Subjects:

  • No Comment to " 'एमाले र माओवादी नाममात्रका कम्युनिस्ट' "