• विश्व क्रिकेट लिग टोली छनोट : तीन नयाँ अनुहार

    Reporter: Becoming Kishor
    Published: Friday, April 8, 2016
    A- A+
    काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत वैशाख ४ र ६ मा नामिबियाविरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीमा तीन नयाँ अनुहार परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार घोषणा गरेको टोलीमा यु–१९का कप्तान राजु रिजाल र स्पिनर सन्दिप लामिछाने पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन्। राजुको कप्तानीमा नेपालले आठौं स्थानमा रहेर यु–१९ विश्वकपअन्त्य गरेको थियो। प्रतियोगितामा सन्दिपले १४ विकेट लिएका थिए। त्यस्तै सुसन भारी पनि नयाँ अनुहार हुन्।उनले पनि यु–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।



    टोलीका नियमित अनुहार विकेटकिपर/ब्याट्सम्यान सुवास खकुरेल चोटका कारण टोलीमा परेनन् भने ओपनर अनिल मण्डललाई वैकल्पिक सूचीमा राखिएको छ। स्कटल्यान्डविरुद्ध ओपनिङ ब्याटिङ गरेका महेश क्षेत्री पनि टोलीमा नरहेको अवस्थामा नरेश बुढाएर र सागर पुन ओपनिङमा आउने सम्भावना प्रवल छ। टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ओपनिङमा आउने सम्भावना रहेको प्रशिक्षक जमत टमाटाले बताए।

    'टोलीमा विकल्प छन्। नरेशले राम्रो गरिरहेका छन्। ज्ञानेन्द्रले तीन नम्बरमा ब्याटिङ गर्दै आएका छन्, त्यो भनेको पनि उनले नयाँ बलमै खेल्ने हो,' प्रशिक्षक टमाटाले भने, 'त्यसैले अवस्था हेरेर उनलाई ओपनरमा ल्याउन पनि सकिन्छ। सागर (पुन) छन् त्यसैले ओपनिङमा हाम्रा लागि विकल्प छ।'

    नेपालले यसअघि स्कटल्यान्ड र पपुवा न्युगिनी (पिएनजी)सँगको खेल हारेको थियो। ८ टोलीले 'होम एन्ड अवे' का आधारमा खेल्ने लिग च्याम्पिनयसिपमा नेपाल सबैभन्दा पुछारमा छ। टोलीमा ६ खेलमा ४ जित पाएको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहँदा अंकतालिका त्यसपछि क्रमशः हङकङ, स्कटल्यान्ड, केन्या, पिएनजी, नामिबिया, युएई र नेपाल छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पनि बिहीबारै विज्ञप्तिमार्फत नेपाल र नामबियाबीचको वैशाख ४ र ६ मै हुने निश्चित गरेको छ।

    स्कटल्यान्डसँग पहिलो खेलमा ३ रनले पराजित नेपाल दोस्रो खेलमा ९ विकेटले पराजित भएको थियो। नेपालले पिएनजीसँगको पहिलो खेल २ विकेटले गुमायो भने दोस्रोमा ३ विकेटको हार बेहोरेको हो।

    दुवै खेल बाहिर खेलेकाले यसपल्ट नेपाललाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु समर्थकको साथ रहनेछ। घरेलु मैदान हुन लागेकाले टोलीका प्रशिक्षक टमाटा उत्साही छन्।

    'हामीले राम्रो तयारी गरिरहेकाछौं। यसपालि हामी घरेलु पिचमा खेल्दैछौं र समर्थकको पनि साथ हुनेछ। त्यसैले यो खेल जित्दै अन्य बाँकी खेलमा पनि राम्रो गर्नेछौं,'नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको आगमनले टोलीमा पारेको प्रभावबारे टमाटाले भने, 'उहाँको आगमनले खेलाडीको मनोबल बढेको छ।'

    नेपाली टोलीः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सागर पुन, शरद भेषवाकर, नरेश बुढाएर, विनोद भण्डारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, राजेश पुलामी, सन्दिप लामिछाने, राजु रिजाल, सुसन भारी।

    वैकल्पिकः विक्रम सोब, दीपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल।

    Subjects:

  • No Comment to " विश्व क्रिकेट लिग टोली छनोट : तीन नयाँ अनुहार "