• दुई नक्कली चिकित्सक परीक्षास्थलबाटै पक्राउ

    Reporter: Becoming Kishor
    Published: Sunday, March 27, 2016
    A- A+
    काठमाडौं, चैत १३ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप दुई व्यक्ति पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रौतहट, मतसरीका राजीवकुमार झा र बारा, बहुअरीका पृथ्वीनारायण यादवलाई पक्राउ गरेको हो ।

    ब्युरोका प्रहरी उपरीक्षक दिवस लोहनीका अनुसार सानोभर्‍याङस्थित नेपाली सेनाको मेडिकल कलेजमामेडिकल काउन्सिलको चिकित्सिक दर्ता प्रमाणपत्रका लागि परीक्षा दिन आएका उनीहरुलाई परीक्षास्थलबाटै पक्राउ गरिएको हो ।

    झाले सन् २००६ मा विहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट द्वितीय श्रेणीमा उत्तीर्ण गरेको प्रमाणपत्रमा भौतिकशास्त्र र रसायनिकशास्त्र विषयमा बढी नम्बर थप गरेको नक्कली प्रमाणपत्र बनाएका थिए ।

    यादवले सन् २००६ मा विहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट द्वितीय श्रेणी ल्याएकामा सम्पूर्ण विषयमा नम्बर थप गरी प्रथम श्रेणी ल्याएको नक्कली प्रमाणपत्र बनाएका थिए ।

    दुबैले सोही नक्कली प्रमाणपत्रका आधारमा चीनबाट एमबीबीएस अध्ययन गरी नेपालमा इन्टर्नसिपसमेत गरेका थिए ।

    झा मेडिकल काउन्सिलमा चिकित्सिक दर्ता प्रमाणपत्र परीक्षामा १२ पटकसम्म र यादव १३ पटक अनुत्तीर्ण भइसकेका थिए ।

    अनुत्तीर्ण भएका उनीहरु शनिबार फेरि प्रमाणपत्रका लागि परीक्षा दिन आएको मौकाछोपी पक्राउ गरिएको उपरीक्षक लोहनीले बताए ।

    अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्तरुपमा ‘अपरेसन क्वाक’ प्रारम्भ गरी विभिन्न तहका १४ जना नक्कली प्रमाणपत्र पेस गरी विभिन्न देशबाट चिकित्सक बनेका व्यक्तिहरुलाई यसअघि पक्राउ गरिसकेको छ ।

    उनीहरुलाई नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ बमोजिको आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको ब्युरोले जनाएको छ । रासस

    Subjects:

  • No Comment to " दुई नक्कली चिकित्सक परीक्षास्थलबाटै पक्राउ "