• एमालेमा संस्थापन पक्षको भेलाले हल्लीखल्ली

    Reporter: Becoming Kishor
    Published: Sunday, March 27, 2016
    A- A+
    काठमाडौं, चैत १५ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली विदेशमा रहेका बेला उनको समूहले काठमाडौंमा छुट्टै भेला गरेपछि पार्टीभित्र नयाँ बहस सिर्जना भएको छ ।

    मदन भण्डारी फाउन्डेसनको ब्यानरमा संस्थापनले ‘जनताको बहुदलीय जनवाद र समृद्धिको यात्रा’ शीर्षकमा शनिबार भेला गरेको थियो । भेलामा एमाले सचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्यूरो सदस्य भानुभक्त ढकालसहित चार सय नेता–कार्यकर्ता सहभागी थिए । भेलामा पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    भेलाका सहभागीले महाधिवेशन सकिएको २० महिनासम्म नयाँ संविधानअनुसार प्रादेशिक ढाँचामा संगठन निर्माण, केन्द्रीय विभागलाई पूर्णता र ज्येष्ठ कम्यूनिस्ट मञ्च गठन गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

    केन्द्रीय कमिटीमा बहुमत हुँदा हुँदै पनि पार्टी चलाउन नेतृत्व असफल भएको उनीहरुको निष्कर्ष थियो ।

    भेलामा झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओली, बामदेव गौतम, ईश्वर पोखरेल एउटै पुस्ताका नेता भएकाले अब नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने आवाज उठेको थियो ।

    एमाले सचिव योगेश भट्टराईले सो भेलाप्रति असन्तुष्टि जनाउँदै भने, ‘पार्टीमा समानान्तर गतिविधि गर्नकै लागि उहाँहरुले फाउन्डेशन बनाउनु भएको हो, त्यो काम पहिले पनि गर्नुहुन्थ्यो, नवौं महाधिवेशनबाट नेतृत्वमा पुगेपछि पनि गरिरहनु भएको छ, गुटमात्र चलाउने अनुभव भएकाले पार्टी चलाउन सक्नुहुन्न भन्ने नवौं महाधिवेशन अघि नै हाम्रो निष्कर्ष थियो ।’

    Subjects:

  • No Comment to " एमालेमा संस्थापन पक्षको भेलाले हल्लीखल्ली "